थुनामुक्त हुँदै चार्ल्स शोभराज – Nepal Press

थुनामुक्त हुँदै चार्ल्स शोभराज

काठमाडौं । काठमाडौं जिल्ला अदालतले छाड्न मिल्ने आशयको पत्र पठाएपछि केन्द्रीय कारागारले चार्ल्स शोभराजलाई थुनामुक्त गर्ने तयारी गरेको छ । केन्द्रीय कारागारका जेलर ईश्वरी पाण्डेले भक्तपुर जिल्ला अदालतपछि काठमाडौंले पनि छाड्न मिल्ने पत्र पठाएको जानकारी दिए । सोहीअनुसार अहिले थुनामुक्त गर्ने तयारी भइरहेको उनले बताए ।

यसअघि भक्तपुरमा भएको एक घटनामा सर्वस्वसहित जन्मकैद भएका ७८ वर्षीय शोभराजलाई सर्वोच्च अदालतले बुधबार छाड्न आदेश दिएको थियो । ज्येष्ठ नागरिकको हकमा कैदीलाई हुने छुट सुविधाबाट शोभराजलाई बन्चित गर्न नहुने भन्दै सर्वोच्चको संयुक्त इजलासले तत्काल थुनामुक्त गरेर १५ दिनभित्र स्वदेश फर्काउन आदेश गरेको थियो ।

उक्त आदेशमा शोभराजविरुद्ध अन्य मुद्दा नरहे थुनामुक्त गर्न र १५ दिनभित्र स्वदेश फर्काउन भनिएको थियो ।

तर, शोभराजविरुद्ध काठमाडौंमा दर्ता रहेको अर्को मुद्दाबारे सर्वोच्चले केही नबोलेको भन्दै केन्द्रीय कारागार उनलाई बिहीबार अपरान्हसम्म छाड्न मानेको थिएन । कि त सर्वोच्चको आदेश संशोधन गर्नुपर्ने नत्र काठमाडौं जिल्ला अदालतले छाड्न मिल्ने पत्र पठाएमात्र शोभराजलाई थुनामुक्त गर्न मिल्ने कारागार प्रशासनको भनाइ थियो ।

शोभराज १९ वर्षदेखि नेपालको कारागारमा थिए । सन् १९७५ मा दुई विदेशी नागरिकको हत्या गरेको अभियोगमा उनलाई सन् २००३ मा पक्राउ गरिएको थियो । त्यसअघि शोभराजले भारतका जेलमा करिब २१ वर्ष बिताएका थिए ।

अब शोभराज अध्यागमन विभागको जिम्मामा जानेछन् । विभागले आवश्यक प्रक्रिया पूरा गरेर स्वदेश फर्काउनेछ । विभागले शोभराजले अध्यागमनसम्बन्धी ऐन उल्लंघन गरेको भए जरिवाना गरेरमात्र फर्काइने जनाएको छ ।

विभागका एक अधिकारीले स्वदेश नफर्काउँदासम्म उनलाई तोकिएको स्थानमा बस्न लगाउने वा कसैको जिम्मा जमानीमा छाडिने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर