पोखराका कप्तान भेषावकर भन्छन्: स्वदेशी खेलाडीले राम्रो नखेले जित्न सम्भव छैन (भिडिओ) – Nepal Press
नेपाल टी-२०

पोखराका कप्तान भेषावकर भन्छन्: स्वदेशी खेलाडीले राम्रो नखेले जित्न सम्भव छैन (भिडिओ)

काठमाडौं । केही समयअघिसम्म नेपाली राष्ट्रिय टीमका महत्वपूर्ण सदस्य थिए शरद भेषावकर । तर, आफ्नो ब्याटिङ फर्म गुमाएपछि करिब एक वर्षदेखि उनी टीमबाट बाहिर छन् ।

घरेलु क्रिकेटमा शरदको बेग्लै पहिचान छ । नेपालमा भएका अधिकांश घरेलु लिगमा उनले नेतृत्व गरेको टीमले उत्कृष्ट प्रदर्शन गर्दै आएको छ । तर, उपाधि जित्ने हकमा भने उनी अभागी देखिन्छन् । धेरै प्रतियोगिताको फाइनलमा पुगेर शरदको टीम उपाधिबाट बञ्चित भएका छन् ।

अहिले काठमाडौंमा जारी नेपाल टी-२० लिगमा पोखरा एभेन्जरका कप्तान हुन् शरद । उनको टीमले पहिलो म्याचमा काठमाडौं नाइट्ससँग हार व्यहो¥यो । शरदको पनि ब्याट चलेन । यद्यपि उनीसँग कमब्याकका लागि प्रशस्त समय छ ।

शरद जारी नेपाल टी-२० देखि राष्ट्रिय टीमको वर्तमान संकटसम्मका विषयमा नेपाल प्रेससँग आफ्ना कुराहरु शेयर गरे । उनको भनाइ जस्ताको तस्तैः

नेपाल टी-२० लिग सुरु भएको छ । हामी सबै उत्साहित छौं । वादविवाद सबैतिर हुन्छ नै । त्यो हुनु भनेको क्रिकेटको राम्रोकै लागि हो जस्तो लाग्छ । सबैजनालाई धेरै चासो भएकाले नै धेरै वादविवाद हुन्छ जस्तो लाग्छ । टीमको रुपमा हामी एकदमै उत्साहित छौं ।

हामी खेलाडी भएपछि हरेक खेल जित्नलाई नै प्रयास गर्ने हो । आफ्नो शतप्रतिशत दिन कोसिस गर्छौं, प्रतियोगिता जित्न कोसिस गर्छौं । आशा गरौं, यसपालि हाम्रो राम्रो नतिजा आउँछ ।

यो क्यानको आफ्नै प्रतियोगिताजस्तै हो । पहिलोपटक उहाँहरुले यो लेभलको प्रतियोगिता आयोजना गर्नुभएको छ । विदेशबाट पनि राम्रा खेलाडीहरु आउनुभएको छ । मैदानमा कडा प्रतिस्पर्धा हुन्छ । सबै दर्शकहरुले पनि प्रतियोगितालाई धेरै माया गरेर मैदानमा उपस्थित भएर खेलको मनोरञ्जन लिनुहुन्छ होला ।

प्रतियोगितामा सहभागी अरु टीम कस्ता छन् भनेर तुलना गर्नुभन्दा पनि आफ्नो टीमलाई कसरी सन्तुलित बनाउने भन्ने योजनामा छौं । कसरी मैदानमा राम्रो खेल खेल्ने भन्नेमै हाम्रो फोकस हुन्छ । हामीले बेस्ट क्रिकेट खेल्यौं भने नतिजा पनि राम्रो आउँछ ।

मैले यसअघि धेरै फ्रेन्चाइज लिगहरु खेलें, फरक-फरक टीमबाट । पोखरा चाहिं नेपालको सबैभन्दा सुन्दर ठाउँ, पर्यटकीय नगरी हो । पोखराको प्रतिनिधित्व गरेर खेल्न पाउँदा गर्व लाग्छ ।

मेरो सोचाइमा चाहिं जहिले पनि प्रतियोगिता जित्नु छ भने विदेशी खेलाडीभन्दा पनि घरेलु खेलाडीहरुले राम्रो प्रदर्शन गर्नुपर्छ । जुन टीममा घरेलु खेलाडीले राम्रो खेलेको हुन्छ, उनीहरुको नतिजा पनि राम्रो आउँछ । फ्रेन्चाइज लिगमा विदेशी खेलाडीको पक्कै पनि महत्वपूर्ण भूमिका हुन्छ । तर, लोकल खेलाडीले राम्रो प्रदर्शन नगरे जीत सम्भव छैन ।

यद्यपि, विदेशी खेलाडी टीममा हुनुले धेरै फाइदा हुन्छ । उनीहरुको जुन अन्तर्राष्ट्रिय स्तरको अनुभवबाट हामीले धेरै सिक्न पाउँछांै । त्यो हामी सबै नेपाली खेलाडीको अनुभव मिसाए पनि कम हुन्छ । उनीहरुले त्यत्ति धेरै खेल खेलिसकेका हुन्छन् । उनीहरु थोरै समय टीममा भए पनि धेरै कुरा सिक्न पाइन्छ । पक्कै पनि यस्तो लिगहरुले खेलाडीको विकासमा महत्वपूर्ण भूमिका खेल्छ ।

आर्थिक हिसाबले हेर्दा १० वर्ष अगाडि हामी क्रिकेटर जुन अवस्थामा थियौं, अहिले क्रमशः सुधार भइरहेको छ । म नकारात्मकभन्दा सकारात्मक के भइरहेको छ त्यो हेर्न रुचाउँछु । वर्षमा एउटा राष्ट्रिय लिगमा हुने खेलाडीलाई पहिलाको तुलनामा दैनिक गुजाराका लागि गाह्रो छैन जस्तो मलाई लाग्छ ।

खेलाडीका लागि जति धेरै खेल खेल्यो त्यति राम्रो हो । उनीहरुलाई खेलको अनुभव हुन्छ । आशा गरौं, आगामी दिनमा यस्ता लिगहरु क्रमबद्ध रुपमा भइरह्यो भने खेलाडीहरुलाई तयारी गर्न र आफ्नो प्रदर्शन कस्तो भइरहेको छ थाहा पाउन सजिलो हुुन्छ ।

राष्ट्रिय टीमबारे

नेपालका लागि खेल्नु, राष्ट्रिय टीमको झण्डाका लागि खेल्नु भनेको गर्वको कुरा हो । तर म राष्ट्रिय टीममा हुनैपर्छ भन्ने त्यस्तो दबाब केही छैन । टीमलाई चाहिएको खण्डमा, मैले राम्रो खेलें भने सधैं उपलब्ध हुनेछु । टीममा मैले केही सहयोग गर्न सक्छु भन्ने भयो भने म सधैं तयार छु ।

अहिले टीममा प्रतिस्पर्धा धेरै छ होला । छनोट समिति र क्रिकेट संघको काम हो खेलाडी छनोट गर्ने । त्यसैले हेर्दै जाउँ भविष्यमा के हुन्छ । म जहाँ खेले पनि क्रिकेट खेल्न पाए आनन्द लिन्छु । चाहे त्यो राष्ट्रिय टीमबाट होस् या क्लबबाट ।

मान्छेको जीवन भनेकै उतारचढाव हो । क्रिकेटमा पनि सधैं राम्रै भइराख्छ भन्ने छैन । उतारचढाव भन्ने कुरा आउँछ नै । यसलाई कसैले नकार्न सक्दैन । तर, राम्रो भइरहेको छैन भने राम्रो कसरी गर्ने, माथि कसरी जाने भन्नेबारे चाहिं सोच्नुपर्छ ।

हामीले गर्नसक्ने भनेको प्रयास हो । र, मैदानमा आफ्नो शतप्रतिशत दिने हो । म यसमा विश्वस्त छु कि नेपालका लागि खेल्ने जो खेलाडी हुनुहुन्छ, मैदानमा आफ्नो शतप्रतिशत दिएर खेल्नुहुन्छ । त्योबाहेक अरु कुरा भनेको विस्तारै सुधार हुँदै जान्छ र माथि जाने समय पनि चाँडै आउँछ ।

अहिले राष्ट्रिय टीममा ठ्याक्कै यो-यो कुराको कमी छ भन्न गाह्रो छ । हामी १५/२० वर्षमा यही संरचनामा खेलिरहेका छौं । यही संरचनामा खेल्दा राम्रो समय पनि आयो, नराम्रो समय पनि आयो । अहिले नराम्रो समय चलिरहेको छ । सबैले आफ्नो शतप्रतिशत दिनुभयो भने राम्रो समय पनि चाँडै फर्किन्छ ।

खेल हो, एउटाको हार र अर्कोको जीत हुन्छ नै । हामीले जीतलाई जसरी स्वीकार्छौं हारलाई पनि स्वीकार्न जान्नुपर्छ । मलाई पनि बाहिरबाट हेर्दा दुःख लाग्छ । तर, हामीले विश्वास गर्नुपर्छ । हाम्रो टीमलाई साथ दिनुपर्छ । सबैले जित्न सक्दैनन् । विश्वकपमा अरु ३२ टीम थिए । तर, अर्जेन्टिनाले मात्रै जित्यो नि, त्यस्तै हो । खेलको नियम नै यस्तो हुन्छ । हामीले स्वीकारेर टीमलाई साथ दिनुपर्छ ।

अनि सम्पूर्ण समर्थकहरुलाई पनि के आग्रह गर्छु भने युवा टीम छ हाम्रो । थोरै धैर्य भएर साथ दियौं भने भविष्यमा नेपाली क्रिकेट पक्कै राम्रो हुन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *