दुर्घटनामा गम्भीर घाइते भएका लिखु तामाकोशीका वडा सदस्य सुनुवारको निधन – Nepal Press

दुर्घटनामा गम्भीर घाइते भएका लिखु तामाकोशीका वडा सदस्य सुनुवारको निधन

रामेछाप । आफैंले चलाएको बोलेरो जीप दुर्घटनामा परी गम्भीर घाइते भएका लिखु तामाकोशी गाउँपालिका वडा नम्बर १ का निर्वाचित सदस्य विमल सुनुवारको छाउनीस्थित सैनिक अस्पतालमा उपचारका क्रममा निधन भएको छ ।

गत शनिवार उमाकुण्ड गाउँपालिका भुजीमा आयोजित फुटबल प्रतियोगिता हेर्नका लागि दुरागाउँको होपिनाबाट जाने क्रममा उनले चलाएको बोलेरो भुजीको एकराते भन्ने स्थानमा दुर्घटना भएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका वडा सदस्य सुनुवारसहित केही घाइतेलाई तत्कालै नेकपा एमालेका युवा नेता रामकाजी कार्कीले हेलिकोप्टर पठाएर उद्दार गरी अस्पताल भर्ना गरिएको थियो ।

वडा सदस्य सुनुवारको उपचाकार क्रममा आइतवार राती निधन भएको सोही वडाका वडाध्यक्ष प्रदिप तामाङले जानकारी दिए । सोमवार विहान पशुपति आर्यघाटमा दाहसंस्कार गर्न लाग्दा पोस्टमार्टम नगरी नमिल्ने भन्दै प्रहरीले हस्तक्षेप गरेपछि पोस्टमार्टम गरेर सोमवार साँझमात्र दाहसंस्कार गरिएको छ ।

एमालेबाट निर्वाचित ३९ वर्षीय वडा सदस्य सुनवारका श्रीमती र एक छोरा छन् । सोही दुर्घटनामा परी घाइते भएकाहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा विमला सनुवार,राजकुमार थापा,सृष्टि सुनुवार,नरशे खड्का र मनिता खड्कालगायत घाइते भएका थिए ।

यसैबीच लिखु तामाकोशी गाउँपालिकाले वडा सदस्य सुनुवारको निधनमा शोक व्यक्त गर्दै पुस ५ गते गाउँपालिका अन्तर्गतका सम्पूर्ण कार्यालयहरुबाट सेवा प्रवाह स्थगित गरिएको जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *