मधेस प्रदेशमा ७८९ उम्मेदवारको धरौटी जफत – Nepal Press

मधेस प्रदेशमा ७८९ उम्मेदवारको धरौटी जफत

जनकपुरधाम । मंसिर ४ गते भएको संसदीय निर्वाचनमा मधेश प्रदेशमा २६ राजनीतिक दलका ७८९ उम्मेदवारको धरौटी जफत भएको छ ।प्रदेशसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ७१ बमोजिम पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गतको निर्वाचनमा मतदान गरिएको जम्मा सदर मतको १० प्रतिशतभन्दा कम सदर मत पाउने उम्मेदवारको धरौटी जफत हुने व्यवस्था छ । उक्त व्यवस्था अनुसार मधेश प्रदेशका २६ दलका ७८९ उम्मेदवारको धरौटी जफत भएको हो ।

निर्वाचन आयोगले आज मधेश प्रदेशका प्रमुख हरिशंकर मिश्रलाई निर्वाचन परिणामसहितको प्रतिवेदन बुझाएको छ । लगत्तै आयोगले गरेको पत्रकार सम्मेलनमा आयुक्त सगुनशम्शेर जबराले निर्वाचनको परिणामबारे जानकारी गराए ।

उनका अनुसार धरौटी जफत हुने उम्मेदवारमा ७२४ पुरुष, ६४ महिला र १ अन्य रहेका छन् । प्रदेशसभामा समानुपातिक निर्वाचन प्रणालीतर्फ कूल सदर मतको १ दशमलव ५ प्रतिशत वा सोभन्दा बढी मत प्राप्त गर्ने दलको तर्फबाट मात्र उम्मेदवार निर्वाचित हुने व्यवस्था बमोजिम यो प्रदेशमा १० राजनीतिक दलको प्रतिनिधित्व भएको छ ।

मधेश प्रदेशसभामा ६४ प्रत्यक्ष र ४३ समानुपातिक गरी १०७ जना निर्वाचित भएका छन् । जसमध्ये ६७ जना पुरुष (६२.६१ प्रतिशत) र ४० जना महिला (३७.३९ प्रतिशत) छन् ।

मधेशमा प्रत्यक्षतर्फ २२ लाख २५ हजार ७४६ (६५.७२) मत खसेको थियो । जसमध्ये २१ लख ४० हजार २३ (९६.१५) प्रतिशत मत सदर र ८५ हजार ७२३ (३.८५ प्रतिशत) मत बद भएको छ ।

यस्तै समानुपातिकतर्फ २२ लाख ३० हजार ७०१ (६५.८७ प्रतिशत) मत खसेकोमा २० लाख ८६ हजार २९८ (९३.५३ प्रतिशत) सदर र १ लाख ४४ हजार ४०३ (६.४७) प्रतिशत मत बदर भएको छ ।

निर्वाचन अयोगले चुनावी परिणाम प्रदेश प्रमुख समक्ष बुझाएसँगै प्रदेशसभा बैठक र नयाँ सरकार गठनको बाटो खुलेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर