अर्जेन्टिना कि फ्रान्स, कसले जित्ला तेस्रो पटक विश्वकप? – Nepal Press

अर्जेन्टिना कि फ्रान्स, कसले जित्ला तेस्रो पटक विश्वकप?

काठमाडौं । कतारमा जारि फिफा विश्वकपको फाइनलमा अर्जेन्टिना र साविक विजेता फ्रान्सबीच प्रतिस्पर्धा हुने भएको छ ।

बुधबार राती अल बायट रंगशालामा सम्पन्न दोस्रो सेमिफाइनल खेलमा मोरक्कोलाई हराउँदै फ्रान्स लगातार दोस्रो पटक विश्वकप फाइनल प्रवेश गर्यो । यसअघि मंगलबार राति साविक उपविजेता क्रोएसियालाई पराजित गर्दै अर्जेन्टिना फाइनल पुगेको थियो । माेरक्काेलाई हराउँदै फ्रान्स फाईनल पुगेसँगै अर्जेन्टिनासँगकाे भेट पक्का भएकाे हाे ।

समान दुई पटक विश्वकप जितेका यी टिम तेस्रो उपाधिको खोजिमा फाइनलमा भिड्नेछन् । यदी फाइनलमा अर्जेन्टिनालाई हराउनसके फान्स सन् २००२ मा ब्राजिल पछि लगातार दुई विश्वकप उपाधि जित्ने राष्ट्र बन्नेछ ।

यसअघि अर्जेन्टिनाले सन् १९७८ र १९८६ मा विश्पकप उपाधि जितेको थियो । त्यसयता दुई पटक फाइनल र तीन पटक क्वार्टरफाइनलसम्मको यात्रा तय गरेको थियो ।

यस्तै, सन् १९९८ मा पहिलो विश्वकप उपाधि जितेको फ्रान्सले २०१८ मा दोस्रो उपाधि जितेको थियो ।

समूह‘सी’ मा रहेको अर्जेन्टिनाले पहिलो खेलमा साउदी अरबसँग २–१ को हार बेहोर्दै खराब सुरुआत गरेको थियो । दोस्रो खेलमा पोल्यान्ड र तेस्रो खेलमा मेक्सिकोलाई क्रमशः २–० गोलको नतिजमा पराजित गर्दै अर्जेन्टिना समूह विजेताको हैसियतले अन्तिम १६ प्रवेश गरेको थियो ।

अन्तिम १६ मा अस्ट्रेलियालाई २–१ को नतिजमा हराउँदै क्वार्टरफाइनल पुगेको अर्जेन्टिनाले क्वार्टरफाइनलमा नेदरल्यान्ड्सविरुद्ध नाटकीय जित निकाल्दै सेमिफाइनल यात्रा तय गरेको थियो । सेमिफाइनलमा साविक उपविजेता क्रोएसियालाई हराएसँगै अर्जेन्टिना८ वर्षपछि फाइनल पुगेको हो । यसअघि सन् २०१४ को विश्वकपमा फाइनल पुगेको अर्जेन्टिनाले जर्मनीसँग १–० को हार बेहोरेको थियो ।

यस्तै, समूह ‘डी’ को फ्रान्सले पहिलो खेलमा अस्ट्रेलियालाई ४–१ गोलको नतिजमा पराजित गर्दै सानदार सुरुआत गरेको थियो । दोस्रो खेलमा डेनमार्कलाई हराउँदै एक खेल अगावै अन्तिम १६ पुगेको फ्रान्स समूह चरणको अन्तिम खेलमा ट्युनिसियासँग १–० गोलको नतिजमा पराजित भएको थियो ।

समूह विजेतको रुपमा नकआउट चरण प्रवेश गरेको फ्रान्सले अन्तिम १६ मा पोल्यान्ड क्वार्टरफाइनलमा इङल्यान्डलाई र सेमिफाइनलमा मोरक्कोलाई हराउँदै फाइनल सम्मको यात्रा तय गर्यो ।

यसअघि विश्वकपमा तीन पटक आमनेसामने हुँदा फ्रान्सले दुई खेल जितेको छ भने, अर्जेन्टिनाले एक खेलमा जित निकालेको छ ।
अन्तिम पटक २०१८ को विश्वपकमा अर्जेन्टिना फ्रान्ससँग ४–३ गोलको नतिजमा पराजित भएको थियो ।

अर्जेन्टिना र फ्रान्सबीचकाे खेल आइतबार नेपाली समयअनुसार राती ८:४५ बजे लुसाइल रंगशालामा हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *