धनकुटाका राजेन्द्रको मन्त्रालय इन्ट्री- दोहोरो क्लिनस्वीप कीर्तिमानको एकमुष्ठ भिक्ट्री – Nepal Press

धनकुटाका राजेन्द्रको मन्त्रालय इन्ट्री- दोहोरो क्लिनस्वीप कीर्तिमानको एकमुष्ठ भिक्ट्री

काठमाडाैं । २०७४ को स्थानीय निर्वाचनमा क्लीनस्वीप गरेपछि असार २४ को चुनावीसभामा धनकुटा पुगेर एमाले अध्यक्ष केपी शर्मा ओलीले राजेन्द्र राईलाई एमालेको ‘म्यान अफ इलेक्सन’ घोषणा गर्दै माला लगाइदिएर बधाई दिए । उनको नेतृत्वमा जिल्लाका तीन नगरपालिका र चार गाउँपालिका एमालेले जितेको थियो ।

त्यतिमात्र होइन, ओलीले भनेका थिए- अन्य जिल्लाका एमालेविरोधीहरू होसियार ! धनकुटाबाट राजेन्द्र राई पठाएर ठीक लाउनु नपरोस् । उसबेला नै ओलीसहित शीर्ष नेताबाट आश्वासन पाएका राई मन्त्री बन्न सकेनन् । तर, यो पटक पनि संघ र प्रदेशका तीनवटै सीटमा क्लीनस्वीप गरेर बायोडाटा थपेका उनको सिंहदरबार यात्रा सुरू भएको छ । प्रचण्ड नेतृत्वको मन्त्रिमण्डलमा शपथ खाइसकेका उनको मन्त्रालय टुंगिसकेको छैन ।

अघिल्लो पटक अन्यायमा परेका राईले यो पटक पहिलो चरणमै मन्त्री बनेर ‘न्याय’ पाएका छन् ।

संघतर्फ सत्ता गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका हेभिवेट सुनिलकुमार थापालाई राजेन्द्रले यसपटक हराए । राईले ३० हजार १०० मत पाउँदा थापा भने २८ हजार ७०४ मतमा रोकिएका थिए । थापा राप्रपाको ठूलो समूहसहित उपमहामन्त्री पद लिएर कांग्रेस छिरेका थिए । राईले कांग्रेसको एउटा ‘विकेट’ मात्र ढालेनन् । प्रदेश १ मा निरनकुमार राई र २ मा इन्द्रमणि पराजुलीलाई जिताएर हिरो बनेका थिए ।

२०७० देखि लगातार तीन चुनावमा राजेन्द्रले सूर्यबहादुर थापाका छोरा सुनिलसँग लडे । यसअघि राप्रपाबाट लडेका सुनिलले २०७० मा राईलाई ४५७ मतान्तरले हराएका थिए । अघिल्लो र योपटक गरी दुई चुनाव तिनै थापालाई राईले हराए ।

राजेन्द्रको नालीबेली

धनकुटा अनि पञ्चायत सम्झिनासाथ सबैको मुखमा नाम आउँथ्यो ‘सूर्यबहादुर थापा’ । उनै थापाको मूलघर रहेको मुगामा राजेन्द्र राईको जन्म भयो । सूर्यबहादुरको सँघारमै हुर्किएका राजेन्द्र क्रान्तिकारी बन्नु साँच्चिकै चुनौती थियो । तत्कालीन प्रधानमन्त्री थापाकै निर्देशनमा खोकु, छिन्ताङमा १६ सर्वसाधारणको हत्या गरिएको थियो । त्यस्तो सकसबीच राजेन्द्र राई कम्युनिष्ट आन्दोलनमा होमिए ।

२०४२ सालमा एसएलसी दिएलगत्तै उनी पार्टीको होलटाइमर भए । शिक्षकको आन्दोलनमा विद्यार्थीको नेतृत्व गरेका राजेन्द्र एक्लैलाई तत्कालीन सरकारले ४१ दिन हिरासतमा राख्यो । पछि राजकाज मुद्दामा विराटनगर जेलमा २४ महिना थुन्यो । सानै उमेरमा आन्दोलनको अगुवाइ गरेका उनी शासकको निरन्तर तारो बनिरहे ।

दुई वर्षको जेल बसाइपछि धनकुटा फर्किएका उनी अनेरास्वावियुको जिल्ला उपाध्यक्ष भए । उच्च शिक्षाका लागि विराटनगरस्थित जनता ल क्याम्पसमा भर्ना भएका उनी अखिलको नगर कमिटी सचिव भए । २०४६ को आन्दोलनताका घर जाँदै गर्दा उनी पाख्रिबासमा माघ १६ गते पक्राउ परे । धनकुटा जेलबाट उनलाई प्रजातन्त्र पुन:स्थापनाको भोलिपल्ट चैत २७ मा छाडियो ।

त्यसपछि अखिलका अध्यक्ष बनेका राजेन्द्र पार्टीको जिल्ला कमिटीमा आए । सँगै उनी संगठन विस्तारमा गाउँ छिरे । अखिलमा उनले संगठित गरेका विद्यार्थी नेता अहिले पार्टीको उच्च तहमा पुगेका छन् । राजेन्द्र २०४९ मा जिविस सदस्य र २०५१ मा उपसभापति निर्वाचित भए ।

त्यसपछि पार्टी सचिवालय सदस्य, किसान महासंघको केन्द्रीय सदस्य हुँदै राष्ट्रिय कफी तथा चिया विकास बोर्डको उपाध्यक्ष बने उनी । २०६६ असारमा भएको जिल्ला अधिवेशनबाट उनले धनकुटाको नेतृत्व सम्हाले । २०७८ सम्म निरन्तर नेतृत्व गरेका उनी अहिले एमाले केन्द्रीय कमिटी सदस्य र धनकुटा इन्चार्ज छन् ।

मैदानमा भिडिरहने नेता

राजेन्द्र मैदानमा डटिरहने नेताको रूपमा परिचित छन् । अशोक राईको नेतृत्वमा जनजाति नेताहरूलाई लिएर एमाले फुट्दा उनीहरू एमालेमै रहे । जनता र जिल्लाको विकासे काममा उनी कहिल्यै नथाक्ने जिल्लाका नेता बताउँछन् ।

सदनमा उभिएर बोल्ने र वर्षेनी पाउने सांसद विकास कोषको रकममा मात्र नभई राजेन्द्र हरेक मन्त्रालयको ढोका ढक्ढक्याउन पुग्थे । त्यसैले उनलाई कतिले ‘सुलसुले’ सांसदको नाम दिन्थे । धनकुटाको विकासका लागि बजेट छुट्याउन उनी मन्त्रालयका हरेक कर्मचारीदेखि मन्त्रीका कोठाकोठा चहार्थे ।

पछिल्ला ५ वर्षमा उनको अगुवाइमा २२ अर्ब ९० करोडभन्दा बढी बजेट धनकुटा पुग्यो । राजेन्द्र श्वेतपत्र नै जारी गरेर चुनावमा होमिए । कामले जवाफ फर्काएका राजेन्द्रको यो श्वेतपत्रले विपक्षीलाई केही धक्का दियो ।

मन्त्री राईले धनकुटाको समृद्धिका लागि नेतृत्व आफूले गर्ने भन्दै जिल्ला बदल्ने अभियानमा लाग्ने बताएका छन् ।

धनकुटा भन्नासाथ छिन्ताङ र छिन्ताङ भन्नासाथ किशोर थुलुङको एउटा गीत सम्झना आउँछ-

खोकु छिन्ताङ दुख्यो कि अरुण सुसाउँदा
मन सबको रुन्छ कि दुःख बिसाउँदा ।।

धनकुटाले आफ्नो घाउ सम्झिराख्नुपर्छ
नशाभित्र तातो रगत बगाइराख्नुपर्छ

‘खोकु छिन्ताङ’ गीतजस्तै विकासमात्र होइन धनकुटाको चहराइरहेको घाउमा मल्हम लगाउने जिम्मा राईको काँधमा आएको छ । साँच्चै छिन्ताङबासीको दु:ख बिसाउने चौतारी बन्न सकुन् राजेन्द्र ।


प्रतिक्रिया

One thought on “धनकुटाका राजेन्द्रको मन्त्रालय इन्ट्री- दोहोरो क्लिनस्वीप कीर्तिमानको एकमुष्ठ भिक्ट्री

  1. दोहोरो क्लिनस्वीप गरी कीर्तिमान कायम गरेका पर्वत र अर्घाखाचीका निर्वाचित सांसदलाई पनि न्याय हुनुपर्छ कि ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर