बिदा हुने बेलामा मधेसका मुख्यमन्त्रीले भने- नाम र राजधानी तोक्नु नै मुख्य उपलब्धि (भिडिओ) – Nepal Press

बिदा हुने बेलामा मधेसका मुख्यमन्त्रीले भने- नाम र राजधानी तोक्नु नै मुख्य उपलब्धि (भिडिओ)

जनकपुरधाम । पाँच वर्षे कार्यकाल सकाएर बिदा हुने बेलामा मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले आज पत्रकार सम्मेलन गरेर आफ्नो उपलब्धि सुनाएका छन् ।

राउतले प्रदेशको नाम र स्थायी राजधानी तोक्नुलाई नै मुख्य उपलब्धि भएको बताएका छन् । शपथ लिएको बेला गरेको प्रतिबद्धता अनुसार काम गर्न नसकेको उनले स्वीकारे ।

उनले भने, ‘चाहेको अनुसार काम नगरेको होला । तर मेरो प्रयास सधैँ गर्ने नै थियो ।’

उनले प्रतिपक्षको सहयोगले नै प्रदेशको नाम पहिचानको आधारमा राख्न पाएको र स्थायी राजधानी तोक्न सफल भएको बताए ।

पाँच पटक बजेट ल्याउँदा चार पटक सर्वसम्मत पास भएको भन्दै उनले भने, ‘प्रतिपक्षमा रहेका दलले पनि सधैँ सहयोग गरे । यसलाई पनि उपलब्धिकै रूपमा लिएको छु ।’

राउतले प्रदेशको नयाँ संरचना, कर्मचारी अभाव, भएको कर्मचारीको पनि ६ महिना नबित्दै सरुवा, पूर्वाधारको अभाव लगायतका समस्याका कारण सोचे अनुसार काम गर्न नपाएको बताए ।

‘मुख्यमन्त्री कार्यालयमै अहिले रहेको मुख्य सचिव सातौं हो’, उनले भने, ‘सबै मन्त्रालयमा त्यस्तै छ । सचिव आउने र यहाँका परिवेश तथा अवस्था बुझ्न नपाउँदै सरुवा गर्ने काम भयो । यसले पनि ठूलो समस्या भयो । प्रहरी ऐन, प्रदेश निजामती ऐनलगायतका कानूनहरू बनाउँदा प्रतिपक्षको सहयोग रह्यो ।’

उनले अब सरकारको नेतृत्वमा जो पुगेपनि आफूले भोगेको जस्तो समस्या भोग्न नपर्ने बताए । उनले भने, ‘भौतिक संरचना थिएन । गाडी थिएन् । काठमाडौं जाँदा तिनकुनेमा गाडी विग्रियो । पैदल हिड्नुपर्‍यो । अब आउने मुख्यमन्त्रीलाई त त्यस्तो समस्या हुँदैन ।’

उनले आवश्यक संरचनाहरु निर्माण गरेको भन्दै अब जो आएपनि हामीले सुरू गरेको काम र स्थापना गरेको कार्यालयहरुले काम पुग्ने विश्वास व्यक्त गरे । उनले समाज रुपान्तरण, महिला, दलित, जनजाती, मुस्लिम सबै समुदायका लागि गरेको प्रयासलाई अबको सरकारले निरन्तरता दिनेमा विश्वास व्यक्त गरे ।

‘अंकगणितको आधारमा हामी तेस्रो नम्बरमा छौं’, राउतले भने, ‘अब जसको पनि सरकार बन्छ । समाज रुपान्तरण, दलित र महिलाको अधिकारका लागि, उत्पीडनमा परेकाहरुका लागि जसरी हामी कानून ल्याएका छौं । त्यसको कार्यान्वण गरोस् ।’

उनले अब सरकारमा जाने/नजाने निर्णय पार्टीले गर्ने पनि बताए । उनले अहिलेको परिस्थितिमा सरकार बनाउने अवसर आयो भने पार्टी पछि नपर्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर