काठमाडौं महानगरले दायित्व सरेर आएका २७ योजनाको अनुगमन गर्ने – Nepal Press

काठमाडौं महानगरले दायित्व सरेर आएका २७ योजनाको अनुगमन गर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले संघ तथा प्रदेश पूर्वाधार विकास कार्यक्रमका २७ वटा योजनाको स्थलगत अनुगमन गर्ने भएको छ । बिहीबार उपमेयर एवं अनुगमन तथा मूल्यांकन समिति संयोजक सुनिता डंगोलको अध्यक्षतामा बसेको बैठकले अघिल्लो आर्थिक वर्षबाट दायित्व सरेर आएका योजनाको अनुगमन गर्ने निर्णय गरेको हो ।

अघिल्लो आर्थिक वर्ष संघ तथा प्रदेश पूर्वाधार विकास कार्यक्रमका लागि काठमाडौं महानगरपालिकाभित्र ६१ करोड ८३ लाख लागतका २९२ वटा योजना थिए । यीमध्ये २७ वटा योजना सम्पन्न हुन बाँकी भई दायित्व सरेको महानगरले जनाएको छ । दायित्व सरेको योजनाको लागत ४ करोड ३१ लाख रूपैयाँको छ । सम्पन्न योजनामा ८१ प्रतिशत बराबर हुन आउने ४९ करोड ८० लाख खर्च भइसकेको बताइएको छ ।

महानगरभित्र सार्वजनिक निजी साझेदारी कार्यक्रमअन्तर्गत निर्माण तथा सञ्चालन भइरहेका योजना, कृषि, फलफूल, माछामासु, मसलालगायत खाद्यवस्तु, औषधिजन्य वस्तुलगायतका क्षेत्रमा नियमित अनुगमन गर्ने पनि बैठकमा निर्णय भएको छ ।

उपमेयर डंगोलले बैठकमा भनिन्, ‘अनुगमन पर्वमा मात्र होइन, यो नियमित प्रक्रिया हो । अनुचित क्रियाकलाप गर्नेलाई कारबाही गर्नुपर्छ । हामीले बजार सुधारको अपेक्षा राखेर अनुगमन गरेका हुन्छौं । यो काम सचेतनामूलक पनि बन्नुपर्छ । नजान्नेलाई सिकाउने, नबुझेकालाई बुझाउने, नमिलेकालाई मिलाउन प्रोत्साहन गर्ने काम पनि सँगै गर्नुपर्छ ।’

संघ तथा प्रदेश पूर्वाधार विकास एकाईका निमित्त प्रमुख सुन्दरशंकर विकले योजनाका विषयमा प्रस्तुतिकरण गरे । उनका अनुसार सरकारी लेखा प्रणाली (कम्प्युटराइज्ड गभर्मेन्ट अकाउन्टिङ् सिस्टम) मा समस्या आएकोले, मध्य असारमा प्रदेशबाट योजना संशोधन भएर आएकाले २७ वटा योजनाको दायित्व सरेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *