उत्तर कोरियाले रुसलाई हतियार बेचेको अमेरिकाको दाबी – Nepal Press

उत्तर कोरियाले रुसलाई हतियार बेचेको अमेरिकाको दाबी

काठमाडौं । संयुक्त राज्य अमेरिकाले उत्तर कोरियाले युक्रेनमा प्रयोग गर्नका लागि रुसी समूह वाग्नरलाई मिसाइल तथा क्षेप्यास्त्र बेचेको आरोप लगाएको छ ।

वाग्नर र उत्तर कोरियाबीच भएको यो कारोबारले संयुक्त राष्ट्र सुरक्षा परिषद्को प्रस्तावहरूको उल्लंघन गरेको अमेरिकाको दाबी छ । वाग्नर समूह भाडामा लडाकु उपलब्ध गराउने निजी सैन्य समूह हो । यो समूह हाल सिरिया र अफ्रिकी देशहरूमा पनि सक्रिय रहेको बताइन्छ । यस समूहलाई बारम्बार युद्ध अपराध र मानवअधिकार उल्लंघनको आरोप पनि लाग्दै आएको छ ।

‘वाग्नरले युक्रेनमा आफ्नो सैन्य अपरेसनलाई समर्थन गर्न हतियार आपूर्तिकर्ताहरूको खोजी गर्दैछ, हामी पुष्टि गर्न सक्छौं कि उत्तर कोरियाले वाग्नरलाई प्रारम्भिक हतियार डेलिभरी पूरा गरेको छ’, ह्वाइट हाउस राष्ट्रिय सुरक्षा प्रवक्ता जोन किर्बीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

वाग्नर समूहले हरेक महिना उत्तर कोरियासँग १० करोड अमेरिकी डलर बारबरको कारोबार गरिरहेको पनि किब्रीको दाबी छ । यस सन्दर्भमा बेलायती विदेश सचिव जेम्स क्लेभर्लीले पनि बेलायत वासिङटनको मूल्यांकनसँग सहमत रहेको बताएका छन् ।

‘राष्ट्रपति (भ्लादिमिर) पुटिनले उत्तर कोरियालाई मद्दतको लागि याचना गर्नु रुसको निराशा र एक्लोपनको संकेत हो’, क्लेभर्लीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

रुस र उत्तर कोरिया दुबैले अमेरिकाको यस दाबीलाई खण्डन गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर