१० वर्षसम्म बनेन तमोरको लघुघाट पुल, कर्मचारीसँग मिलेमतोमा म्याद थप्दै ठेकेदार – Nepal Press
विकासमा बेथिति

१० वर्षसम्म बनेन तमोरको लघुघाट पुल, कर्मचारीसँग मिलेमतोमा म्याद थप्दै ठेकेदार

ठेकेदारलाई कारबाहीका लागि अख्तियार गुहार

विराटनगर । तेह्रथुम-पाँचथर जिल्लाको सिमानामा पर्ने तमोर नदीस्थति लघुघाटमा निर्माणाधीन पुल अलपत्र परेको छ ।

राजनीतिक पहुँच र सडक डिभिजन कार्यालय धनकुटासँगको मिलेमतोमा ठेकेदारले बारम्बार म्याद थप गरेर पुल नबनाई बसेका छन् । आर्थिक वर्ष ०६८/६९ मा ३ वर्षमा निर्माण सक्ने गरी स्वच्छन्द निर्माण सेवासँग ठेक्का सम्झौता भएको थियो ।

सञ्चालक जयराम लामिछानेले ठेक्का सम्झौता सकिएको ७ वर्षसम्म विभिन्न बहानामा सडकका कर्मचारीसँगको मिलेमतोमा ठेक्काको म्याद थप्दै आएका छन् ।

सडक डिभिजन कार्यालय धनकुटाका प्रमुख कैलाश देव पछिल्लोपटक आगामी असार मसान्तसम्मका लागि म्याद थप गरिएको बताउँछन् ।

उनले नेपाल प्रेससँग भने, ‘हामीले के गर्नु नयाँ-नयाँ नियम आएको छ । त्यही नियमअनुसार म्याद थप भइरहेको छ ।’ सबै ठेक्काको म्याद आर्थिक ७९/८० असार मसान्तसम्मका लागि थप गर्ने सरकारको निर्णय अनुसार १६ महिनामा बनाइसक्ने भनेर म्याद थपिएको उनले जिकिर गरे । तर, पटकपटक ठेकेदारलाई बाचा बँधाउँदै म्याद थप गरिरहँदा कार्यालयले कामको प्रगति भने नहेरेको प्रभावित क्षेत्रका स्थानीय बताउँछन् ।

काबुभन्दा बाहिरको अवस्थामा सडक डिभिजन कार्यालयको सिफारिसमा विभागले ठेक्काको म्याद थप गर्नसक्ने प्रावधान छ । यसैको फाइदा उठाउँदै लामिछानेले डिभिजन कार्यालयबाट फायल खडा गर्दै म्याद थप गर्दै आएका हुन् ।

पुल निर्माणका लागि १३ करोड रूपैयाँमा आव ०६८/६९ मा ठेक्का सम्झौता भएको थियो । सम्झौतामा २०७२ साल असार महिनासम्ममा निर्माण सम्पन्न गरिसक्नुपर्ने उल्लेख छ । तर, अहिलेसम्म ४० प्रतिशतमात्रै भएको सडक डिभिजन कार्यालयले जनाएको छ । ठेकेदारले सम्झौताको ४० प्रतिशत रकम भुक्तानी लइसकेको डिभिजन कार्यालयका प्रमुख देवले बताए ।

‘गरिहाल्छु सकिहाल्छु भन्नु हुन्छ’, ठेकेदारको बचाउ गर्दै देव भन्छन्, ‘साइटमा २/४ जना लेबर पनि राखेको हुन्छ । हामीले ताकेता पनि गरिरहेका छौं ।’

ठेकेदारलाई कारबाहीका लागि अख्तियारमा उजुरी

१० वर्षसम्म पुल नबनेपछि ठेकेदार कम्पनी स्वच्छन्द निर्माण सेवाविरुद्ध अख्तियारमा उजुरी दिइएको छ । तेह्रथुम म्याङलुङ नगरपालिकाका अर्जुन ढुंगाना र लालीगुराँस नगरपालिकाका डिकबहादुर कार्कीले यही ४ गते अख्तियारको केन्द्रीय कार्यालय टंगालमा उजुरी दिएका हुन् ।

ठेकेदार जयराम लामिछानेले सम्झौताअनुसार काम नगरी पुल अलपत्र पारेको हेलचेक्रयाइँका कारण पक्की पुल निर्माणको काम प्रभावकारी रूपमा नहुँदा तेह्रथुम र पाँचथरलगायतका जिल्लाका बासिन्दालाई अन्याय परेको उजुरीमा उल्लेख छ ।

अख्तियारसमक्ष ठेकेदार लामिछानेले सम्झौता बमोजिम ठेक्काको कार्य सम्पन्न नगरी ठेक्का अलपत्र पारी प्रचलित कानूनको बर्खिलाप र भ्रष्टाचार निवारण ऐन, २०५९ को मर्म र भावनाविपरीत कार्य गरी अनियमितता गरेकाले अनुसन्धान गरी कारबाहीको माग गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *