चार्ल्स शोभराजका रहस्य: किन भनियो बिकिनी किलर ? – Nepal Press

चार्ल्स शोभराजका रहस्य: किन भनियो बिकिनी किलर ?

आकर्षक व्यक्तित्व, विभत्स हत्यारा

काठमाडौं । नेपालमा जेल सजाय खेपिरहेका कुख्यात ‘सिरियल किलर’ चार्ल्स शोभराजलाई बुधबार सर्वोच्च अदालतले रिहाइ गर्ने आदेश दियो । फ्रेन्च नागरिक शोभराजलाई थुनामुक्त गरेर उनकै देश फ्रान्स पठाइदिन सर्वोच्चका न्यायाधीशहरु सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको इजलासले आदेश दिएको हो ।

कर्तव्य ज्यान मुद्दामा सजाय काटिरहेका ७८ वर्षीय शोभराज मुटुरोगी भएकाले ओपन हार्ट सर्जरी गर्नुपर्ने सर्वोच्चको फैसलामा उल्लेख छ । कारागार नियमावली, २०२० को नियम २९ (२ क) ले ६५ वर्ष उमेर पुगेका कैदीहरुलाई ७५ प्रतिशतसम्मको कैद सजाय छोट्याउन सक्ने व्यवस्थाअनुसार थुनामुक्त गर्न सर्वोच्चले आदेश गरेको हो ।

शोभराजले सन् १९७५ डिसेम्बरमा नेपालमा २८ वर्षीया अमेरिकी महिला र उनको साथी क्यानेडियन पुरुषको हत्या गरेको आरोपमा सन् २००३ देखि ज्यान मुद्दामा सजाय भोगिरहेका छन् । नेपालको केन्द्रीय कारागारमा १९ वर्ष बढी समय कटाएका उनलाई अदालतले स्वदेश फिर्ता गर्ने अवसर प्रदान गरेको छ । ती नै शोभराजका केही तथ्यबारे हामीले उजागार गर्ने प्रयास गरेका छौं ।

कति जनाको हत्या गरे ?

चार्ल्सले हालसम्म कतिजनाको हत्या गरे भन्ने यकिन विवरण त छैन । यद्यपि उनले विभिन्न देशहरुमा गरी कम्तीमा २४ जनाको हत्या गरेको दाबी गरिएको छ । उनले सन् १९७० को दशकमा नेपाल, भारत, थाइल्याण्डलगायतका देशहरुमा हत्या गरेको आरोप छ । उनले ती देशहरुमा हिप्पी र पर्यटकहरुको हत्या गरेका थिए ।

चार्ल्सले हत्यापछि उनीहरुको साथमा रहेको रकम तथा पासपोर्टहरु लिने गर्थे । उनले हिप्पी संस्कृतिलाई मन पराउँदैनथे । हत्यामा उनलाई उनकी प्रेमिकाले पनि सहयोग गर्ने गरेको चार्ल्स आफैंले बताएका थिए ।

कुन-कुन देशमा कति बसे जेल ?

चार्ल्सले भारतमा पनि २० वर्षको जेल जीवन बिताएका छन् । भारतको दिल्लीमा ६० जना इन्जिनियरिङ पढ्ने फ्रान्सेली विद्यार्थीहरुलाई ड्रग्स प्रयोग गराएको तथा बनारसमा इजरायली विज्ञ र फ्रान्सेली पर्यटकको हत्या गरेको आरोपमा उनी सन् १९७६ मा पक्राउ परेका थिए । यद्यपि हत्याको आरोपबाट भने आफूलाई बचाउन सफल भए ।

थाइल्याण्डमा पनि धेरै जनाको हत्या अभियोगमा शोभराजलाई मृत्युदण्डको सजाय सुनाइएको थियो । तर, उनले भारतमा आफ्नो सजाय २० वर्षसम्म भोगेपछि थाइल्याण्डको मृत्युदण्डको समय अवधि गुज्रियो र मृत्युदण्ड ट¥यो । भारतीय जेलमा करिब दुई दशकको समय बिताएका उनी सन् १९९७ थुनामुक्त भएका थिए ।

नक्कली परिचयपत्रमार्फत हङकङ हुँदै नेपाल आएका शोभराजलाई २००३ मा नेपाल प्रहरीले काठमाडौंबाट पक्राउ गरेको थियो । त्यसवेलादेखि उनी नेपाली कारागारमा छन् । यसैबीच अब उनलाई जेलमुक्त गर्न सर्वोच्चले आदेश जारी गरिसकेको छ ।

किन ‘बिकिनी किलर’ भनिन्छ ?

सामान्यतया तीन-चार पटकभन्दा बढी हत्या गर्नेलाई सिरियल किलरका रुपमा परिभाषित गरिन्छ । हुन त यो ठोस नभएर अमूर्त परिभाषा हो । शोभराजलाई ‘द सर्पेन्ट किलर’, ‘स्प्लिटिङ किलर’ तथा ‘बिकिनी किलर’ पनि भनिन्छ । यसको पछाडि कारण छ ।

शोभराजले हत्या गरेपछि प्रहरी अधिकारीबाट आफूलाई बचाउन सर्पले जस्तै चल्ने विभिन्न चालका कारण ‘द सर्पेन्ट किलर’ भनिएको हो । ‘द सर्पेन्ट’ नाममा बीबीसीले एउटा वृत्तचित्र पनि बनाएको छ । जसमा उनकै कथा समेटिएको छ ।

यस्तै, शोभराजले आफूले गर्ने अपराध र त्यसका लागि भोग्नुपर्ने सजायबीचमा ‘माइन्ड स्प्लिट’ गर्न सक्ने भएकाले ‘स्प्लिटिङ किलर’को रुपमा पनि चित्रण गरिएको हो । त्यस्तै हत्या गरिसकेपछि धेरै पीडितहरुको शव नांगै वा भित्री वस्त्रमात्र लगाएको अवस्थामा छोड्ने गर्थे । महिलाहरुको शवलाई उनले स्वीमिङ सुट एवम् बिकिनीमा छोड्ने गरेकाले ‘बिकिनी किलर’ भनिएको विभिन्न रिपोर्टहरुमा उल्लेख छ ।

शोभराजको व्यक्तित्व र मानसिक अवस्था

उनी रूपमा राम्रा, विश्वका विभिन्न भाषाको ज्ञान भएका, चार्मिङ व्यक्तिका रुपमा पनि चिनिन्छन् । तर, आम मानिसले यति धेरै मान्छेको हत्या गर्न कठीन हुन्छ । त्यसैले उनको मानसिक अवस्थाका बारेमा पनि विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले प्रश्न उठाएका छन् ।

एन इनजस्टिस डटकममा प्रकाशित एकेडेमिक विश्लेषणमा शोभराजको असामाजिक व्यक्तित्वबारे विश्लेषण गरिएको छ । हुन त हालसम्म कुनै पनि मनोविज्ञले चार्ल्सको मानसिक अवस्थाको बारेमा किटान गरेका छैनन् । त्यस एकेडेमिक आर्टिकलमा उल्लेख भएअनुसार शोभराजमा ती प्रायः सबै गुण छन्, जुन एन्टिसोसल मानिसमा हुने गर्छ । जसलाई अर्को शब्दमा ‘साइकोपाथ’ पनि भन्ने गरिन्छ ।

मनोविज्ञानमा अरुको बारेमा मतलब नराखी आफ्ना इच्छा-आकांक्षाहरुलाई जसरी भए पनि पूरा गर्न खोज्नु जसको परिणामको परवाह नहुनुलाई एन्टिसोसल पर्सनालिटी भनिन्छ । हिप्पी कल्चरका मानिसहरुप्रति घृणाको भाव देखिनु, बारम्बार विभिन्न देशमा मानिसहरुको विभत्स हत्या गर्नु, कानूनबाट जसरी पनि बच्न खोज्नु जस्ता विषयलाई उल्लेख गर्दै एन इनजस्टीसले शोभराजमा एन्टिसोसल चरित्र देखिएको बताउँछ । यद्यपि त्यो रिपोर्ट एकेडेमिक प्रयोजनका लागि एउटा केस स्टडीमात्रै हो ।

एजेन्सीको सहयोगमा


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *