चार्ल्स शोभराज छुट्न अझै समय लाग्ने – Nepal Press

चार्ल्स शोभराज छुट्न अझै समय लाग्ने

काठमाडौं । सर्वोच्च अदालतले कैदमुक्त गर्न आदेश दिएका सिरियल किलर फ्रान्सेली नागरिक चार्ल्स शोभराज जेलबाट छुट्न अझै केही समय लाग्ने भएको छ ।

दिउँसो दुई बजेसम्म उनलाई जेलबाट रिहा गर्ने तयारी भइरहेको केन्द्रीय कारागारले जनाएको छ । उनी हाल केन्द्रीय कारागार छन् । कारागारबाट रिहा गरेर सिधै अध्यागमन विभागमा बुझाइँदैछ । शाेभराजले जेलबाट छुटेर केही दिन होटलमा बस्न इच्छा देखाएका थिए ।

तर विभागले भने उनलाई होटल वा अस्पतालमा बस्न नदिइ ट्राभल डकुमेन्ट तयार हुने बितिकै फ्रान्स पठाउने तयारी भइरहेकाे शोभराजलाई कानुनी सहयोग गरिरहेका अधिवक्ता गोपाल शिवाकोटी चिन्तनले बताए ।

उनले भने,‘उहाँ जेलबाट रिहा हुन एक दुई बज्छ भनेको छ । र उहाँको ट्राभल डकुमेन्ट तयार हुने वितिकै सरकारी स्रोत चाहिँ होटलमा वा अस्पतालमा नराखेर छिटो उहाँकै देश पठाइदिने मनस्थितिमा रहेको छ । ’

दुईजनाको हत्या र एकको हत्या प्रयास मुद्दामा अदालतबाट दोषी ठहर भई १९ वर्षदेखि नेपाली जेलमा रहेका शोभराजलाई सर्वोच्चले ज्येष्ठ नागरिकले पाउने कैद छुट दिएपछि ९ महिना कैद मिनाहा दिएको  थियाे ।

सर्वोच्चका न्यायाधीशद्वय सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको इजलासले बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिटमा उनलाई तत्काल जेलमुक्त गरी १५ दिनभित्र सम्बन्धित देशमा पठाइदिन बुधबार आदेश दिएको थियो ।

केन्द्रीय कारागारका जेलर ईश्वरीप्रसाद पाण्डेका अनुसार जिल्ला अदालत भक्तपुरबाट पत्र आएपछि शुक्रबार उनलाई अध्यागमन विभागमा बुझाइनेछ ।

कैद बसेर छुटेपछि उनलाई अध्यागमनमार्फत निष्कासन गरिनेछ । पासपोर्ट तथा ट्राभल डकुमेन्ट तयार भएपछि अध्यागमन विभागले भिसा नियमित गरी उनलाई अध्यागमन कसुरअनुसार जरिबानासमेत गर्नेछ । जरिबाना तिरेपछि गृहसचिवस्तरीय निर्णय गरी निश्चित वर्ष नेपाल आउन नपाउने गरी निष्कासन हुने अध्यागमन नियमावलीको प्रावधान छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर