राप्रपा तत्काल सरकारमा नजाने, बाहिरै बसेर समर्थन जनाउने समझदारी – Nepal Press

राप्रपा तत्काल सरकारमा नजाने, बाहिरै बसेर समर्थन जनाउने समझदारी

काठमाडौं । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नयाँ सरकारमा राष्ट्रिय प्रजातन्त्र पार्टी तत्काल सहभागी नहुने भएको छ । हिजो बसेको पदाधिकारी बैठकले सरकारलाई बाहिरै बसेर समर्थन गर्ने अनौपचारिक सहमति गरेको हो ।

चुनावमा सन्तोषजनक नतिजा ल्याए पनि राप्रपा नेताहरुले सरकारमा जाने विषयमा अनिच्छा देखाउँदै आएका थिए । हिजो बालकोटमा एमाले अध्यक्ष केपी शर्मा ओली र राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनबीच भेटघाट भएको थियो । उक्त भेटमा ओलीले लिङदेनलाई नयाँ गठबन्धन निर्माण गर्न सहयोग मागेका थिए । लिङदेनले राजनीतिक स्थिरताका निम्ति बहुमत पुर्‍याउन आफूहरुले सहयोग गर्ने बचन दिएका थिए ।

स्रोतका अनुसार ओलीले सरकारमा सहभागी हुन पनि लिङदेनलाई आग्रह गरेका थिए । लिङदेनले यसमा भने ठोस जवाफ दिएनन् । पार्टीमा छलफल गर्नुपर्ने भन्दै उनी बालकोटबाट बाहिरिएका थिए । त्यसपश्चात उनले पार्टी पदाधिकारीको बैठक राखेर छलफल गरे । छलफलमा धेरै नेताहरु प्रचण्डको नेतृत्वमा सरकारमा जान नहुने पक्षमा उभिएको स्रोतले बतायो ।

‘कसैले पनि खुलेर सरकारमा जानुपर्ने कुराको वकालत गर्नुभएन’, स्रोतले भन्यो, ‘अहिलेलाई हामी बाहिरै बसेर समर्थन गर्नेछौं । सरकारमा जाने च्याप्टर लगभग बन्द भयो ।’

नवनियुक्त प्रधानमन्त्री प्रचण्डले अहिले बोलाएको गठबन्धनको बैठकमा पनि राप्रपाको सहभागिता नरहने बुझिएको छ । स्रोतका अनुसार अहिलेको बैठक पावर शेयरिङमा केन्द्रित हुने भएकाले त्यसमा आफूहरुको प्रतिनिधित्व आवश्यक नरहेको अध्यक्ष लिङदेनले बताएका छन् । आजै हुने प्रधानमन्त्री प्रचण्डको सपथमा भने राप्रपाको सहभागिता रहनेछ ।

स्रोतका अनुसार ओलीको पहलमा निर्माण भएको गठबन्धनलाई बहुमत पुर्‍याइदिनमात्रै राप्रपाले सरकारलाई समर्थन गर्ने निर्णय गरेको हो । ओली र लिङदेनबीच छलफल हुँदा यति सजिलै बहुमत हासिल हुन्छ भन्ने थिएन । यदि पहिल्यै बहुमत पुगेको अवस्थामा ओलीले लिङदेनलाई एप्रोच गरेको भए उनले असहमति जनाउन पनि सक्थे ।

राप्रपामा प्रचण्ड प्रधानमन्त्री बनेमा त्यसलाई समर्थन गर्नु हुँदैन भन्ने मत प्रबल थियो । तर, ओलीसँगको सम्बन्धका कारणले समर्थन गर्नुपरेको एक नेता बताउँछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर