अंग्रेजी नयाँ वर्षमा बुटवलमा तीन दिने सडक खाना महोत्सवको तयारी – Nepal Press

अंग्रेजी नयाँ वर्षमा बुटवलमा तीन दिने सडक खाना महोत्सवको तयारी

रुपन्देही । पर्यटन व्यवसायलाई प्रवद्र्धन गर्न बुटवलमा रोड फूड फेस्टिभल (सडक खाना महोत्सव)हुने भएको छ । होटल व्यवसायी संघ रुपन्देहीले यही पुस १५, १६ र १७ गते अंग्रेजी नयाँ वर्षको अवसर पारेर फेस्टिभल गर्न लागेको हो ।

पर्यटनको सम्भावनालाई पहिचान गरी लुम्बिनी प्रदेशमा धेरैभन्दा धेरै आन्तरिक तथा बाह्य पर्यटकलाई भित्र्याउन यस्तो कार्यक्रमको आयोजना गर्न लागिएको होटल व्यवसायी संघ रुपन्देहीका अध्यक्ष रामप्रसाद गौतमले बताए ।

फेस्टिभलमा विभिन्न जातीय परिकार प्रदर्शनीमा राखिनेछ । तीन दिनसम्म सञ्चालन हुने फेस्टिभलमा करिब एक लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ । करिब एकसय वटा स्टल फुड फेस्टिभलमा रहने छन् । बुटवलको नयाँ बसपार्कदेखि तीनकुनेसम्म कालिकापथमा सडक खाना महोत्सव हुने भएको हो ।

संघका अध्यक्ष गौतमका अनुसार महोत्सवबारे आवश्यक तयारी र प्रकृया सुरु गरिएको छ । हरेक बर्षहरुमा गर्दै आएको सडक खाना महोत्सवलाइ यसपटक अझै व्यवस्थित र उत्कृष्ट बनाउने योजनासमेत तय भएको उनले बताए ।

खानाका परिकार, संस्कृति, स्थानीय डिजे ब्याण्डदेखि राष्ट्रिय कलाकारहरूको प्रस्तुतिमा साँस्कृतिक कार्यक्रम समेत गरिने संघका महासचिव माधवकुमार खनालले बताए ।

महोत्सव सम्पन्न गर्न २५ लाख लागत लाग्ने अनुमान गरिएको छ । तीन दिनको सो महोत्सवमा प्रवेश निःशुल्क ब्यवस्था गरिएको छ । होटल तथा रेष्टुरेन्ट व्यवसायी संघले २०७५ सालमा पहिलोपटक र २०७६ सालमा दोस्रोपटक बुटवलमा सडक खाना महोत्सव आयोजना गरेको थियो ।

स्थलको अभाव र कोरोना महामारीका कारण विगत दुई वर्षदेखि बुटवलमा सडक खाना महोत्सव हुन सकेको थिएन । महोत्सवको आन्तरिक तयारी तीब्र पारिएको र १०१ सदस्यीय मूल आयोजक समिति र २३ वटा उपसमिति निर्माण गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर