वागमतीमा एमाले-माओवादी र राप्रपाको सरकार बनाउने कसरत, यस्तो छ हिसाब – Nepal Press

वागमतीमा एमाले-माओवादी र राप्रपाको सरकार बनाउने कसरत, यस्तो छ हिसाब

हेटौँडा । आइतबार केन्द्रीय सत्ता समीकरणमा आएको फेरबदलले वागमती प्रदेशमा अब तीन दलको सरकार निर्माण हुने पक्कापक्की भएको छ । सरकारको लागि आवश्यक ५६ सिट तीन दलको पुग्ने भएपछि सरकार निर्माणको लागि वागमतीमा सहज अवस्थाको निर्माण भएको छ ।

वागमती प्रदेशसभाको कुल १ सय १० सिट छ । सरकार बनाउन ५६ सिट भए पुग्छ । नयाँ आइतबार निर्माण भएको गठबन्धनमा एमाले, माओवादी केन्द्र र राप्रपा गरी ६१ सिट रहेको छ । प्रदेशसभामा एमालेसँग २७ सिट, माओवादी केन्द्रसँग २१ र राप्रपासँग १३ सिट छ

वागमतीमा यसअघि नेपाली कांग्रेसको नेतृत्वमा सरकार निर्माणको तयारी भएको थियो । कांग्रेसभित्र दलको नेता छान्न सहमति नजुटेपछि पुस १३ गते दलको नेता छान्ने निर्वाचन हुँदै थियो तर एकाएक आइतबार नेपाली राजनीतिमा ‘सरप्राईज डिसिजन’ भएपछि अब माओवादी र एमालेबिच मुख्यमन्त्रीको लडाई देखिने भएको हो ।

वागमती प्रदेशमा सरकारमा सहभागी हुने नहुनेबारे राप्रपाले हालसम्म निर्णय गरेको छैन । तर समर्थन भने नयाँ गठबन्धनलाई दिने निधो भैसकेको राप्रपा वागमती प्रदेशले जनाएको छ ।

यी हुन मुख्यमन्त्रीका दाबेदार

वागमती प्रदेशको मुख्यमन्त्रीको लागि अब नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच रस्साकस्सी हुने देखिएको छ । यो पटक एमालेलाई माओवादीलाई भन्दा सहज अवस्था देखिएको छ ।

एमालेबाट केन्द्रीय सदस्य जगन्नाथ (जेएन) थपलिया मुख्यमन्त्रीका एक मात्र उम्मेदवार हुन् । एमालेले थपलियालाई नै दलको नेता चुन्ने जनाइएको छ । तर माओवादी केन्द्रमा भने दलको नेता बन्ने विषय पेचिलो बनेको छ ।

सरकाको नेतृत्व गर्न दलको नेता चयन हुनुपर्ने अवस्थाबिच माओवादीबाट पोलिटब्युरो सदस्य शालिकराम जमकट्टेल, युवराज दुलाल तथा वागमती प्रदेश अध्यक्ष सरल सहयात्रीबिच त्रिपक्षीय भिडन्त हुने भएको छ ।

नेपाल प्रेससँग कुरा गर्दै सहयात्रीले यो पटक पार्टीले आफूलाई जिम्मा दिने विश्वास व्यक्त गरे । तर जम्कट्टेल र दुलाल पनि पार्टी अध्यक्ष पुष्पकमल दाहाल निकटका नेता भएको कारण तिन मध्य कसलाई छान्ने भन्ने विषय अब प्रचण्डको निर्णयमा भर पर्ने माओवादी श्रोतको दाबी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर