नेपाल प्रेस तेस्रो वर्षमा- तथ्य अन्वेषण, सत्य सम्प्रेषणको दोस्रो अध्याय आरम्भ – Nepal Press
सम्पादकीय

नेपाल प्रेस तेस्रो वर्षमा- तथ्य अन्वेषण, सत्य सम्प्रेषणको दोस्रो अध्याय आरम्भ

काठमाडौं । ‘तथ्य अन्वेषण,सत्य सम्प्रेषण’ को यात्राले दुईवर्ष पार गरेको छ । नेपाल प्रेस डट कमले लिएको यो मूल उद्देश्य २ वर्षकाबीचमा स्थापित गदै थप परिपक्व र जिम्मेवार पत्रकारिताको लक्ष्यमा अविचलित बन्ने प्रण गर्दै दोस्रो वार्षिकोत्सव मनाइएको छ ।

ठीक २ वर्षअघि २०७७ मंसिर २९ गते नेपाल प्रेसले आफ्नो यात्रा आरम्भ गरेसँगै नेपालको राजनीतिक, आर्थिक, न्यायिक र समग्र राज्यसत्तामै ठूला ठूला उथल पुथल भए । यी सबै उथलपुथलमा मूलधारको पत्रकारितालाई वैकल्पिक धार दिने प्रयासमा नेपाल प्रेस सफल भएको छ ।

कोभिड महामारीले थिलथिलो भएको अर्थतन्त्र र पत्रकारितामा सन्चार संस्थाहरु आउने र बन्द हुने क्रम चलिरहेका बेला नेपाल इ प्रेस मिडिया प्रालीबाट नेपाल प्रेस सन्चालनमा आउँदा धेरैले यसको निरन्तरता र व्यवसायिक पत्रकारिताको चुनौती वहन गर्ने क्षमतामा शंका गरेपनि यी २ वर्षमा नेपाल प्रेस सबैभन्दा धेरै पढिने र हेरिने अनलाइन मिडियाको शीर्षस्थानमा पुग्न सफल भएको छ ।

आज दोस्रो वर्ष पार गरेर तेस्रो वर्षमा प्रवेश गर्दा हामीसँग लाखौं पाठक (अडियन्स)को विश्वास,सोही अनुसारको दायित्व र अझ परिपक्व बन्दै फरक पहिचान तथा प्रस्तुतिसहितको पत्रकारिताको कार्यभार हामीसँग थपिएको छ । यसलाई कायम राख्दै अझ बढी जिम्मेवार र जवाफदेही बन्नुपर्ने अभिभारा पनि हामीसँग छ ।

हामीले सुरुदेखि नै भन्ने गरेका छौं

नेपाल प्रेसको सफलताको लागि धन्यवाद र बधाइका पात्र हाम्रा पाठक, विज्ञापनदाता र शुभेच्छुकहरु नै हुन् । हामीले मिडियाको भिडमा छिरेर अरुले जुन शैली, स्वाद र मिसनको अभ्यास गरिरहेका छन्, त्यसैलाई पछ्याएको भए कि त हामी हराउने थियौं, कि त्यही समूहको गुमनाम ‘स्याटेलाइट’ का रुपमा कतै पिलिक्क देखिने थियौं ।

तर नेपाल प्रेसले लिएको बाटो फरक हो भन्न हामीलाई हिच्किचाहट छैन । नेपालमा बौद्धिक विमर्श गर्ने एउटा सिण्डिकेट समूह छ । राज्यका तीनै अंगसहित पत्रकारिता, बौद्धिक जगत र एक हदसम्म सामाजिक सञ्जाललाई समेत प्रभावित पार्नेगरि ‘एजेण्डा सेटिङ’ गर्ने पावर एलिट समूहले नै मिडियाका कन्टेन्टहरु समेत वितरण गर्छ ।

हामीले पावर एलिट समूहले सेटिङ गरेका एजेण्डा बोक्न नचाहेकै हो । हामीले निश्चित स्वार्थ समूहको भाष्यलाई मिडियामार्फत लबिङ गर्ने आजको ‘मूलधार’को पदचाप पछ्याउन अस्वीकार गरेकै हो । राजनीति, न्यायपालिका, सार्वजनिक बहसका संस्थाहरुमाथि समूहबन्दीमार्फत देवत्वकरण वा दानवीकरण गर्ने र विधिसम्मत बाटो छाडेर ‘हामीले भनेपछि यही सत्य हो’ भन्ने अहिलेको ट्रेण्डलाई नेपाल प्रेसले आफ्नो डिजिटल प्लेटफर्मबाट खारेज गरेकै हो ।

पत्रकारहरु जुनसुकै सेन्सरसीप वा सेल्प सेन्सरसीपको विपक्षमा हुन्छन् । तर पछिल्लो समयमा आफ्नो मिसनलाई असर गर्ने कन्टेन्ट पत्रकार वा मिडिया हाउसबाटै सेन्सर गरिने घातक प्रवृतिको विपक्षमा नेपाल प्रेस उभिएको छ ।

एजेन्डा सेटर पावर एलिट, सार्वजनिक विमर्षको नाममा निश्चित स्वार्थ समूहको हितमा भाष्य निर्माण गर्ने प्रभावशाली कथित बौद्धिक जमात र बाह्य एजेन्सी तथा दाताहरुको फण्डिङअनुसार मिडियाले जनमत बनाइदिनुपर्ने दुःखबाट नेपाल प्रेस मुक्त छ । हामीले भनेपछि संविधान, कानून केही होइन अमूक व्यक्ति शक्तिमा आउनुपर्छ र अमूक व्यक्ति हट्नुपर्छ मिसन पत्रकारिताको लेठो पनि हामीले बेसाउनु परेको छैन ।

मिडियामा सबैको साझा प्लेटफर्म हो । फरक विचारहरुलाई निषेध गर्ने र आफूले चलाएको अभियानलाई साथ हुने विचार तथा अभिव्यक्तिलाई मात्र स्थान दिने संकिर्णताबाट माथि उठ्न हामी सक्यौं र अझै त्यसमा प्रतिबद्ध रहने छौं । यसो गर्दा भिडभन्दा पृथक देखिनुपर्ला वा कहिलेकाहीँ एक्लो वृहस्पति पनि हुनुपर्ला तर सत्यभन्दा माथि केही छैन ।

आमसञ्चार माध्यम र सामाजिक सञ्जाल फरक प्लेटफर्म हुृन् । भीडले के रुचाउँछ वा सामाजिक सञ्जालको ट्रेण्ड कता छ, त्यहीअनुसार मिडियाले कन्टेन्ट निर्माण गर्ने हो भने सत्य ओझेलमा पर्न सक्छ । जिम्मेवार मिडियाको कर्तव्य त्यो हो,सत्य सम्प्रेषण गर्दा भीडको गाली खानु परेपनि त्यसलाई स्थापित गर्न प्रतिबद्ध हुनुपर्छ ।

हामीले आरम्भकै दिन भनेका थियौं- पत्रकारिता कुन हदसम्म निष्पक्ष वा तटस्थ रहन सक्छ ? यो संसारभर सधैं बहसमै रहेको विषय हो । नेपाल प्रेस निरपेक्ष रूपमा निष्पक्ष हुन सक्दैन । हामी सामाजिक न्याय, सुशासन, राष्ट्रिय स्वाभिमान र नेपालको संविधानको पक्षधरता लिन्छौं ।

विभाजित समाजमा मान्छेका मन पनि विभाजित हुन्छन् । मिडियाले त्यसभित्र पसेर पक्षधरता लिनुहुँदैन तर विसंगतिको पक्षमा उभिन सकिन्न । विसंगति र गलत कर्मको पक्षधरता नलिंदा उठ्ने तटस्थताको प्रश्नमा हाम्रो जवाफ हुनेछ– गलतको विपक्षमा उभिनु नै निष्पक्ष पत्रकारिता हो ।

हो हामी निष्पक्ष छैनौं । देशको स्वाभिमान, राष्ट्रियता, जनताको समस्या र राष्ट्रको प्रतिष्ठाका सन्दर्भ आउँदा हामी निष्पक्ष हुन सक्दैनौं ।

देशभक्तिको सन्दर्भमा हामी देशको पक्षमा उभिन्छौं । अन्यायको सन्दर्भमा हामी पीडितको पक्षमा उभिन्छौं । यस्ता विषयमा नेपाल प्रेस ‘ग्रे एरिया’ मा रहने छैन ।

अन्तिममा

नेपाल प्रेसले नागरिकतहबाट अझ बढी खबरदारी र सुझाव चाहेको छ । गल्ती सच्याउने तत्परता हाम्रो मान्यता हो । हामी नियतवश गल्ति गर्दैनौं तर असावधानी वा समाचारका स्रोतहरुबाट कहिलेकहिँ हुने त्रुटीका कारण कुनै सामग्री प्रकाशन प्रसारण हुन गएमा तत्काल सच्याउँछौं ।

नेपाल प्रेस आफ्ना पाठकहरुको निगरानीमा छ र हामी सोसल अडिटका लागि सधैं खुला छौं । नेपाल प्रेसको दोस्रो वर्षगाठँमा हामी प्रण गर्छौ- हाम्रो आफ्नो मौलिक र फरक पहिचानसहितको पत्रकारिताको गोरेटोलाई राजमार्गमा विस्तार गर्न प्रतिबद्ध छौं ।

नेपाल प्रेस स्थापनाकालदेखि जोडिएका केही जागरुक र सशक्त कलमबाज साथीहरु पत्रकारिता यात्राका क्रममा केही समय हामीबाट छुट्नु भएको छ । उहाँहरुलाई दोस्रो वार्षिकीको अवसरमा सम्झिन चाहान्छौं ।

नेपाल प्रेसका व्यवसायिक क्षमता,आलोचनात्मक चेत बोकेका र न्याय र समानताको पक्षमा सशक्त कलम चलाउने श्रमजिवी पत्रकारहरु नै यसको सफलताका आधारस्तम्भ हुन् । दोस्रो वर्ष पार गर्दैगर्दा हाम्रो यो टिमले लुकेका, लुकाइएका, ओझेलमा पारिएका र अन्यायमा परेकाहरुको पक्षमा अझ सशक्त आवाज बोल्ने प्रतिबद्धता व्यक्त गर्दछौं ।

सबै तहका निर्वाचन सम्पन्न भएसँगै अब राजनीतिक उथलपुथलको समय पनि सकिएको छ र अब हाम्रो ध्यान आर्थिक, सामाजिक विकास,स्थायित्व, समृद्धि र सामाजिक न्यायको पक्षमा आवाज उठाउन केन्द्रित हुनेछ । यसमा तपाई सम्पूर्ण पाठकको साथ सहयोग,सुझाव र सूचनाको हामी भोको छौं ।


प्रतिक्रिया

One thought on “नेपाल प्रेस तेस्रो वर्षमा- तथ्य अन्वेषण, सत्य सम्प्रेषणको दोस्रो अध्याय आरम्भ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर