१९ वर्षपछि गोलघरबाट निस्किए चार्ल्स शोभराज – Nepal Press

१९ वर्षपछि गोलघरबाट निस्किए चार्ल्स शोभराज

काठमाडौं । अत्यधिक सुरक्षा चुनौती दिन सक्ने कैदीबन्दीलाई राखिने ठाउँ हो केन्द्रीय कारागारको गोलघर । यही गोलघरमा १९ वर्षभन्दा बढी समय बिताएर निस्किएका छन् चार्ल्स शोभराज ।

७८ वर्षीय शोभराजलाई सन् २००३ देखि गोलघरमा राखिँदै आएको थियो । केन्द्रीय कारागारका जेलर ईश्वरी पाण्डेका अनुसार फोन गर्न र भेटघाट गर्न मात्र उनी गोलघरबाट निस्कन पाउँथे ।

‘गोलघरभित्र भात पकाउने र घाम ताप्ने दुवै सुविधा छ । त्यहाँबाट निस्कने भनेको फोन गर्न र भेटघाट गर्नमात्र हो’, पाण्डेले भने ।

३२ सयभन्दा बढी कैदीबन्दी रहेको केन्द्रीय कारागारको गोलघरमा भने ५ जनामात्र कैदी रहेका थिए । जसमध्ये एक हुन् शोभराज । अब गोलघरमा ४ जना कैदी रहनेछन् ।

भारतमा रहँदा जेलका सुरक्षागार्डलाई विष राखिएको मिठाइ खुवाएर भागेका शोभराजले नेपालको एयरपोर्टबाट हात्ती पनि छिराई दिन सक्छु भन्दै सुरक्षा निकायलाई खुलेआम चुनौती दिएका थिए ।

अपराध गरेर उम्किहाल्ने उनको क्षमताका कारण शोभराजलाई ‘सर्पेन्ट’ पनि भन्ने गरिएको छ । जुन शीर्षकमा वेभ सिरिज पनि बनेको छ । दुई विदेशी नागरिकको हत्या आरोपमा अदालतले उनलाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो । सन् १९७५ मा घटना भए पनि शोभराज सन् २००३ मा मात्रै पक्राउ परेका थिए ।

सन् १९९७ मा भारतमा करिब २१ वर्ष जेल बसेर आफ्नै देश फर्किएका शोभराज त्यसको झन्डै ६ वर्षपछि नेपाल घुम्न आउने क्रममा पक्राउ परेका थिए । प्रहरीले पुरानो फाइल खोलेर अनुसन्धान अगाडि बढाएको थियो । सर्वोच्च अदालतले बुधबार शोभराजलाई तत्काल थुनामु्क्त गरी १५ दिनभित्र स्वदेश फर्काउन आदेश गरेको थियो ।

ज्येष्ठ नागरिकका रुपमा कैदीले पाउने सुविधालाई टेकेर सर्वोच्चले आदेश गरेको हो । केन्द्रीय कारागारले शुक्रबार शोभराजलाई अध्यागमन विभागको जिम्मा लगाएको छ । उनलाई तत्काल स्वदेश फर्काउने विभागको तयारी छ । नेपालमा अपराध गरेर जेल बसेका विदेशी कैदीबन्दीलाई सजाय काटेपछि स्वदेश फर्काइने प्रावधान छ ।

शोभराजलाई जेलबाट छुटाउन उनीभन्दा ४४ वर्ष कम उमेरकी उनकी प्रेमिका निहिता विश्वास र सकुन्तला थापा निरन्तर लडेका थिए । शोभराज जेलमै रहेको अवस्थामा निहिताले १२ वर्षअघि शोभराजसँग विवाह गरेको घोषणा गरेकी थिइन् । सकुन्तला उनकी आमा हुन् ।

अहिले दुवै जना अधिवक्ता रहेका छन् । शोभराजलाई जेलबाट छुटाउन भएको बहसमा यी दुवै जना सहभागी थिए । भारतीय बुबा र भियतनामी आमाबाट जन्मिएका शोभराजले कम्तिमा १२ जनाको हत्या गरेको दाबी गरिन्छ ।

एसिया भ्रमणमा आउने युरोप र अमेरिकी युवायुवतीको नजिक भएर उनीहरुलाई लागुऔषध सप्लाई गर्ने र पछि उनीहरुको हत्या गरेर राहदानी आफूले प्रयोग गर्दै विभिन्न देशको भ्रमण गर्ने गरेको विभिन्न अनुसन्धानबाट देखिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर