सञ्चालककै जग्गा धिताे राखेर सामुदायिक क्याम्पसकाे पूर्वाधार तयार, निजीभन्दा अब्बल – Nepal Press

सञ्चालककै जग्गा धिताे राखेर सामुदायिक क्याम्पसकाे पूर्वाधार तयार, निजीभन्दा अब्बल

विद्यार्थीको थेगिनसक्नु चाप

रुपन्देही । २०७० सालसम्म कक्षा १२ उत्तीर्ण गरेपछि बुटवलको कालिका मानवज्ञान माविका विद्यार्थीलाई सर्वसुलभ शुल्कमा गुणस्तरीय उच्च शिक्षा कहाँ पढ्ने भन्ने पिरलो हुन्थ्यो । विद्यालय तहमा करिब ८ हजार विद्यार्थीले अध्ययन गर्ने कालिका माविमा उच्च शिक्षा नहुँदा धेरैलाई अफ्ठेरो परेको थियो ।

कालिका स्कुल उत्कृष्ट नतिजा ल्याएर सामुदायिक विद्यालयमा नमुना विद्यालय भएकाले पनि यहाँ पढ्ने विद्यार्थीले उच्च शिक्षा यहीँ पढ्न चाहन्थे र अभिभावकले पनि यही पढाउन चाहन्थे । जहाँ इच्छा त्यहाँ उपाय भनेजस्तै नेपाली समाजमा प्रचलित उखानलाई व्यवहारमा लागू गर्दै यसअघि कालिका स्कुललाई नमुना बनाएका शैक्षिक अगुवाले नै विद्यार्थी तथा अभिभावकको यो चाहनालाई पूरा गर्न अघि सरेर निरन्तर अभियानका रुपमा अगाडि बढाए ।

कालिका स्कुललाई देशकै नमुना विद्यालय बनाउन नेतृत्व गरेका विद्यालयका तत्कालीन प्राचार्य घनश्याम पाठकलाई आफ्नै विद्यार्थीले घच्घचाएको एकै शब्दले क्याम्पस संचालन गर्ने हिम्मत पलाएको पाठकले स्मरण गर्छन् ।

विद्यालयलाई नमुना बनाएका पाठकलाई कालिकाबाट १२ कक्षा उत्तीर्ण विद्यार्थीहरु र उनका अभिभावकले उच्च शिक्षा पनि कालिकामै भइदिए हुन्थ्यो भन्ने आशा राखेर सुनाए पनि व्यवस्थापन कसरी गर्नेहोला भनेर सोचिरहेका हुन्थे । एकदिन तिनै मध्येकी एक विवाहित छात्रा प्रतिमा बस्यालले प्राचार्य पाठकसँग भनिन्–‘हामीलाई कालिका छाड्दा माइती घर छाडेजस्तै हुन्छ, कालिकाले बीबीएसको पढाई पनि सुरु गर्नुहुन्थ्यो नभए त यसै छाड्नुपर्ने भयो ।’

प्रतिमाको यो आग्रहले घनश्यामको मन छोयो र लगत्तै उच्च शिक्षाका कक्षाहरु सुरु गर्ने पहल थाले । विद्यार्थीको चाहनालाई मध्यनजर गरेर २०७० मा कालिका माविका शिक्षक र शिक्षाप्रेमीहरुकै अग्रसरतामा बुटवल कालिका क्याम्पस स्थापना भएको हो ।

सुरुमा ३५ जना विद्यार्थीबाट बीबीएस पढाईबाट हुने क्याम्पसमा नयाँ नयाँ विषयको पनि माग हुन थाल्यो । फलस्वरुप २०७५ मा ब्याचलर अफ कम्प्युटर एप्लीकेसन (बीसीए) को पढाई सुरु भयो । विद्यालयको जस्तै चुस्त व्यवस्थापन, दक्ष शिक्षकबाट प्रयोगात्मक र विद्यार्थी केन्द्रीत सिकाई पद्दतिले बीसीएतर्फ क्याम्पसले पहिलो ब्याचमै शतप्रतिशत (३५ जना) विद्यार्थी उत्तीर्ण गराएर नेपाल प्रथम भएपछि घनश्यामको शाहसले थप चर्चा पायो ।

त्यसो त क्याम्पस दर्ता गर्ने समयमा कालिका क्याम्पस अन्तै कतै दर्ता भएकाले बुटवल कालिका क्याम्पसको नाममा यो सामुदायिक क्याम्पस दर्ता भएको स्मरण गर्छन् पाठक । कालिकाको शैक्षिक विकासको पर्यायवाची बनेका पाठकले विद्यालयको जिम्मेवारी छाडेपछि कलेजको जिम्मेवारी बोकेका हुन् ।

पहिलो ब्याचमै उत्कृष्ट नतिजा देखेपछि क्याम्पसमा रुपन्देही मात्र होइन लुम्बिनी र छिमेकी प्रदेशका जिल्लाबाट समेत विद्यार्थीहरुको आकर्षण र चाप बढ्न थाल्यो ।

२०७७ सम्म विद्यालयकै कक्षा कोठा भाडामा लिएर चल्दै आएको क्याम्पसलाई आफ्नै जग्गामा पूर्वाधारको अभाव खड्कियो । जग्गा र पूर्वाधार कसरी बनाउने भन्ने पिरलोमा रहेको क्याम्पसका लागि रुपन्देही २ का सांसद एवम् तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले बुटवल रामनगरमा १० कठ्ठा सार्वजनिक जग्गा प्राप्तिमा सहयोग गरेपछि यसले अहिले पूर्णता पाउँदै गएको छ ।

‘जग्गा प्राप्तिमा पूर्वअर्थमन्त्री विष्णु पौडेलको ठूलो सपोर्ट भयो’–बुटवल कालिका क्याम्पसका प्रमुख घनश्याम पाठकले कजेलको अहिलेको प्रगति सुनाउँदै भने–‘जग्गा प्राप्तिपछि भवन निर्माणका लागि पनि पौडेलले ६ करोड रुपैयाँ बजेट तत्कालीन अवस्थामा व्यवस्थापन गरिदिएपछि क्याम्पसको आफ्नै भवन बनाउन सहज भएर अहिले यो अवस्थामा आएका हौं ।’

त्यसो त भवन निर्माणका लागि सरकारबाट आएको बजेट मात्र पूर्वाधार बनाउन पर्याप्त थिएन । क्याम्पस प्रमुख पाठक भन्छन्– ‘म आफै यसमा अगाडि नसरे अरुलाई बाध्यता पनि हुँदैन त्यसैले आफ्नै जग्गा धितो राखेर २ करोड कर्जा निकाले निर्माणको काम थालेपछि सबैलाई सहयोग गर्न सहज भयो र अहिलेको अवस्थामा आइपुगेको हो ।’

क्याम्पस सञ्चालक समिति अध्यक्ष अर्जुनमान सैंजूले भने ‘आफैबाट सुरु नगरी अरुलाई सहयोग माग्न मिलेन, त्यसैले क्याम्पस प्रमुख र सञ्चालक समेतको जग्गा धितो राखेर २ करोड कर्जा लिएर भवन बनाउन थालेका थियौंं, हाम्रो लगाव देखेर सरकारी निकायबाट पनि सहयोग पाउन सजिलो भयो ।’

सामुदायिक भएकाले क्याम्पसको नियमित आयस्रोत नहुनु चुनौती रहेको क्याम्पस सञ्चालक समिति अध्यक्ष सैंजूले बताए ।
हालसम्म १५ करोड बढी लगानी भइसकेको बुटवल कालिका क्याम्पसमा ५२ वटा कक्षा कोठा, ८ वटा प्रयोगशाला, एक हजार जना क्षमताको सभा हल, दुई वटा सेमिनार हल, गेष्ट हाउस र क्यान्टिनसहितका पूर्वाधारहरु बनेका छन् । भौतिक पूर्वाधारवाहेक क्याम्पसमा ८२ लाखका फर्निचर, ७३ लाखका कम्प्युटर र ल्याब, ६५ लाखका २ वटा विद्यार्थी बोक्ने बस तथा करिब २० लाख रुपैयाँका पुस्तक र खेलकुद सामग्री रहेको क्याम्पसले जनाएको छ ।

बीसीएमा २०७५ र २०७९ गरी दुई पटक शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराएको क्याम्पसका छात्र मनिराज गौतमले २०७८ सालको बीसीएतर्फ ३.९५ जीपीए प्राप्त गरी नेपाल प्रथम भएको क्याम्पस प्रशासनले जनाएको छ । ‘९ वर्षको छोटो अवधिमा पूर्वाधार र गुणस्तरमा उत्कृष्ट भई इतिहास रचेका छौं’–अध्यापक दामोदर घिमिरेले भने ।

क्याम्पस संचालनका लागि १० कठ्ठा जग्गा लिने विषयमा पनि सुरुवातमा स्थानीयले केही समय अवरोध गरेका थिए भने कालिका क्याम्पस खुलेपछि बुटवल बहुमुखी क्याम्पसमा विद्यार्थी आउँदैनन् भनेर मुद्दा हालेर रोक्ने प्रयास पनि भएको तर विद्यार्थी र अभिभावकको साथले त्यो प्रयास असफल भएको थियो ।

मासिक शुल्क १२ सय मात्र भएकाले क्याम्पसमा विद्यार्थीको चाप मागभन्दा बढी छ । बीसीएसको ३५ सिटका लागि ३०० जनासम्मले आवेदन दिने गरेका बीसीए कोअर्डिनेटर आशिष न्यौपानेले बताए ।भौतिक पूर्वाधार पर्याप्त भइसकेपछि अब क्याम्पस विश्वविद्यालय अनुदान आयोग अन्तर्गतको क्युएए प्राप्ति प्रकृया पूरा गर्ने क्रममा रहेको र छिट्टै बीएसस्सी अन्तर्गत सीएसआईटी, बीबीए र एमबीएस पनि पढाउने तयारी गरेको क्याम्पस प्रमुख पाठकले बताए ।

‘हामी कान्छो सामुदायिक क्याम्पस हौं,तर धेरै पुरानालाई पछि पार्दै गुणस्तरीय शिक्षामा नमुना परीणाम दिन सकेका छौं, कमाण्ड,कन्ट्रोल र कम्युनिकेसन (थ्रीसी) को फर्मुलाबाट अघि बढेकाले हाम्रा विद्यार्थी अनुशासित र ९५ प्रतिशत रोजगार छन् ।’ पाठकले भने ।

अहिले क्याम्पसमा ५ करोड लागतमा प्रदेशस्तरको लाइब्रेरी र रिसर्च सेन्टर पनि बन्दै छ । यो सञ्चालनमा आएपछि अध्ययनकर्ता र शोधकर्ताहरु काठमाडौं धाउनुपर्ने वाध्यताको अन्त्य हुनेछ । ३५ जना विद्यार्थीबाट सुरु भएकोमा अहिले क्याम्पसमा २९ सयभन्दा धेरै विद्यार्थी अध्ययनरत छन् ।

पूर्वअर्थमन्त्री विष्णु पौडेलले बुटवल कालिका क्याम्पस छोटो समयमै जीवन उपयोगी र रोजगारमूलक उच्च शिक्षामा देशकै उत्कृष्ट शैक्षिक संस्था बनेकाले यसको विकासका लागि आफूले समय दिन पाएको गर्व लाग्ने बताए । सरकारी र सामुदायिक क्याम्पसमा विद्यार्थी आकर्षण घटेका बेला बुटवल कालिकाबाट अरु सरकारी र सामुदायिक क्याम्पसले सिक्न जरुरी रहेको उनको भनाइ छ ।

केही दिनअघि पौडेलले यहाँका विद्यार्थीलाई उत्साह थप्न कलेजको वार्षिकउत्सवको पूरै समय बसेर विद्यार्थीहरुसँगै खाना र खाजा खाएर सुझाव लिएका थिए ।

क्याम्पसमा बीबीएस र बीसीएतर्फ ५० जना र बीएडतर्फ १३ जना गरी ६३ जना प्राध्यापक र १२ जना अन्यसहित ७५ जना कर्मचारी रहेका छन् । क्याम्पस प्रमुख पाठकका अनुसार निजी क्याम्पसहरुले सम्बन्धन लिएर चलाउन नसकेका पाठ्यक्रमसमेत यो क्याम्पसले जिम्मा लिएर चलाएर नमुना नतिजा दिएकाले पनि विद्यार्थी तथा अभिभावकको थप रोजाईमा परेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर