ज्ञानेन्द्रलाल प्रधान र गुरु न्यौपानेलाई कारबाही गर्न हुने भयो थप अनुसन्धान – Nepal Press

ज्ञानेन्द्रलाल प्रधान र गुरु न्यौपानेलाई कारबाही गर्न हुने भयो थप अनुसन्धान

काठमाडौं । इन्साइडर ट्रेडिङ र अवैध शेयर खरिदबिक्रीको आरोप लागेका नेपाल हाइड्रो डेभलोपरका तत्कालीन अध्यक्ष ज्ञानेन्द्रलाल प्रधान र रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका अध्यक्ष गुरु न्यौपानेलाई कारबाही गर्न थप अनुसन्धान हुने भएको छ ।

नेपाल धितोपत्र बोर्ड सञ्चालक समितिको बैठकले प्रधान र न्यौपानेलाई कारबाही गर्नुअघि अनुसन्धान गर्न ४ सदस्यीय छुट्टाछुट्टै कमिटी गठन गरेको छ । प्रधानको केश अध्ययन गर्न बोर्डका कार्यकारी निर्देशक मुक्ति श्रेष्ठ र न्यौपानेको केश अध्ययन गर्न अर्का कार्यकारी निर्देशक डा. नवराज अधिकारीलाई नियुक्त गरिएको छ ।

कार्यकारी निर्देशकहरु श्रेष्ठ र अधिकारीलाई महाशाखाका प्रमुख (३÷३ जना) ले अनुसन्धानमा सघाउनेछन् । अनुसन्धान कमिटीले श्रेष्ठ र अधिकारीलाई व्यक्तिगत कम्प्युटर तथा डिभाइस सिज गरेर अनुसन्धान गर्ने अधिकार दिएको छ । अनुसन्धान टोलीले प्रधान र न्यौपानेको डकुमेन्ट चेक गर्ने, बैंकको सबै खाता हेर्ने, फोनको रेकर्ड मगाउने तथा बयानसमेत लिनेछ ।

बोर्डले यी सबै काम सकेर ४५ दिनभित्र अध्ययन प्रतिवेदन बुझाउन निर्देशन दिएको धितोपत्र बोर्ड स्रोतले जानकारी दिएको छ । बोर्डले तीन दिनअघि कारबाही गर्नु नपर्ने कारणसहित पत्र काटेको थियो । तर, आइतबार मध्यान्हसम्म प्रधान र न्यौपाने दुबै जना स्पष्टीकरण सोधिएको पत्र बुझ्न गएका छैनन् । उनीहरुले बोर्डले पत्र काटेको १५ दिनभित्र स्पष्टीकरण पेश गर्नुपर्नेछ । बोर्ड स्रोतका अनुसार उनीहरुको प्रतिवेदनले चित्तबुझ्दो जवाफ आउने सम्भावना अत्यन्तै न्यून छ ।

प्रधानलाई नेपाल हाइड्रो डेभलपरमा अध्यक्ष भएको वेला कानूनविपरीत परिवारका सदस्यको नाममा रहेको शेयर बिक्री गरेको आरोप छ । प्रधानले कम्पनीको अध्यक्ष भएको वेला श्रीमती, छोरा र छोरीको नाममा रहेको ९५ हजारभन्दा बढी कित्ता शेयर ६ करोड रुपैयाँभन्दा बढीमा बिक्री गरेको भनिएको छ ।

‘प्रधानमात्र होइनन् न्यौपानेको केशमा पनि त्यही देखिएको छट्ठ, स्रोतले भन्यो, ‘न्यौपानेको पनि परिवारका ४ जना कानून विपरीत शेयर कारोबारमा मुछिएका छन् । उनीहरुलाई पनि छुट्टाछुट्टै स्पष्टिकरण सोधिएको छ ।’

न्यौपानेले रिडी हाइड्रोपावर कम्पनीमा अध्यक्ष भएको वेला कम्पनीको शेयर किनबेच गरेको भनिएको छ । स्रोत भन्छ, ‘सञ्चालक समितिमा भएको समयमा एकाघरका परिवारका सदस्यको नाममा भएको शेयर बिक्री गरेको देखिएको छ । उनीहरुलाई १० वर्ष कुनै पनि सूचीकृत संगठित संस्थाको सञ्चालक बन्न नपाउने र नगद जरिवाना गर्ने निर्णय गरेको गरिएको छ ।’

बोर्ड उनीहरुलाई कारबाही गरेर भए पनि यस्ता विकृतिमा थप सचेत गराउने पक्षमा देखिएको छ ।

दोषी ठहरिए यस्तो हुनेछ कारबाही

कुनै व्यक्तिले सार्वजनिक नभएको धितोपत्रको मूल्यमा असर पार्न सक्ने भित्री सूचना वा जानकारीहरुको आधारमा आपूmले धितोपत्र कारोबार गरेमा वा अरुलाई धितोपत्र कारोबार गर्न लगाएमा र आफूलाई थाहा भएको सूचना वा जानकारी आफ्नो कर्तव्य पालनाको सिलसिलामा बाहेक अरु कसैलाई दिएमा त्यस्तो व्यक्तिले धितोपत्रको भित्री कारोबार गरेको मानिने धितोपत्र ऐनमा उल्लेख छ ।

धितोपत्रको भित्री कारोबार (इन्साइडर ट्रेडिङ) धितोपत्र ऐन २०६३ को दफा ९१ मा उल्लेखित सो व्यवस्थाको कारबाही दफा १०१ बमोजिम भित्री कारोबार गरेमा विगोबमोजिम जरिवाना वा एक वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ ।

झूटो कारोबार गर्नेलाई, मूल्यमा उतारचढाव पार्ने र धितोपत्र बजारलाई प्रभावित गर्ने काम गरेमा पचास हजार रुपैयाँदेखि एक लाख पचास हजार रुपैयाँसम्म जरिवाना वा एक वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ । यदि त्यस्तो काम कारबाहीबाट कसैलाई हानि-नोक्सानी पर्न गएको रहेछ भने त्यस्तो हानि-नोक्सानीसमेत भराइदिनु पर्नेछ ।

यस्तै झुक्याउने विवरणहरु दिने, जालसाजीयुक्त कारोबार, जालसाज गरी धितापत्र कारोबार गरे, लिखत, विवरण वा अभिलेख नष्ट गरेमा वा लुकाएमा एक लाख रुपैयाँदेखि तीन लाख रुपैयाँसम्म जरिवाना वा दुई वर्षसम्म कैद वा दुवै सजाय हुनेछ । र, त्यस्तो कारोबारबाट कसैलाई हानि-नोक्सानी भएको रहेछ भने त्यस्तो हानि-नोक्सानीसमेत भराइदिनु पर्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर