सासू-ससुरालाई पक्राउ नगरेपछि नेहा चौधरी सडक आन्दोलनमा – Nepal Press

सासू-ससुरालाई पक्राउ नगरेपछि नेहा चौधरी सडक आन्दोलनमा

जनकपुरधाम । दाइजोको निहुँमा घरबाट निकालिएकी नेहा चौधरी सासू र ससुरालाई पनि पक्राउ गर्नुपर्ने माग राख्दै सडक आन्दोलनमा होमिएकी छन् ।

नेहाले आज मध्यान्हबाट महोत्तरीको रामगोपालपुर सडकमा आन्दोलन सुरू गरेकी हुन् । उनीसँगै कुमारी आमा निहारिका राजपुत पनि छन् । उनीहरू विद्यार्थी र केही युवाको सहयोगमा सडकमा टायर बालेर आन्दोलन सुरू गरेकी छन् ।

रामगोपालपुर चोकमा अहिले सवारी साधन ठप्प छ । ठाउँठाउँमा टायर बालिएको छ । सडकमा गुड्ने सवारी साधनहरू नेहा र निहारिकाले आफैं रोक्ने गरेकी छन् । उनीहरूले यातायात अवरुद्ध पारेका छन् ।

गत फागुनमा रामगोपालपुर ५ का पंकज चौधरी र नेहाबीच विवाह भएको थियो । नेहाका परिवारले दाइजो र विवाहमा करिब करोडौं खर्च गरे । तर, पनि दाइजो पुगेन भन्दै नेहालाई परिवारबाट यातना दिन थालियो ।

केही दिनअघि श्रीमान‌्‌बाटै कुटिएर थला परेकी नेहालाई माइत पक्षले उद्धार गरेर अस्पताल उपचारका लागि लगियो । यो बीचमा उनका श्रीमान् पंकजले अदालतमा डिभोर्स मुद्दा दिएकी छन् । यता नेहाले पनि श्रीमान् सासू-ससुरालाई पक्राउ गर्न माग गर्दै घरेलु हिंसा र दाइजोसम्बन्धी मुद्दा दर्ता गरेकी छन् ।

नेहा मंगलबार साँझ घर पस्न खोज्दा सासू र ससुराले अवरोध गरेपछि उनले धर्ना दिएकी थिइन् ।

प्रहरीले पंकजलाई पक्राउ गरेको छ । डाक्टरसमेत रहेका पंकज अहिले प्रहरी हिरासतमै छन् ।

नेहाले भने सासू र ससुरालाई पनि पक्राउ गरी कारबाही गर्नुपर्ने भन्दै बिहीबार रामगोपालपुर बजारमा सवारीसाधन बन्द गराएर आन्दोलन सुरू गरेकी छन् । प्रहरीले बेलुकासम्म पक्राउ गर्ने आश्वासन दिएपछि उनले आन्दोलन स्थगित गरेकी थिइन् ।

तर, आज बिहानसम्म पनि पक्राउ नगरेको भन्दै नेहाले पनि आन्दोलन सुरू गरेकी छन् ।

उनी भन्छिन्, ‘प्रहरीले आश्वासन दियो तर सासू र ससुरालाई पक्राउ गरेनन् । अनि बाध्य भएर पुनः आन्दोलन गर्नुपरेको छ ।’

नेहाका सासू र ससुरा भने घरमा ताल्चा लगाएर फरार छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर