छैटौंपटक प्रधानमन्त्री बन्न देउवाले थाले औपचारिक पहल, सांसदलाई बालुवाटार बोलाएर के भने ? – Nepal Press

छैटौंपटक प्रधानमन्त्री बन्न देउवाले थाले औपचारिक पहल, सांसदलाई बालुवाटार बोलाएर के भने ?

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले छैटौँ पटक प्रधानमन्त्री बन्न पहल थालेका छन्। कांग्रेसबाट निर्वाचित सांसदहरूलाई बालुवाटार बोलाएर प्रधानमन्त्री बन्न पहल थालेका हुन्।

देउवाले बोलाएको सांसदहरूको भेलापछि कांग्रेस संसदीय दलमा को लड्ने भन्ने नितान्त कांग्रेस भित्रको कुरा भएको नेता डा शेखर कोइरालाले बताए । उनले पनि आन्तरिक रूपमा दलको नेताको निर्वाचनको तयारी थालेका छन्।

देउवा निकट सांसद एनपी साउद कांग्रेस नेतृत्वमा सरकार अहिलेको जनादेश भएको बताए ।

उनले भने, ‘देउवाको नेतृत्वमा गठबन्धनले बहुमत पाएको छ । मलाई विश्वास छ उहाँकै नेतृत्वमा सरकार बन्छ।’

प्रवक्ता प्रकाशशरण महतले पनि स्वभाविक रूपमा कांग्रेस ठूलो दल बनेकाले कांग्रेसको प्रधानमन्त्री बन्ने दाबी गरे।

उनले भने, ‘संसदीय दलको निर्वाचन केही दिनमै हुन्छ । अरू दलको सहयोग लिएर सरकार बनाउने भएकाले एकताको सन्देश दिन पनि सर्वसम्मत नेता चयनको प्रयास हुन्छ । प्रचण्डजीले पनि प्रधानमन्त्री दाबी गर्नुभएको छ । यसलाई पनि हामी स्वभाविक लिन्छौ । तर,सबै रूपमा कांग्रेसको नेतृत्व उपयुक्त हुन्छ ।’

प्रचण्डले प्रधानमन्त्रीको दाबी गरेपनि कांग्रेस नेतृत्वमा सरकार बनाउनु उपयुक्त हुने उनको भनाइ छ।

सरकार प्रवक्ता समेत रहेका मन्त्री ज्ञानेन्द्र कार्कीले संसद्मा सबैलाई प्रभावकारी भूमिका निभाउन आग्रह गरे।

उनले भने, ‘अरू कुरा गठबन्धनको छलफलबाट टुंगो लाग्छ।सत्ता गठबन्धनलाई जनताले अनुमोदन गरेका छन् । गठबन्धनको नेतृत्वमा सरकार बन्छ । संसदीय दलको नेता छिट्टै चुन्ने प्रक्रिया सुरु हुन्छ । संसदीय दलको नेता चयन नभई प्रधानमन्त्री बन्न सक्ने सम्भावनालाई पनि नकार्न सकिन्न ।’

बालुवाटार भेलाबाट फर्किएका अर्का सांसद राजेन्द्र बजगाईँले कांग्रेसका सांसदहरूको भूमिकालाई राष्ट्रिय अन्तर्राष्ट्रियस्तरबाट पनि महत्वका साथ हेरिने भएकाले सबैले पार्टी र लोकतन्त्रको पक्षमा आफूलाई सबल रूपमा तयार पार्न आग्रह गरेको बताए ।

गठबन्धनको नेतृत्व गरेर निर्वाचनमा होमिएको कांग्रेसले प्रत्यक्षमा ५७ सीट जितेर पहिलो दल बन्न सफल भएको छ। नयाँ सरकार गठनमा दलहरू जुटेको बेलामा कांग्रेस केन्द्रीय सदस्यहरूले सरकारको नेतृत्व लिनुपर्ने दबाब दिइरहेका छन्।

तर, गठबन्धनको दोस्रो ठुलो घटक नेकपा माओवादी केन्द्रले आलोपालो सहमतिमा पहिला पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउनुपर्ने अडान कसेका छन्। आज मात्रै बालुवाटार पुगेर प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन सहयोग गर्न आग्रह गरिसकेका छन्।

चुनावअघि सरकारको नेतृत्व गरेका प्रधानमन्त्री देउवा पावर शेयरिङमा सकारात्मक बनेका छन्। तर, संस्थापन इतर पक्ष प्रधानमन्त्री छाड्न तयार छैन।

इतर समूहबाट महामन्त्री गगन थापाले आक्रामक रूपमा संसदीय दलको नेता चुनिन तयारी थालिसकेका छन्। उनी मात्रै नभएर सोही खेमाबाट डा. शेखर कोइरालाले पनि संसदीय दलको निर्वाचनको आन्तरिक तयारी थालेका छन्। उनीहरूसहित वरिष्ठ नेता रामचन्द्र पौडेल खुलेर लागिरहेका छन्।

तर, देउवा आफैले संसदीय दलको निर्वाचनको तयारी थालेको अरूको सम्भावना कम छ। निर्वाचनबाट चुनाव जितेर आएका सांसदहरूमा देउवा स्पष्ट बहुमतमा छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर