दलको नेतामा देउवाविरुद्ध भिड्ने को ? शेखर-गगनबीच सहमतिको प्रयास


काठमाडौं । संसदीय दलको नेता चयनको निर्वाचन कार्यतालिका सार्वजनिक भएसँगै नेपाली कांग्रेसमा नेताहरूको दौडधुप सुरू भएको छ । सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध उम्मेदवार खडा गर्न संस्थापनइतर समूह अहिले छुट्टाछुट्टै छलफलमा जुटेको छ ।
कांग्रेसले संसदीय दलको नेता चयन गर्न बुधबार बिहान ८ बजेदेखि १० बजेसम्म मतदानको समय तोकेको छ ।
संस्थापनइतरबाट शेखर कोइराला र गगन थापा दुवैले दाबी गरिरहेको बेला यो टीममा सहमति जुटाउने प्रयास भइरहेको नेताहरूले बताएका छन् । उपसभापति धनराज गुरुङ, सहमहामन्त्री बद्री पाण्डेलगायतका नेताले दुई नेतालाई सहमति गराउन लागिपरेको निकट एक नेताले बताए ।
दुई-तीन स्थानमा अहिले नेताहरू व्यक्ति-व्यक्ति र समूहमा बैठक बसिरहेका छन् ।
शेखरसँग नजिक रहेका सांसदले गगनभन्दा आफूहरूसँग सांसद बढी भएको भन्दै गगनलाई नछाड्न दबाब दिएका छन् । तर, विश्वप्रकाश शर्माको समर्थन पाएका गगन कुनै हालतमा ब्याक नहुने मानसिकतामा छन् ।
गठबन्धनबाट ९१ सीट उम्मेदवारी दिएको कांग्रेसले ५७ सीट जितेको छ । समानुपातिकसहित प्रतिनिधिसभामा कांग्रेसको ८९ सीट छ ।
देउवाले टिकट वितरणमै संस्थापनइतर समूह आफूमाथि हाबी हुन नसक्ने गरी सन्तुलन मिलाएका छन् । १४औं महाधिवेशनपछि संस्थापनइतर पक्ष तितरबितर भएपछि देउवालाई पार्टीभित्र ‘कम्फरटेबल’ भएको छ ।