अध्यागमनमा ठाउँ खाली नभएपछि आज छुटेनन् शोभराज – Nepal Press

अध्यागमनमा ठाउँ खाली नभएपछि आज छुटेनन् शोभराज

काठमाडौं । विकिनी किलरका रुपमा चर्चित चार्ल्स शोभराजलाई शुक्रबार मात्र केन्द्रीय कारागारले अध्यागमन विभागलाई बुझाउने भएको छ ।

विभागमा शोभराजलाई राख्ने ठाउँ नभएकाले शुक्रबार मात्र लगिने जानकारी पाएको उनका कानुन व्यवशायी गोपाल शिवाकोटीले जानकारी दिए । ‘उहाँलाई विभागमा छुट्टै कोठामा राखिनु पर्ने हुनाले ठाउँ नभएकाले शुक्रबार मात्र लैजाने भन्ने कुरा आएको छ’, शिवाकोटीले भने ।

यसअघि सर्वोच्च अदालतले ७८ वर्षीय शोभराजलाई थुनामुक्त गर्न र १५ दिनभित्र स्वदेश फर्काउन बुधबार आदेश दिएको थियो । उनी कर्तव्य ज्यान मुद्धामा १९ वर्षदेखि जेल सजाय भोगिरहेका थिए। बढी सुरक्षा चुनौती दिन सक्ने कैदीलाई राखिने गोलघरमा उनलाई राखिँदै आएको थियो ।

बिहीबार बिहानै छुट्ने भनिएपनि उनीविरुद्ध अर्को मुद्धा पनि रहेको र त्यस विषयमा सर्वोच्च अदालतले केही नबोलेको भन्दै केन्द्रीय कारागारले छाड्न मानेको थिएन । तर काठमाडौं जिल्ला अदालतले छाड्न मिल्ने पत्र पठाएपछि अध्यागमन विभागलाई बुझाइने पक्का भएको थियो ।

केन्द्रीय कारागारका प्रमुख इश्वरी पाण्डेले पत्र ढिलो प्राप्त भएकाले आवश्यक प्रकृया पुरा गर्न समय लागेको र रात परेकाले भोली मात्र बुझाइने बताए। ‘उहाँलाई हामीले बुझाएजस्तै हो। आज ढिलो भएकाले भोली बुझाउन लागिएको हो’, उनले भने।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *