फ्रान्सका ‘लक्की चार्म’ प्रशिक्षक डेस्च्याम्प्स – Nepal Press

फ्रान्सका ‘लक्की चार्म’ प्रशिक्षक डेस्च्याम्प्स

काठमाडौं । फ्रान्स विश्वकपमा लगातार फाइनल पुग्दा प्रशिक्षक डिडियर डेस्च्याम्प्सले गौरवशाली इतिहास बनाएका छन् । उनी लगातार विश्वकपमा फाइनल पुर्‍याउने इतिहासकै चौथो प्रशिक्षक हुन् ।

यसअघि सन् १९३४ र १९३८ मा इटालीलाई प्रशिक्षक भिट्टोरियो पोज्जोले फाइनल पुर्‍याएका थिए । त्यतिबेला दुवैपटक इटाली विजेता बनेको थियो । कार्लोस बिलार्डोले अर्जेन्टिनाले सन् १९८६ र १९९० मा फाइनलसम्म पुर्‍याएका थिए । सन् १९८६ मा पश्चिम जर्मनीलाई हराएर विजेता बनेको अर्जेन्टिना चार वर्षपछि सोही टोलीसँग पराजित भएर उपविजेतामा सिमित भएको थियो । ती दुवै विश्वकपमा जर्मनीलाई प्रशिक्षण गरेका थिए फ्रान्ज बेकनबेउरले ।

विश्वकपमा हालसम्म दुईपटक मात्र साविक विजेता टोलीले उपाधि रक्षा गरेका छन् । सन् १९३८ मा इटाली र सन् १९६२ मा ब्राजिलले त्यस्तो सफलता हात पारेका थिए । तर, लगातार दुईपटक उपाधि जित्ने प्रशिक्षक भने पोज्जो मात्र हुन् ।

यसपटक अर्जेन्टिनालाई फ्रान्सले हराउन सके ६० वर्षपछि विश्वकपको उपाधि रक्षा गर्ने टोलीमात्र बन्ने छैन, प्रशिक्षक डेसच्याम्प्स ८४ वर्षपछि लगातार उपाधि जित्ने प्रशिक्षक बन्नेछन् । ११ वर्ष फ्रान्सका लागि सिनियर अन्तर्राष्ट्रिय फुटबल खेलेका ५४ वर्षीय डेस्च्याम्प्स सन् २०१२ देखि फ्रान्सको प्रशिक्षक रहेका छन् । सन् २०१६ मा आयोजित युरोकपमा फ्रान्सलाई फाइनलसम्म पुर्‍याएका डेस्च्याम्प्सले गत सिजन यूईएफए नेसन्स लिगको उपाधि पनि जिताएका थिए ।

डेस्च्याम्प्सकै कप्तानीमा फ्रान्सले सन् १९९८ मा घरेलु मैदानमा आयोजित विश्वकप जितेको थियो । त्यो फ्रान्सको पहिलो विश्वकप उपाधि थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर