मध्य मर्स्याङ्दीमा विद्युत् उत्पादन घट्दै – Nepal Press

मध्य मर्स्याङ्दीमा विद्युत् उत्पादन घट्दै

लमजुङ । जिल्लामा रहेको मध्य मर्स्याङ्दी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन घट्न थालेको छ । आयोजनामा आवश्यक पानी कम हुँदै गएपछि विद्युत् उत्पादन घट्न थालेको हो ।

बेँसीसहर नगरपालिका–१ दलालस्थित ७० मेगावाट क्षमताको मध्य मर्स्याङ्दी जलविद्युत् केन्द्रमा कूल क्षमताभन्दा करिब २१/२२ मेगावाट नै विद्युत् उत्पादन घटेको छ ।

मर्स्याङ्दी नदीमा पानी कम हुन थालेसँगै आयोजनाको विद्युत् घट्दा यतिबेला दैनिक ४८/४९ मेगावाटको हाराहारीमा बिजुली उत्पादन भइरहेको केन्द्र प्रमुख पवन बस्नेतले बताए ।

उनले भने, ‘एक महिनाअघि सम्म नदीको पानी बढी भएर खेर जान्थ्यो तर अहिले सबै पानी प्रयोग गरे पनि उत्पादन घटिरहेको छ ।’

अझै दुई महिनासम्म निरन्तर बिजुली उत्पादन घट्दै जाने उनको भनाइ छ । यहाँ आयोजना ३५/३५ मेगावाट क्षमताको दुई वटा टर्बाइन गरी ७० मेगावाट क्षमताको आयोजना हो ।

आगामी फागुन महिनाको अन्तिमसम्म पुग्दा विद्युत् उत्पादन निकै कम हुने उक्त आयोजनाले जनाएको छ ।

विगतको वर्षहरूमा विद्युत् उत्पादन घटेर २६ मेगावाटसम्म पुग्ने गरेको थियो ।

सन् २००० मा निर्माण कार्य सुरु भई सन् २००८ मा निर्माण कार्य सम्पन्न भए लगत्तै आयोजनाबाट विद्युत् उत्पादन थालेको थियो । रु २७ अर्ब २० करोड लागतमा आयोजना निर्माण भएको थियो ।

यसबाहेक जिल्लामा विद्युत् उत्पादन थालेका करिब आधा दर्जन आयोजनाहरूमा समेत बिजुली उत्पादन घट्ने क्रममा रहेको छ ।

मर्स्याङ्दी गाउँपालिकास्थित भुलभुलेमा रहेको ५० मेगावाट क्षमताको माथिल्लो मर्स्याङ्दी ‘ए’ जलविद्युत् आयोजनाको विद्युत् उत्पादन पनि अब भने घट्ने क्रममा रहेको आयोजनाले जनाएको छ ।

त्यस्तै, २७ मेगावाट क्षमताको दोर्दी जलविद्युत् आयोजना, २५ मेगावाट क्षमताको माथिल्लो दोर्दी ‘ए’ आयोजना, पाँच मेगावाटको सिउरी, ४।४ मेगावाटको राँधी, तीन मेगावाटको मिदिम करापु र दुई मेगावाटको छ्याङ्दी आयोजनाबाट पनि बिजुली उत्पादन कम हुने क्रममा रहेको बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर