टिटेदेखि एनरिकसम्मः यी हुन् विश्वकपको हारसँगै वहिर्गमित ७ प्रशिक्षक – Nepal Press

टिटेदेखि एनरिकसम्मः यी हुन् विश्वकपको हारसँगै वहिर्गमित ७ प्रशिक्षक

काठमाडौं । विश्वकपमा एउटा सिङ्गो राष्ट्रको जिम्मेवारी आफ्नो काँधमा राखेर अगाडि बढ्नु कुनै प्रशिक्षकका लागि सामान्य काम पक्कै हैन । त्यसैले त भन्ने गरिन्छ, प्रशिक्षकहरुका लागि विश्वकप घाँटीमा झुण्डिएको तरवार हो ।

आफूले सम्हालेको लिएको टिमलाई अपेक्षित सफलता दिलाउन नसकेपछि त्यसको सबैभन्दा चर्को दवाव प्रशिक्षकहरुलाई नै पर्छ । फलतः हरेकपटकको विश्वकप फुटबलमा थुप्रै प्रशिक्षकहरुले आफ्नो जागीर गुमाउने गरेका छन् । कसैले स्वैच्छिक राजीनामा दिन्छन् त कोही बर्खास्तीमा पर्छन् ।

विश्वकप २०२२ पनि यसमा अपवाद हुन सकेन । यसपाली समूह चरणदेखि नै राम्रो नतिजा दिन नसकेका केही प्रशिक्षकहरुले आफ्नो टिम प्रतियोगिताबाट बाहिरिएसँगै जिम्मेवारी पनि त्यागे । भने, कसैलाई सम्बन्धित संघहरुले वर्खास्त गरेका छन् ।

प्रशिक्षकहरु जसले जिम्मेवारी त्यागेः

ब्राजिलः टिटे

ब्राजिलका प्रशिक्षक एडनर लियोनार्दो बाकी ‘टिटे’ नामले परिचित छन् । उनले विश्वकपसँगै आफ्नो सम्झौता सकिएपछि राजिनामा दिने पूर्वघोषणा गरेका थिए ।

तर, त्यो क्षण उनले अपेक्षा गरेभन्दा छिटो आयो । जारी विश्वकपमा क्वार्टरफाइनल अन्तर्गत क्रोएसियासँग पेनाल्टी सुटआउटमा ४–२ गोलको नतिजमा पराजित भएसँगै ब्राजिल सेमिफाइनल पुग्न असफल भयो । ब्राजिल बाहिरिएसँगै टिटेले जिम्मेवारी त्यागेको घोषणा गरे ।

टिटेले सन् २०१६ मा ब्राजिलको प्रशिक्षण सम्हालेका थिए । उनकै नेतृत्वमा ब्राजिल लगातार दुई पटक क्वार्टरफाइनलबाटै बाहिरियो । सन् २०१८ को विश्वकपमा पनि ब्राजिल क्वार्टरफाइनलमा बेल्जियमसँग पराजित हुँदै बाहिरिएको थियो । त्यसबेला भने उनले राजीनामा दिएका थिएनन् ।

टिटेको नेतृत्वमा ब्राजिलले २०१९ मा १२ औं कोपाअमेरिका उपाधि जितेको थियो ।

‘कहिलेकाहीँ हामी उत्कृष्ट प्रदर्शन गर्छौं । कहिले सोचेअनुरुप प्रदर्शन गर्न सक्दैनौं । यो सबै सामान्य हो । म नतिजाको सम्मान गर्छु,’ उनले क्रोएसियासँगको खेलपछि भने, ‘हारले पिडा दिन्छ, तर म आफंैमा शान्त हुन खोजिरहेको छु । एउटा चक्र समाप्त भयो र म मेरो बचनमा अडिग छु ।’

नेदरल्यान्डस्ः लुइस भान गाल

नेदरल्यान्ड्सका मुख्य पशिक्षक लुइस भान गालले अर्जेन्टिनासँगको हारपछि भने, ‘राष्ट्रिय टिमको प्रशिक्षकका रुपमा यो मेरो अन्तिम कार्यकाल हो ।’

नेदरल्यान्ड्सको प्रशिक्षकका रुपमा तेस्रो कार्यकाल बिताएका भान गालले क्वार्टरफाइनलमा अर्जेन्टिनासँग पेनाल्टी सुटआउटमा नाटकियरुपमा पराजित भए लगतै जिम्मेवारी त्यागेको घोषणा गरेका हुन् ।

उनले अन्तिमपटक युरो २०२० मा टिमले राम्रो पदर्शन गर्न नसकेपछि राजीनामा दिने बताएका थिए । उनले नेदरल्यान्ड्ससँगको पहिलो कार्यकाल सन् २००० दखि २००२ सम्म विताएका थिए, जहाँ नेदरल्यान्ड्स विश्वकपमा छनोटसमेत हुन सकेन ।

त्यसपछि १०१२ देखि २०१४ उनको दोस्रो कार्यकालमा नेदरल्यान्ड्स विश्वकप २०१४ को सेमिफाइनल पुगेको थियो ।

‘मलाई लाग्दैन हामी आज हामी हार्यौँ । यो एक पेनाल्टी सुटआउट मात्रै थियो । यो हाम्रो उपलब्धि हो । मैले केही कुरा छोडँे भने त्यो एउटा उत्कृष्ट टिम हो,’ उनले अर्जेन्टिनासँगको खेलपछि भने ।

मेक्सिकोः जेरार्डो मार्टिनो

मेक्सिको समूह चरणबाटै बाहिरिएपछि टिमका अर्जेन्टिनी प्रशिक्षक जेरार्डो ‘टाटा’ मार्टिनोले राजिनामा दिएका थिए । समूह चरणको पहिलो खेलमा पोल्यान्डसँग गोलरहित बराबरी खेलको मेक्सिकोले दोस्रो खेलमा अर्जेन्टिनासँग २–० को हार बेहोर्यो । अन्तिम खेलमा साउदीअरबलाई २–१ गोलको नतिजामा पराजित गरेपनि मेक्सिकोले शीर्ष दुईमा रहेर अन्तिम १६ मा स्थान बनाउन सकेन ।

‘यो हारले एक जिम्मेवार व्यक्तिको रुपमा मलाई धेरै पिडा दिन्छ । यो असफलताको म पूर्णरुपमा जिम्मेवार छु,’ उनले अन्तिम खेलपछि भने ।

‘रेफ्रीले खेल सकिएको संकेत गरेसँगै मेरो सम्झौता पनि त्यहीँ सकिएको थियो । यहाँ त्योभन्दा धेरै गर्न सकिने केही छैन,’ मार्टिनोले भने ।

मार्टिनोले सन् २०१९ जनवरीदेखि मेक्सिकोको जिम्मेवारी सम्हालेका थिए ।

बेल्जियमः रोबेर्टो मार्टिनेज

एभर्टनका पूर्व प्रशिक्षक मार्टिनेजले समूह चरणबाट बेल्जियम बाहिरिएसँग मुख्य प्रशिक्षकको पदबाट राजिनामा दिएका थिए ।

विश्व वरियताको दोस्रो नम्बरमा रहेको बेल्जियम पराजित भएसँगै मार्टिनेजले भने, ‘विश्वकप सुरु हुनुभन्दा अगाडी नै मैले यो निर्णय गरेको थिएँ । म सँधै दीर्घकालीन परियोजनाहरुमा काम गर्छु र तिनीहरुलाई अग्रिम रुपमा व्यवस्थापन गर्न आवश्यक छ ।’

मार्टिनेजले सन् २०१६ मा बेल्जियमको प्रशिक्षकका रुपमा जिम्मेवारी सम्हालेका थिए । उनकै नेतृत्वमा बेल्जियम २०१८ को विश्वकपमा तेस्रो भयो र युरो २०२० को क्वार्टरफाइनलसम्म पुग्यो ।

घानाः ओट्टो एडो

घानाका पूर्व खेलाडी एडोले केही सन्तोषजनक नतिजा आए पनि समूहको पुछारमा रहेर विश्वकप यात्रा टुङ्ग्याएपछि जिम्मेवारी त्याग गरे । घानाको अन्तिम खेल सकिएपछि उनले प्रशिक्षकको जिम्मेवारीबाट टाढिने निर्णय गरेका थिए ।

घानाले दक्षिण कोरियालाई हराए पनि पोर्चुगल र उरुग्वेसँग पराजय बेहोर्यो । एडोले आफुले विश्वकप अगाडी नै यो निर्णय लिएको प्रष्ट्याए ।‘मैले जिम्मेवारी लिनेबित्तिकै भनेको थिएँ, यदि हामी विश्वकपमा छनोट भयौं अनि उपाधिनै जित्यौं भनेपनि यो मेरो अन्तिम प्रतियोगिता हो ।’

एटो यसपछि फुटबल करियरमा आफुले केही समय बिताएको जर्मन क्लब बुरोसिया डर्टमन्डमा प्रशिक्षकको भुमिकामा फर्कनेछन् ।

दक्षिण कोरियाः पाउलो बेन्टो

पूर्व पोर्चुगिच खेलाडीसमेत रहेका बेन्टोकोले चार वर्षको कार्यकालपछि कतारमा जारी विश्वकपअन्तर्गत अन्तिम १६ मा ब्राजिलसँग पराजित भएसँगै जिम्मेवारी त्यागे । दक्षिण कोरियाले समूह चरण अन्तर्गतका खेलमा उरुग्वेसँग बराबरी खेलेको थियो । घानासँग पराजित भए पनि पोर्चुगललाई हराउँदै अन्तिम १६ सम्मको यात्रा तय गरेको थियो ।

अन्तिम १६ मा ब्राजिलसँग पराजित भएपछि कोरियाको विश्वकप यात्रामा पुर्णविराम लाग्यो ।

स्पेन: लुइस एनरिक

स्पेनिस फुटबल संघले मोरक्कोसँग पराजित हुँदै स्पेन १६ बाट बाहिरिएपछि लुईस एनरिकलाई वर्खास्त गरेको छ । उनको ठाउँमा यू–२१ का प्रशिक्षक लुईस डेला फ्युन्तेले राष्ट्रिय टिमको जिम्मेवारी पाएका छन् ।

एनरिकको नेतृत्वमा स्पेन २०२० को युरोमा सेमिफाइनल सम्मको यात्रा तय गरेको थियो । यस्तै, २०२१ को नेसन्स लिगमा फाइनल पुगेको थियो ।

एनरिकले संघको निर्णयलाई स्विकार गर्दै सामाजिक सञ्जालमार्फत खेलाडी र समर्थकहरुलाई धन्यवाद दिँदै उनको स्थानमा आएका फ्युन्तेलाई आगामी यात्राका लागि शुभकामना दिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *