गौतमवुद्ध विमानस्थलले अधिग्रहण गरेको जग्गाको मुआब्जा हत्याउन भूमाफिया र जनप्रतिनिधिबीच सेटिङ – Nepal Press

गौतमवुद्ध विमानस्थलले अधिग्रहण गरेको जग्गाको मुआब्जा हत्याउन भूमाफिया र जनप्रतिनिधिबीच सेटिङ

नक्कली नाता प्रमाणित गराएर जग्गा नामसारी

रुपन्देही । गौतमवुद्ध विमानस्थललाई आवश्यक जग्गा अधिग्रहणको क्रममा करोडौंको मुआब्जा रकम हात पार्न भूमाफिया र जनप्रतिनिधि मिलेमतो भएको रहस्य खुलेको छ । नक्कली नाता प्रमाणित गरेर करिब चार करोड रूपैयाँ हात पार्न भूमाफियाले जग्गाधनीसँग नक्कली नाता कायम गरेको र त्यसमा जनप्रतिनिधिले नै योजना बनाएको आरोप पीडित पक्षको छ ।

नवलपरासीको पाल्हीनन्दन गाउँपालिका वडा नम्बर ६ का वडाअध्यक्ष, वडा सदस्य र कर्मचारीले साथ दिएको उनीहरूको भनाइ छ ।

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर १० मा विमानस्थलले अधिग्रहण गरेको स्वर्गीय रामसरे भरको नाममा दर्ता कायम रहेको ४ कठ्ठा ४ धुर जग्गालाई भूमाफियाले नक्कली नाता प्रमाणित गराई अर्कैको नाममा नामसारी गरेका हुन् ।

जग्गाधनी स्वर्गीय रामासरेको दुईवटी श्रीमती (जेठी माल्ती भरिन र कान्छी फुलादेवी भरिन) रहेकोमा दुवैजनाको मृत्यु भइसकेको र उनीहरुबाट कुनै सन्तान नभएको मौका छोपी उक्त जग्गाको मुआब्जा हत्याउन नक्कली नाता प्रमाणित गराएर जग्गा नामसारीसमेत गरिएको छ ।

पश्चिमनवलपरासीको पाल्हीनन्दन गाउँपालिका वडानम्बर ६ की ७० वर्षीया तीर्थी भरिनलाई आर्थिक प्रलोभनमा पारेर जग्गाधनी रामासरेको भाउजू नाता कायम गराई नामसारी गरेको बताइएको छ । हाल तिर्थी र उनको परिवार भने रामग्राम नगरपालिका वडानम्बर १७ मा बस्दै आएका छन् ।

तीर्थी भरिनका छोरा राजुले स्वर्गीय रामासरे र निजको परिवारसँग आफूहरूको कुनै नाता सम्बन्ध नरहेको भन्दै वृद्ध आमालाई आर्थिक प्रलोभनमा पारेर जग्गा नामसारी गराएर मुआब्जाबापतको करोडौं रकम भूमाफियाले कुम्ल्याउन खोजेको बताए ।

‘यसमा सातजनाको संलग्नता छ, सातजनाले वृद्ध आमासँग मुआब्जा क्षतिपूर्ति निकासा हुनुभन्दा अगाडि जनही १० लाख रूपैयाँको कपाली तमसुकसमेत गराएका छन्’, उनले भने, ‘तमसुकमा उल्लेखित रकम दिनुपर्दा हामी सडकमा जानुपर्ने अवस्था आउँछ ।’

तिर्थी भरिनको परिवार ज्याला मजदूरी गरेर जीविकोपार्जन गर्दै आएका छन् ।

साबिक भुजौली गाविस वडा नम्बर ७ मा पर्ने उक्त जग्गाको हक खाने कोही नभएको र यो जग्गा कानूनबमोजिम अपुताली भई नेपाल सरकारको नाममा जानुपर्नेमा करिब चार करोड रूपैयाँ हात पर्न सेटिङ गरिएको उनको भनाइ छ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले उक्त क्षेत्रमा प्रतिधुर चार लाख ५० हजार रुपैयाँ मुआव्जा निर्धारण गरेको थियो । उक्त मूल्यअनुसार रामासरेको ००-०४-०४ धुर जग्गाको मुआब्जा रकम तीन करोड ७८ लाख रूपैयाँ हुन आउँछ ।

नाता प्रमाणित गराई जग्गा नामसारी गर्ने काममा पाल्हीनन्दन गाउँपालिका वडा नम्बर ६ का वडाअध्यक्ष कृष्णचन्द्र यादव र वडा सदस्य तथा हाल जिल्ला समन्वय समितिका उपप्रमुख रामदयाल तेली, महिला सदस्य अनिता साहनी, भूमाफिया गिरोहका पाल्हीनन्दन गाउँपालिका वडा नम्बर ६ का नाथुप्रसाद यादव, उनका छोरा अखिलेश यादव, वडानम्बर ६ कै पारस भर र रामग्राम नगरपालिका–९ बस्ने घनश्याम पाठकको समेत संलग्नता रहेको तिर्थी भरिनका नाती गौतम भरले बताए । यस्तो कीर्ते काम गर्नेहरूमाथि छानबिन गरी कारबाही गर्न उनको माग छ ।

वडाध्यक्ष यादवले नाता प्रमाणितका बेला आफू बिदामा बसी महिला सदस्य अनिता साहनीलाई कार्यवाहकको जिम्मेवारी दिएको र नाता प्रमाणित गराएबापत ५० लाख रकम आउँछ भनी आश्वासन दिएको स्रोतको दाबी छ । कार्यवाहक वडाअध्यक्ष साहनीको अवैध सिफारिसको आधारमा मालपोत कार्यालय रुपन्देहीले तिर्थी भरिनको नाममा जग्गा नामसारी गरेको पाइएको छ ।

तिर्थी भरिनका छोरा राजुले ती सातै जनाविरुद्ध छानबिन गरी कारबाहीको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरीसमेत दिएका छन् ।

पाल्हीनन्दन गाउँपालिका- ६ का वडाअध्यक्ष कृष्णचन्द्र यादवले भने कीर्ते काम नगरेको दाबी गरे ।

‘नक्कली नाता प्रमाणित गरिएको होइन, सबै बुझेरमात्र गरिएको हो, छानबिन गरेर गलत भएको भए कारबाही भोग्न तयार छौं’, उनले भने ।

तर, तत्कालीन महिला सदस्य साहनीले भने गाउँलेले सिफारिस गरेका आधारमा आफूले नाता प्रमाणित गरिदिएको बताइन् ।

‘सार्वजनिक सुनुवाइ गरी प्रमाण पुर्‍याएर पाँचजनाले देवरभाउजूको रूपमा नाता कायम गर्न भनेपछि मैले वडाबाट नाता प्रमाणित गरिदिएकी हुँ’, उनले भनिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर