प्रचण्डलाई मनाउने पौडेल र खड्काको प्रयास असफल, बालुवाटारमा फुक्ला त प्रधानमन्त्रीको गाँठो ? – Nepal Press

प्रचण्डलाई मनाउने पौडेल र खड्काको प्रयास असफल, बालुवाटारमा फुक्ला त प्रधानमन्त्रीको गाँठो ?

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई मनाउन कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल र उपसभापति पूर्णबहादुर खड्का सक्रिय भएर लागेका छन्।

गठबन्धन सरकार पहिलो चरणमा प्रधानमन्त्री नछाड्ने प्रचण्डको अडानपछि देउवाले नेताहरूलाई खटाएका हुन्।

तर, प्रचण्डले चुनावी सरकारको नेतृत्व देउवाले गरेको भएकाले अहिलेको आफूले पाउनुपर्ने अडान राखेको छ। भोलि ५ बजेसम्म सरकार गठनका लागि राष्ट्रपतिले समय दिएकाले अहिले गठबन्धनको बैठक बसिरहेको छ।

त्यहाँ प्रधानमन्त्रीसहित राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख, मुख्यमन्त्रीलगायतका पदहरूमा प्याकेजमा सहमतिको प्रयास जारी छ।

तर, नेता पौडेल र खड्काको प्रचण्डलाई मनाउने प्रयास भने असफल भएको छ। आफू प्रधानमन्त्री र रामचन्द्र पौडेल राष्ट्रपति बन्दा उचित हुने प्रचण्डकोे भनाइ छ।

नेता पौडेल र खड्काले नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई पनि भेटेर गठबन्धन जोगाउन आग्रह गरेका छन्।

प्रचण्ड र माधव नेपाललाई भेटेपछि गठबन्धनकै सरकार बन्ने उपसभापति खड्काले विश्वास व्यक्त गरे। उनले भने, मैले बिहान प्रचण्ड र माधवजी दुवैलाई भेटेको हुँ। हामी सहमतिको प्रयास गर्दै छौँ। मिलाएर अघि बढ्छौँ।

तर, प्रचण्डले कांग्रेसले प्रधानमन्त्री नदिए एमालेसँग मिल्ने सन्देश प्रष्ट पारिसकेका छन्। एमाले संघदेखि प्रदेशसम्म सरकारबाट बाहिर बस्नुपर्ने देखेर प्रचण्डलाई प्रधानमन्त्री छाडेर राष्ट्रपति, सभामुखलगायतको पद लिन खोजेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर