नेपाल टी-२० लिग भोलिबाट सुरु नहुने निश्चित, नयाँ मिति चाँडै तोकिने – Nepal Press

नेपाल टी-२० लिग भोलिबाट सुरु नहुने निश्चित, नयाँ मिति चाँडै तोकिने

काठमाडौं । नेपाल क्रिकेट संघ(क्यान) को आधिकारीक फ्रेन्चाइज प्रतियोगिता नेपाल टी–२० लिग स्थगित भएको छ । भोलिबाट सुरु हुने लिग अन्तिम समयमा आएर स्थगित भएको हो ।

विदेशी खेलाडीको श्रम स्वीकृति प्रकृयामा ढिलाई भएका कारण प्रतियोगिता  स्थगित भएकाे  क्यानका अध्यक्ष चतुर बहादुर चन्दले नेपालप्रेसलाई बताए ।

‘विदेशी खेलाडीको श्रम स्वीकृतिको समस्याका कारण प्रतियोगिता सर्न लागेको हो । विदेशी खेलाडीको लिस्ट पनि ढिलो आयो । प्रकिृयामा जाँदा समय लागेको हो । अब नयाँ मिति केहि दिनमा तय गर्नेछौं,’ उनले भने ।

प्रतियोगिता आयोजना गर्न भारतीय कम्पनी सेभेन थ्री स्पोर्टससँग गत वर्ष सम्झौता गरेको क्यानले यो सहित तेस्रो पटक प्रतियोगिता सारेको हो ।

गत असोज कात्तिकमा आयोजना हुने भनिएको प्रतियोगिता सुरक्षाका कारण देखाउँदै सारिएको थिए ।

त्यसबेला टी–२० लिगकै लागि भनेर नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिता क्यानले भदौको झरीमा आयोजना गर्‍यो ।

वर्षाका कारण पुरै खेल अवरुद्ध हुँदा कुनै टिमले टस जितेकै आधारमा पदक जितेका थिए ।

नेपाल टी–२० लिग घोषणा गरे देखिनै विभिन्न विवादहरू भइरहेका छन् । क्यानले प्रतियोगिताका लागि खेलाडी अक्सन पनि सुटुक्क सकेको थियो ।

मंसिरमा आयोजना गर्ने भनिए पनि अन्तिम समयमा काठमाडौं गोर्खाजले नाम फिर्ता लिएपछि क्यानले प्रतियोगिता सार्ने अर्को बहाना भेटेको थियो ।

तेस्रो पटक प्रतियोगिता सरिरहँदा लिगका फ्रेन्चाईज टिम नै प्रतियोगिता हुन्छ या हुँदैन भन्ने कुराको अन्योलमा छन् ।

बुधवार टी–२० लिगको फ्रेन्चाइज टिम विराटनगर सुपर किङ्सले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै टिम म्यानेजर तथा सह–मालिक राहुल शर्माले प्रतियोगिता आयोजना भए खेल्ने नभए पशुपतिनाथ दर्शन गरेर घर फर्किने बताएका थिए ।

फ्रेन्चाइजका मालिक नै प्रतियोगिता आयोजना हुनेमा विश्वस्त नभएको अवस्थामा क्यानले फेरि समयमै आयोजना गर्छ भन्नेमा विश्वस्त भने हुन सकिने अवस्था छैन ।

टी–२० लिगमा विराटनगर सुपर किङ्स, जनकपुर रोयल्स, लुम्बिनी अल स्टार्स, पोखरा एभेन्जर्स, काठमाडौं नाइट्स र फार वेस्ट यूनाइटेड गरी ६ टिमको सहभागिता रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *