सांसदको सपथ बिहीबार, मातृभाषामा सपथ लिनेले तीन दिन अगाडि जानकारी दिनुपर्ने – Nepal Press

सांसदको सपथ बिहीबार, मातृभाषामा सपथ लिनेले तीन दिन अगाडि जानकारी दिनुपर्ने

काठमाडौं । प्रतिनिधिसभामा निर्वाचित सांसदको शपथ पुस ७ गते बिहीबार दिउँसो १ बजे हुने भएको छ । मंसिर ४ मा सम्पन्न निर्वाचनबाट निर्वाचित भएर आएका प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचन प्रणालीबाट निर्वाचित १६५ र समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित ११० गरेर जम्मा २७५ जना सांसद सपथ बिहीबार दिउसो १ बजे हुने संघीय संसद् सचिवालयले जनाएको हो ।

सपथ ७ गते बिहीबार दिउँसो १ बजे हुने संघीय संसद् सचिवालयका महासचिव डा.भरतराज गौतमले जानकारी गराए । उनका अनुसार नयाँ सांसदको शपथका लागि सचिवालयको तयारी अन्तिम चरणमा पुगेको छ ।

ज्येष्ठ सदस्यलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ ग्रहण गराएपछि अरु सांसदलाई ती ज्येष्ठ सदस्यले शपथ गराउने तयारी छ । शपथग्रहण कसले गराउने भन्नेबारे पनि संसद् सचिवालयले तयारी गरेको छ । निर्वाचन आयोगको रेकर्ड अनुसार नागरिकताका आधारमा नेकपा (माओवादी केन्द्र)बाट निर्वाचित सांसद महिन्द्रराय यादव ज्येष्ठ सदस्य हुन् । यद्यपी अहिलेसम्म कसले सपथ गराउने भन्ने बारेमा टुंगो लागिसकेको छैन् ।

२०७४ सालको प्रतिनिधिसभा सदस्यलाई महन्थ ठाकुरले शपथ ग्रहण गराएका थिए । उनीभन्दा उमेरमा बढी महिन्द्रराय यादव भए पनि बास्तविक उमेर कम रहेको भन्दै यादव शपथ ग्रहणको दिन अनुपस्थित भएपछि ठाकुरले गराएका थिए ।

शपथ गराउने तीन दिन अघि नै सोमबार संघीय संसद् सचिवालयले सूचना पनि जारी गरेको छ । प्रतिनिधिसभा नियमावलीको व्यवस्थाअनुसार कुनै सांसदले मातृभाषामा शपथ लिने भए तीन दिन अगावै सूचना दिनुपर्ने कानूनी व्यवस्था छ । त्यसैले सपथको मिति आज सार्वजनिक भएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले पुस १० गतेभित्र सरकार आह्वान गरेको अवस्थामा त्यस पहिले नै सांसदको शपथ हुन लागेको संघीय संसद सचिवालयले जनाएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर