मेलम्चीको सुरुङस्थल सुन्दरीजलमा सन्तनेता भट्टराईको सालिक अनावरण – Nepal Press

मेलम्चीको सुरुङस्थल सुन्दरीजलमा सन्तनेता भट्टराईको सालिक अनावरण

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार सुन्दरीजलस्थित मेलम्ची खानेपानी आयोजनाको सुरुङ भएको स्थलमा नेपाली कांग्रेसका पूर्वसभापति, मेलम्ची खानेपानीका योजनाकार पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको पूर्णकदको सालिक आनवरण गरेका छन् । भट्टराई प्रधानमन्त्री भएका वेला उनले काठमाडौंको खानेपानी समस्या समाधान गर्न मेलम्चीको पानी ल्याउने बताएका थिए ।

उनै भट्टराईको सालिक अनावरण गर्दै प्रधानमन्त्री देउवाले खानेपानी समस्याको दीर्घकालीन समाधानलाई सरकारले प्राथमिकतामा राखेको बताए । उनले २०७७ सालमै मेलम्चीको पानी काठमाडौं उपत्यकामा वितरण सुरु भएकोमा १ असार २०७८ को बाढीले पुर्‍याएको क्षतिका कारण बन्द भएको पानी वितरण पुनः सुरु भएको र अब काठमाडौं उपत्यकावासीलाई सधैं पानी वितरण गर्न सक्ने गरी आवश्यक तयारी गरिने जानकारी दिए ।

प्रधानमन्त्री देउवाले काठमाडौंबासीलाई मेलम्चीको पानी खुवाउने सन्त नेता भट्टराईको सपना पूरा भएकोमा आफूलाई अत्यन्त खुशी लागेको बताए ।

खानेपानीमन्त्री उमाकान्त चौधरीले दीर्घकालीन रुपमा समस्या समाधान नहुँदासम्म अस्थायी संरचनाबाटै पानी वितरण गर्ने योजना बनाएको उल्लेख गरे । खानेपानी मानव जीवनका लागि अपरिहार्य आवश्यकता भएको विषयलाई ध्यानमा राखेर मेलम्चीसहित अन्य विकल्प र स्रोतहरूको समेत अध्ययन भइरहेको चौधरीले जानकारी दिए ।

कार्यक्रममा सांसद मोहनबहादुर बस्नेत र सन्तोष चालिसे, कृष्णप्रसाद भट्टराई अध्ययन प्रतिष्ठानका सल्लाहकार दीपकुमार उपाध्याय, गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक रिसालले चौबीसै घण्टा उपत्यकाबसीलाई स्वच्छ र पिउनयोग्य पानी वितरण गर्न सक्ने गरी व्यवस्था गर्न मेलम्ची आयोजनाका कारण प्रभावित स्थानीयको समस्या समाधानमा ध्यान दिन आग्रह गरे ।


प्रतिक्रिया

One thought on “मेलम्चीको सुरुङस्थल सुन्दरीजलमा सन्तनेता भट्टराईको सालिक अनावरण

  1. प्रोजैक्ट लम्ब्याएर, ठेकेदारहरुसंग अभुतपूर्व कमिसन असुलेर रेकर्ड कायम गरेका देउवा दाईको पनि “ऱ्यार” चुहाईरहेको एउटा शालिक पनि थप्नैपर्छ नत्र दाई माथि अन्याय हुन्च!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर