संघमा सरकार गठनको समय सीमा सुरु, प्रदेशमा छैन सुरसार – Nepal Press

संघमा सरकार गठनको समय सीमा सुरु, प्रदेशमा छैन सुरसार

कैलाली । अघिल्लो पटक संघीय सरकारमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र सुदूरपश्चिम प्रदेश सरकारमा माओवादी केन्द्रका त्रिलोचन भट्ट एकै दिन नियुक्त भएका थिए ।

२०७४ फागुन ३ गते प्रधानमन्त्रीमा ओली नियुक्त हुँदा सुदूरपश्चिमको मुख्यमन्त्रीमा त्रिलोचन भट्ट नियुक्त भएका थिए । दुवै संविधानको धारा ७६ को उपधारा २ बमोजिम नियुक्त भए ।

पाँच वर्ष पछि राष्ट्रपति विद्यादेवी भण्डारीले पुन नयाँ सरकार गठनका लागि सङ्घमा एक सातको समय निर्धारण गरेर सरकार गठन प्रक्रिया प्रारम्भ गरेकी छन् । हिजो भण्डारीले संविधानको धारा ७६ (२) अनुसार सरकार गठन गर्न ७ दिनको समय दिएकी हुन् ।

संविधानको उक्त व्यवस्था अनुसार प्रतिनिधिसभामा दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत जुटाउन सक्ने प्रतिनिधिसभा सदस्यले प्रधानमन्त्री दाबी गर्न सक्ने छ ।

केन्द्रीय सरकार गठनको समय सीमा प्रारम्भ हुँदा प्रदेश सरकार गठन प्रक्रिया भने अझै सुरु हुन सकेको छैन । प्रदेश प्रमुख कार्यालय स्रोतका अनुसार भोलिबाट प्रदेश प्रमुखले यस विषयमा छलफल सुरु गर्ने तयारी गरिरहेका छन् ।

‘यस विषयमा भोलिबाट छलफल सुरु हुन्छ’ प्रदेश प्रमुख स्रोतले भन्यो ‘भोलि बिहान सचिव ज्यूहरूसँग बसेर नयाँ सरकारका विषयमा प्रक्रिया अघि बढ्छ ।’

भोलि बिहान प्रदेश प्रमुख देवराज जोशीले आवश्यक छलफल सुरु गर्ने छन् । त्यसपछि प्रदेश सरकार गठनका विषयमा अन्य प्रक्रियाहरू अघि बढ्ने जनाइएको छ ।

सुदूरपश्चिम प्रदेशमा सरकार गठनका लागि २७ जना सांसद आवश्यक पर्छ । कुनै एक दलको बहुमत नहुँदा अब केही दिनमै प्रदेश प्रमुखले ७६ (२) अनुसार सरकार गठन गर्न दलहरूलाई आह्वान गर्ने छन् ।

यहाँ सत्ता गठबन्धनको सहज बहुमत छ । ५३ जना प्रदेश सभा सदस्य रहने सुदूरपश्चिम प्रदेशमा कांग्रेसका १९, माओवादी केन्द्रका ११, नेकपा एमालेका १०, नागरिक उन्मुक्तिका ७, नेकपा एकीकृत समाजवादीका ४, राप्रपाका १ र स्वतन्त्र एक जना सांसद छन् ।

सत्ता गठबन्धनको सरकार बन्ने अवस्थामा यहाँ सहज बहुमत पुग्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर