प्रदेश १ मा पनि कांग्रेस संसदीय दलको नेता चुनावबाटै, यस्तो छ हिसाबकिताब – Nepal Press

प्रदेश १ मा पनि कांग्रेस संसदीय दलको नेता चुनावबाटै, यस्तो छ हिसाबकिताब

कसको पक्षमा कति सांसद ? (सूचीसहित)

विराटनगर । प्रदेश १ मा पनि नेपाली कांग्रेसभित्र संसदीय दलको नेता छान्न निर्वाचन हुने देखिएको छ । दलको नेताका लागि आकांक्षी चारजनाबीच सहमति नभएपछि निर्वाचनको तयारी गरिएको हो ।

प्रदेश १ मा देउवा पक्षका १, सिटौला पक्ष २ र कोइराला पक्षका १ गरी ४ नेता मुख्यमन्त्रीको दाबी गर्दै दलको नेता बन्ने दौडमा छन् । संस्थापन पक्षका अमृत अर्याल, सिटौला पक्षका उद्धव थापा र भीम पराजुली तथा कोइराला पक्षका केदार कार्की संसदीय दलका दाबेदार हुन् ।

यस प्रदेशमा नेपाली कांग्रेसले प्रत्यक्ष तर्फबाट १७ र समानुपातिकबाट १२ गरी २९ सीट प्राप्त गरेको छ । २ जनाबीचमा प्रतिस्पर्धा भए जित्न १५ मत आवश्यक पर्छ । तर, चारैजनाले चुनाव लडे बढी मत ल्याउनेले दलको नेता जित्नेछ ।

कांग्रेस स्रोतका अनुसार देउवा-सिटौलाबाट एकजनामात्र अघि सार्न प्रयास भइरहेको छ । तर, उम्मेदवारबारे सहमति भइसकेको छैन ।

प्रदेश सभापतिसमेत रहेका उद्धव थापाले पुस ९ वा पुस ११ बाट दलको नेता चयन प्रक्रिया सुरू हुने जानकारी दिए ।

‘हामी पुस ९ वा पुस ११ मा बैठक बसेर दलको नेता चयन प्रक्रिया थाल्ने तयारीमा छौं’, थापाले भने ‘यसबारे निर्णय गरेर प्रक्रिया थाल्नेछौं ’, थापाले भने ।

समानुपातिक सांसद थापाले आफू दलको नेता बने सरकारको नेतृत्वसमेत गर्नसक्ने दाबी गर्छन् ।

कोइराला पक्षका नेता तथा प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्की आफू प्रतिस्पर्धाबाट पछि नहट्ने बताउँछन् । एक कार्यकाल दलको प्रमुख सचेतकको भूमिका निर्वाह गरेका उनले आफू संसदीय दलको नेतामा प्रतिस्पर्धी स्वाभाविक भएको बताए ।

कार्कीले नेपाल प्रेससँग भने, ‘प्रदेशको संस्थापक सांसद हुनुको नाता, प्रमुख सचेतकको सफल नेतृत्व लिएको र सरकार संचालनको अनुभव समेत पाइसकेकोले अब मेरो दाबी दलको नेता हो । सरकारको नेतृत्व गर्न मुख्यमन्त्रीको जिम्मेवारी समेत सम्हाल्न सक्षम छु ।’

तत्कालीन संविधानसभा सदस्य तथा मोरङ ५ को प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित अमृत अर्यालले आफूलाई भावी मुख्यमन्त्रीको रूपमा प्रस्तुत गर्दै चुनावी प्रचार गरेका थिए ।

संस्थापन पक्षका अर्याल पार्टीको मोरङ सभापतिको सफल भूमिका निर्वाह गरेको र अब प्रदेशलाई स्थापित गराउन समेत आफ्नो भूमिका अपरिहार्य भएको दाबी गर्छन् ।

‘यसअघि संसदीय सांसदमा खेलेको भूमिका, जिल्लामा गरेको नेतृत्व र संघीयता कार्यान्वयनमा प्रदेशलाई थप सवल बनाउन संसदीय दलमा मेरो दाबी हो’, उनले भने ।

विराटनगर महानगरपालिकाक पूर्वमेयर तथा कांग्रेस केन्द्रीय सदस्य भीम पराजुली मोरङ ४ को प्रदेशसभा निर्वाचन क्षेत्र २ बाट निर्वाचत भएसँगै दलको नेता बन्ने दौडमा छन् ।

सिटौला पक्षका पराजुलीले आफू दलको नेता भए राप्रपासहित साना दलको समेत समर्थन लिएर सरकार गठन गर्ने दाबी गरे ।

कुन सांसद कतातिर ?

प्रदेश १ का २९ जना प्रदेश सांसदमध्ये यी १२ जना देउवा निकटका छन् ।

१. अमृत अर्याल

२. हिमाल कार्की

३. सदानन्द मण्डल

४. इस्राइल मन्सुरी

५. खगेन सिंह हाङ्गाम

६. प्रदीपकुमार सुनुवार

७. डोल्मा तामाङ्ग

८. लीलाकुमार राई

९. मैया श्रेष्ठ

१०. ममता मगर

११. सुनिता गच्छदार

१२. सुनिताकुमारी गुरुङ्ग

(सुनिता गच्छदार र सुनिताकुमारी गुरुङ विजय गच्छदारनिकट मानिन्छन् ।)

कृष्णप्रसाद सिटौला पक्ष

१. उद्धव थापा

२. भीम पराजुली

३. भूमिप्रसाद राजवंशी

४. भूपेन्द्र राई

५. खगेश्वरी पौडेल

६. मोहन महर्जन

७. शोभा चेम्जोङ पालुङ्वा

८. लखीकुमारी गणेश

९. गोपाल तामाङ्ग

शेखर कोइराला पक्ष

१. केदार कार्की

२. शमशेर राई

३. रामकुमार खत्री

४. इन्दिरा थापा

५. विनोद बान्तवा

६. मानबहादुर लिम्बू

७. गोविन्द गिरी

८. गयानन्द मण्डल


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर