विश्वकप तेस्रो स्थानका लागि भिडन्त : दर्शकका लागि निरस, प्रतिस्पर्धिका लागि भने किन अर्थपूर्ण ? – Nepal Press

विश्वकप तेस्रो स्थानका लागि भिडन्त : दर्शकका लागि निरस, प्रतिस्पर्धिका लागि भने किन अर्थपूर्ण ?

काठमाडौं । विश्वकपले तेस्रो स्थानको निर्णय गर्नका लागि सेमिफाइनलमा पराजित हुने दुई टिम बीचको खेल राख्ने गरेको छ । तर, यो खेल समग्र विश्वकपमा निरस हुने गरेको छ । तेस्रो स्थानको खेलका लागि समर्थकहरू पनि त्यत्ति उत्साहित हुँदैनन् ।

कतारमा जारी फिफा विश्वकप २०२२ मा पनि तेस्रो स्थानका लागि आज मोरक्को र क्रोएसियाबीच प्रतिस्पर्धा हुँदैछ । एक दिन पछि हुने फ्रान्स र अर्जेन्टिनाबीचको फाइनल खेलका लागि सम्पूर्ण विश्व नै उत्साहित भइरहँदा तेस्रो स्थानको खेलले त्यति चर्चा पाएको छैन ।

तर, क्रोएसिया र मोरक्कोका लागि शनिवार राती नेपाली समय अनुसार ८ः४५ बजे किक–अफ हुने यस खेलले ठूलो महत्त्व राख्दछ । यी दुवै टिमले अरूले के सोच्छन् भन्ने कुराको कुनै प्रवाह गरेका पनि छैनन् ।

जारी विश्वकपको ‘अन्डर डग’ मोरक्कोको फाइनल यात्रामा साबिक विजेता फ्रान्स बाधक बनेको थियो । सेमिफाइनलमा फ्रान्ससँग २–० गोलको नतिजामा पराजित मोरक्कोले क्रोएसिया सँग पराजित भएपनि यसअघि नै इतिहास रचिसकेको छ ।

समूह चरणदेखि विपक्षी टिमको एक गोल पनि नखाई अन्तिम चारमा पुगेको मोरक्कोले सेमिफाइनल पुग्ने पहिलो अफ्रिकन टिम बन्दै नयाँ इतिहास रच्यो । यदि आजको खेलमा क्रोएसियालाई हराउन सके विश्वकपको कांस्य पदक जित्ने पहिलो अफ्रिकन राष्ट्रका रूपमा मोरक्को स्थापित हुनेछ ।

यस्तै, लगातार दोस्रो पटक फाइनल पुग्ने क्रोएसियाको विश्वकप यात्रामा अर्जेन्टिना बाधक बन्यो । सन् २०१८ को विश्वकपको उपविजेता क्रोएसियाले मोरक्कोलाई आजको खेलमा पराजित गर्न सके तेस्रो स्थानमा चित्त बुझाउने छ ।

यसअघि समूह चरणको खेलमा आमनेसामने हुँदा क्रोएसिया र मोरक्कोले गोलरहित बराबरी खेलेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *