नेकपा विभाजनपछि पहिलो पटक प्रचण्ड बालकोटमा – Nepal Press

नेकपा विभाजनपछि पहिलो पटक प्रचण्ड बालकोटमा

काठमाडौं । नेकपा विभाजनपछि पहिलो पटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पहिलो पटक नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुगेका छन्।

सत्ता गठबन्धनमा कुरा नमिलेपछि बालुवाटार बाहिरिएका प्रचण्ड ओली निवास बालकोट पुगेका हुन् ।

कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री दुवै नछाड्ने अडान कसेपछि प्रचण्ड ओली भेट्न पुगेका हुन् । ओलीले ०७७ पुस ४ गते संसद् विघटन गरेपछि ओली र प्रचण्डबीच सम्बन्धमा दरार आएको थियो।

तर, अहिले कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री दुवै नछाड्ने भएपछि प्रचण्डले गठबन्धन तोडेर एमालेसँग पुनः सहकार्यको हात बढाएका हुन्।

०७४ सालको निर्वाचनमा एमाले र माओवादी मिलेर चुनाव लडेपछि दुई तिहाइ नजिकको बहुमत प्राप्त गरेका थिए। तर, ओली र प्रचण्डको झगडाले टिक्न सकेन।

दुई नेताबीच सम्बन्ध बिग्रिएपछि पहिलो पटक औपचारिक रूपमा दुई नेताबीच भेटवार्ता भएको हो । कांग्रेसले अन्तिम समयसम्म अडान नछाडेपछि ओलीसँग मिलाउनका लागि माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव देव गुरुङलगायतका नेताले भूमिका खेलेको हुन् ।

बालकाेटमा माओवादीका देव गुरुङलगायत छन् भने एमालेका विष्णु पौडेल, सुवास नेम्बाङ छलफलमा जुटेका छन् ।

त्यसो त यसअघि अमेरिकी सहयोग परियोजना एमसीसी विवादपछि संसद् भवनमै ओली र प्रचण्डबीच भेटवार्ता भएको थियो। देउवाले एमसीसी पास गर्ने अडान कसेपछि ओलीलाई गठबन्धन तोडेर प्रधानमन्त्री बनाएर एमसीसी रोक्न प्रस्ताव गरेका थिए। तर, ओलीले अस्वीकार गरे।

ओली प्रधानमन्त्री हुँदा पनि बालुवाटारबाटै संवाद चलाउने भएकाले प्रचण्ड कमै बालकोट पुगेका थिए। ओली प्रधानमन्त्री हुँदा बालुवाटारमै संवाद हुन्थ्यो।

०७७ पुस ४ गते ओली खुमलटार संसद् विघटन हुनुअघि गएका थिए। चुनावपछि शीतल निवास र संसद् भवनमा भएको सार्वजनिक भेटकै क्रममा प्रचण्डलाई सहकार्यको प्रस्ताव गरेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर