चालू पुँजी कर्जा एक महिनालाई रोकियो – Nepal Press

चालू पुँजी कर्जा एक महिनालाई रोकियो

काठमाडौ । पुस महिनामा चालू पुँजी कर्जा ठप्प हुने भएको छ । गत कात्तिक १ गतेदेखि लागु भएको चालु पुँजी कर्जा मार्गदर्शन २०७९ ले प्रत्येक त्रैमासको अन्तिम महिना चालु पुँजीको सीमा वृद्धि र पुराना ऋणीलाई नयाँ ऋण स्वीकृत गर्न नपाउने व्यवस्था गरेको छ ।

सोही व्यवस्थाअनुसार पुस एक महिना चालू पुँजी कर्जा रोकिनेछ । चालू पुँजी कर्जाका विषयमा उद्योगी व्यवसायी विरोधमै उत्रिए पनि अन्ततः केन्द्रीय बैंकले यो निर्देशन कात्तिक देखि लागु गरेको हो ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालू पुँजी कर्जा जुन प्रयोजनका लागि लिएको ऋण हो सोही प्रयोजनमा लागोस् भनेर ल्याइएकाले निकै राम्रो भएको बताउँदै आएका छन् ।

चालू पुँजी कर्जाका विषयमा व्यापक विरोध भएपछि केन्द्रीय बैंकले कार्यान्वयनमा समस्या भएको वा नभएको भन्दै सुझाव मागेको थियो । गभर्नर अधिकारीले चालु पुँजी कर्जा कहाँनेर नराम्रो भयो भनेर कसैले देखाउन नसकोको बताए ।

केन्द्रीय बैंकले चालू पुँजी कर्जा मार्गदर्शन २०७९ गत भदौ ७ गते जारी गरेको थियो । मार्गदर्शनको १०.१२ नम्बर बुँदामा भनिएको छ, ‘प्रत्येक त्रैमासको अन्तिम महिना (असोज, पुस, चैत, असार) मा चालू पुँजीको सीमा वृद्धि गर्न र पुराना ऋणीलाई नयाँ चालू पुँजी कर्जा स्वीकृत गर्न पाइने छैन ।

साथै, कर्जाको ब्याज/साँवा भुक्तानीको लागी चालू पुँजी खाता खर्च गरी असुल गर्न पाइनेछैन ।’ यही व्यवस्था अनुसार बैङ्कद्वारा प्रवाह हुने चालु पुँजी कर्जा रोकिएको हो ।

बैंक तथा वित्तीय संस्थाहरूले २ करोडसम्म कारोबार गर्ने कम्पनीलाई वार्षिक कारोबारको ४० प्रतिशतसम्म चालू पुँजी कर्जा दिन पाउने व्यवस्था छ ।

त्यसभन्दा बढीको कारोबार गर्नेले भने २५ प्रतिशत मात्र चालू पुँजी कर्जा लिन पाउने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर