टी-२० लिगः पोखरालाई हराउँदै काठमाडौंको विजयी सुरुआत – Nepal Press

टी-२० लिगः पोखरालाई हराउँदै काठमाडौंको विजयी सुरुआत

काठमाडौं । पोखरा एभेन्जर्सलाई २६ रनले पराजित गर्दै काठमाडौं नाइट्ले आजदेखि सुरु भएको नेपाल टी–२० लिगमा विजयी सुरुआत गरेको छ ।

त्रिवि क्रिकेट मैदानमा काठमाडौंले दिएको १ सय ६३ रनको लक्ष्य पछ्याएको पोखराले निर्धारित १९ ओभरमा ७ विकेट गुमाएर १ सय ३६रन मात्रै बनायो ।

पोखराका ओपनर उपुल थरंगाले सर्वाधिक ४४ रन बनाए । उनले ३४ बलमा ६ चौका प्रहार गरे । आरिफ शेख २० रन, अमिर हम्जा र अभिमन्यू मिथुन समान १८ रन बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

काठमाडौंको बलिङमा अविनास बोहराले सर्वाधिक ३ विकेट लिए । बसिर अहमदले दुई तथा अनिल खरेलले १ विकेट लिए । यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको काठमाडौंले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ६२ रनको योगफल तयार गरेको थियो ।

काठमाडौंको ब्याटिङमा ओमारजाईले सर्वाधिक ८५ रनको योगदान गरे । उनले ४२ रनमा ७ छक्का र तीन चौका प्रहार गरे । ८.४ ओभरमा ५ विकेट गुमाएर ४८ रन मात्रै बनाएको काठमाडौंका लागि ओमारजाईले सुनम गौतमसँग १ सय १४ रनको साझेदारी गरे । सुनम २८ बलमा २ चौकासहित २७ रनमा अविजित रहे ।

ओपनर सान्तोष कार्की ३ रनमा आउट हुँदा विरन्दिप सिंहले १० रन जोडे । कप्तान ज्ञानेन्द्र मल्ल शून्यमा पभेलियन फर्किएका थिए । एलेक्स ब्लृेक २१ रन र लोकेश बम ४ रनमा आउट भए । पोखराको बलिङमा प्रतिस जिसी र जाहिर खानले समान २ विकेट लिए भने, मौसम ढकालले एक विकेट लिए । आजै हुने दोस्रो खेलमा लुम्बिनी अल स्टार्स र फार वेस्ट युनाइटेड भिड्दैछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर