चीनबाट आज स्वदेश फर्किँदै वर्षमान – Nepal Press

चीनबाट आज स्वदेश फर्किँदै वर्षमान

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन आज स्वदेश फर्किँदै छन् । उपचारका लागि चीनमा रहेका पुन स्वास्थ्यमा सन्तोषजनक प्रगति भएपछि स्वदेश फर्किन लागेका हुन् ।

पुन चाइना साउथर्न एयरलाइन्सको नियमित उडानबाट गोन्झाओ हुँदै अपराह्न १ बजे अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने कार्यक्रम छ ।

वंशाणुगत जण्डिशबाट पीडित पुन चुनावी धपेडीका कारण रोग बल्झिएपछि गत १६ मंसिरमा नेपाली चिकित्सकहरूको परामर्शमा फलोअप उपचारका लागि चीन गएका थिए ।

उनको सेनजेनस्थित थर्ड पिपुल्स् अस्पतालमा उपचार भएको हो । पुन पत्नीसमेत रहेकी पूर्व सभामुख एवं माओवादी स्थायी समिति सदस्य ओनसरी घर्तीले उनको स्वास्थ्यमा सन्तोषजनक सुधार भएको जानकारी दिइन् ।

नेपालबाट जाँदा पुनमा निन्द्रा नलाग्ने, शरीर चिलाउने, लगातार खोकी लाग्ने र खानामा अरुचि तथा बान्ता हुनेजस्ता स्वास्थ्य समस्या थिए । उपचारपछि भने ती समस्या हटेको उनले बताइन् ।

उपचारमा जानुअघि पुनको शरीरमा जण्डिस (बिलरुबिन) को मात्रा २७ बिन्दु थियो । हाल बिलरुबिनको मात्रा घटेर १८ मा आएको छ ।

पुनमा भएको रोगलाई चिकित्सकीय भाषामा ‘सिग्गलर नाजार टाइप टू सिन्ड्रोम’ भनिन्छ । यसअघि गत वर्ष पनि रोगले च्यापेपछि उनको पहिला थाइल्याण्ड र पछि चीनमा उपचार गरिएको थियो । पुनको उपचारमा डा. चेन नेतृत्वको विशेषज्ञ टोली सहभागी थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर