पंकजलाई छुटाउन नेहाका ससुराले अदालतमा हाले मुद्दा – Nepal Press

पंकजलाई छुटाउन नेहाका ससुराले अदालतमा हाले मुद्दा

जनकपुरधाम । दाइजोको निहुँमा घरबाट निकालिएकी नेहा चौधरीका ससुरा रामप्रेश चौधरी छोरा डा. पंकज चाैधरीलाई छुटाउन अदालत पुगेका छन् ।

रामप्रवेशले बिहीबार उच्च अदालत जनकपुरमा छोरा पंकजलाई छुटाउन बन्दी प्रत्यक्षीकरण मुद्दा दर्ता गराएका हुन् ।

घरेलु हिंसा गरेको आरोपमा नेहाले जिल्ला अदालत महोत्तरीमा दर्ता गराएको मुद्दामा उनका श्रीमान् पंकज पक्राउ परेका हुन् ।

पंकजलाई तीन दिनअगाडि महोत्तरी प्रहरीले नियन्त्रणमा लिएको थियो । अहिले जिल्ला प्रहरी कार्यालयमा राखेर उनीमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ ।

नेहाले भने श्रीमान् पंकज, ससुरा रामप्रवेश र सासुसहित उनका परिवारका ६ जनामाथि घरेलु हिंसा र दाइजो विरुद्धको मुद्दा दर्ता गराएकी हुन् । पंकज पक्राउ परे पनि ससुरा, सासू सहित अन्य सबै फरार छन् । तर फरार रहेकै अवस्थामा रामप्रवेशले छोरालाई छुटाउन अदालत पुगेर बन्दी प्रत्यक्षीकरण मुद्दा दर्ता गराए ।

नेहा भने ससुरा, सासुसहित दाइजोको निहुँमा यातना दिने सबैलाई पक्राउ गर्नुपर्ने माग गर्दै दुई दिनदेखि आन्दोलनरत थिइन् ।

आन्दोलनका क्रममा सवारी साधन तोडफोड गरेको आरोपमा नेहा र उनकी सहयोगी कुमारी आमा निहारिकालाई पनि प्रहरीले बिहीबार नियन्त्रणमा लियो । अहिले उनीहरू पनि प्रहरी हिरासतमै छन् ।

औरही नगरपालिका १ की नेहा र रामगोपालपुर ५ का डा. पंकजबीच गत फागुनमा विवाह भएको थियो ।

नेहाका परिवारले दाइजोमा ५१ लाख नगद र सुनचाँदी गरी करोडौँ दाइजो दिएको थियो ।

तर दाइजो कम भएको भनेर नेहालाई यातना दिएपछि यो घटना उग्र रूप लिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर