जो १० वर्षअघि मेस्सीसँग तस्बिर खिचाउन आतुर थिए आज उनैसँग खेलिरहेका छन् – Nepal Press

जो १० वर्षअघि मेस्सीसँग तस्बिर खिचाउन आतुर थिए आज उनैसँग खेलिरहेका छन्

दोहा। कतारमा जारी विश्वकपको सेमिफाइनलमा अर्जेन्टिनाले क्रोएसियालाई ३(० गोलले हराएर फाइनल यात्रा तय गरेपछि एउटा तस्बिर भाइरल भयो । उक्त खेलमा २ गोल गरेका जुलियान अल्भारेजले १० वर्षअघि फ्यानका रूपमा लियोनल मेस्सीसँग खिचाएको उक्त तस्बिर निकै मर्मस्पर्शी थियो।

कुनै समय अर्जेन्टिनाका लागि खेल्ने सपना बुन्दै गर्दा अल्भारेजले १२ वर्षको उमेरमा मेस्सीले विश्व क्लब फुटबलमा राज गरिरहेका बेला उक्त तस्बिर खिचाएका थिए। सायद त्यतिबेला मेस्सीका लागि ती बालक एक सामान्य समर्थकजस्तै थिए। तर समय क्रममा उनै बालक अर्थात् जुलियान अल्भारेज मेस्सीसँग ड्रेसिङ रुम सेयर गर्न सफल भए, मेस्सीको विश्वकप सपना कायम राख्न एक सहयात्री बने। मेस्सीले २२ वर्षीय अल्भारेज अद्वितिय रुपमा देखिएको बताएका छन्।

‘कसैले पनि कल्पना गरेका थिएनन् की अल्भारेजको सहभागिता रहन्छ र यस किसिमको महत्त्व उनले देखाउने छन्’, मेस्सीलाई उद्धृत गर्दै बिबिसी लेख्छ, ‘ उनले जुन सहयोग हामीलाई गरेका छन् त्यो विशेष छ।’

सेमिफाइनलमा अल्भारेजले गरेका दुई वटै गोल स्तरीय रहे। पहिलो गोल उनले आफ्नै क्षेत्रबाट अगाडि बढाउँदै, विपक्षी केही खेलाडीलाई छक्याएर सिक्स यार्डबाट गोल गरेका थिए। दोस्रो गोल उनले मेस्सीको शानदार असिस्टमा गरेका थिए। त्यसअघि मेस्सीले पेनाल्टीमा गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए। अल्भारेजलाई डिबक्सभित्र लडाइएपछि मेस्सीले प्राप्त पेनाल्टी अवसर सदुपयोग गरेका हुन्।

यतिबेला आइतबार हुने साबिक विजेता फ्रान्सविरुद्धको उपाधि भिडन्तमा अर्जेन्टिनाका प्रमुख दुई हतियारका रूपमा मेस्सी र अल्भारेज देखिएका छन्। जारी प्रतियोगितामा अर्जेन्टिनाले गरेका १२ गोलमा ९ गोल यी दुई खेलाडीबाट भएको छ। मेस्सीले ५ गोल र तीन असिस्ट तथा अल्भारेजले ४ गोल गरेका छन्।

‘यो प्रतियोगिताभर अल्भारेज अद्वितिय देखिएका छन्। उ सबै कुराका लागि लडिरहेका छन्- ‘अवसर सृजना गरिरहेका छन्, जुधिरहेका छन्। उ हामीले फेला पारेको आश्चर्य हो’, मेस्सीले भनेका छन्।

सन् २०२१ मा सिनियर अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेका अल्भारेजले अर्जेन्टिनाका लागि हालसम्म १८ खेल खेल्दै ७ गोल गरेका छन्। उनी यू-२० र यू-२३ राष्ट्रिय टोली हुँदै मेस्सीसँग खेल्न आइपुगेका हुन्। उनी यसै वर्ष इङ्लिस क्लब म्यानचेस्टर सिटीमा आबद्ध भएका हुन्।

जारी प्रतियोगितामा अल्भारेजलाई प्रशिक्षक लियोनल स्कोलोनीले पहिलो रोजाइका रूपमा सोचेका थिएनन्। तर लौतारो मार्टिनेज लयबाहिर देखिएपछि अल्भारेजले अवसर पाएका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *