महानगरको हुकुमी शासन : फोहोर फ्याँकेको निहुँमा नगरप्रहरीद्वारा अधिकारक्षेत्र नाघेर नागरिक पक्राउ (भिडिओ) – Nepal Press

महानगरको हुकुमी शासन : फोहोर फ्याँकेको निहुँमा नगरप्रहरीद्वारा अधिकारक्षेत्र नाघेर नागरिक पक्राउ (भिडिओ)

१० हजार जरिवाना तिराएर छाडियो

काठमाडौं । काठमाडौं महानगरपालिकाको एउटा दलबल आज बिहान वडा नम्बर १६ स्थित नयाँबजारमा रहेको कृपा फार्मेसीमा घुस्यो । टोलीको अघिअघि सो वडाका भाइरल वडाध्यक्ष मुकुन्द रिजाल थिए भने महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारी र नगर प्रहरीका प्रमुख राजु पाण्डे पनि उनीसँग थिए ।

बालाजुमा एउटा दमकल उद्घाटनका लागि हिँडिरहेको टोली बाटोमा रोकिएर औषधिपसलमा घुस्नुको कारण थियो, सो पसल अगाडि रहेको ट्रि गार्ड (वृक्ष कवच) भित्र थुप्रिएको फोहोर । एकाएक ह्वार्र छिरेको टोलीले पसलका सञ्चालक महेश डोटेलसँग अनुमतिपत्र लगायतका कागजात मागे । सबै कागजात दुरुस्त देखिएपछि प्रशासकीय अधिकृत अधिकारीले ट्रि गार्डतर्फ देखाउँदै सोधे, ‘त्यहाँ फोहोर कसले फ्याँकेको ?’

डोटेलले आफूले त्यहाँ फोहोर नफ्याँकेको बताए । उनले आफ्नो औषधि पसलमाथि क्लीनिक पनि रहेको भन्दै त्यहाँ राखिएका चारवटा फरक रंगका डस्ट बिन पनि देखाए । ‘हामी सबै फोहोर डस्ट बिनमा फ्याँक्छौं । त्यो फोहोर बाटो हिँड्ने मान्छे र अरु पसलहरुले फ्याकेका हुन्,’ उनले प्रष्टीकरण दिए ।

भिडिओ

तर, महानगरको टोली उनको कुरामा सहमत भएन । आफ्नो पसलको सामुन्ने थुपारिएको फोहोरको जिम्मेवार पसल सञ्चालकले नै लिनुपर्ने अडान लियो । नगर प्रहरी प्रमुख पाण्डे तथा वडाध्यक्ष रिजालले पनि फोहोर फ्याँकेवापत जरीवाना तिर्नुपर्ने बताए ।

फोहोरमैला व्यवस्थापन ऐन अनुसार महानगरको नगरप्रहरीसँग जथाभावि फोहोर फ्याक्नेमाथि पाँच सयदेखि एक लाखसम्म जरीवाना असुल्ने अधिकार छ । त्यसैबमोजिम नगर प्रहरीले पसल सञ्चालकसँग १० हजार जरीवाना लगाइदिए । तर, मेडिकल सञ्चालक आफूले त्यो फोहोर फ्याँकेको कुनै प्रमाण नरहेको भन्दै जरीवाना नतिर्ने अडान लिए । त्यहाँ जम्मा भएका केही स्थानीयले पनि त्यो फोहोर पसलको नभएको बताइरहेका थिए । तर, नगर प्रहरीले मानेनन् ।

विवाद नसुल्झिएपछि नगर प्रहरीले पसल सञ्चालक डोटेललाई समातेर गाडीमा हाले । अन्ततः १० हजार जरीवाना तिराएर उनलाई छोडिएको छ ।

स्मरणीय के छ भने महानगरले परिचालन गर्ने नगर प्रहरीसँग कसैलाई पक्राउ गर्ने अधिकार नै हुँदैन । नभएको अधिकार प्रयोग गर्दै नगर प्रहरीले मेडिकल सञ्चालकलाई पक्राउ गरेको दृष्य हामीलाई प्राप्त भिडियोमा देखिन्छ । उक्त घटनाका प्रत्यक्षदर्शी नेपाल स्काउटका निर्देशक रामप्रसाद भट्टराईले महानगरले निर्धा नागरिकमाथि ज्यादती गरेको बताए ।

उनले नेपाल प्रेससँग भने, ‘त्यो फोहोर मेडिकलको होइन । अरु ट्रि गाडीमा जस्तो हात हालेर सजिलै झिक्न मिल्ने पनि यो छैन । जोकोहीले फ्याँकेको फोहोरमा बिनाप्रमाण जिम्मेवार ठह्र्याएर चर्को जरीवाना असल्नु र नगर प्रहरीले अधिकारक्षेत्र नाघेर पक्राउ गर्नु हुकुमी शासनजस्तो भयो ।’

भट्टराईका अनुसार उक्त ट्रि-गार्डभित्र औषधिजन्य फोहोरहरु छैनन् । चाउचाउ र चिजबलका खोल, चुरोटका बट्टा, सुकेको सयपत्री फुलका पत्ता, परागका खोलजस्ता वस्तुहरु त्यहाँ रहेको उनले बताए । साथै, सो ट्रि गाडीभत्र कुनै विरुवा पनि नरहेको उनको दाबी छ ।

यस विषयमा महानगरका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीसँग प्रश्न गर्दा उनले सो घटनामा नगर प्रहरीले जरीवाना गराएको स्वीकारे । तर, पक्राउ नगरेको दाबी गरे ।

उनले भने, ‘त्यो ट्रि गार्ड उहाँको पसलको ठ्याक्कै अगाडि छ । एक त उहाँको दायित्व पनि हो पसल अगाडि सफा राख्ने । अर्को, हामीले वरपर पनि सोध्यौं । साइडको पसलवालाले पनि उहाँहरुले बढारेको फोहोर त्यहाँ हाल्ने गरेको सुनायो । त्यसपछि हामीले कानूनतः जरीवाना तिर्नुपर्ने बतायौं । तर, उहाँ जरीवाना तिर्न तयार हुनुभएन । त्यसपछि अफिस आउनु भनेर हामी हिँडेका हाँै ।’

तर, उहाँलाई त जबरजस्ती पक्राउ गरेर गाडीमा हालिएको भिडिओ हामीले पाएका छौं भनेपछि अधिकारीले जवाफ दिए, ‘कसैलाई पनि पक्राउ गर्ने अधिकार नगर प्रहरीलाई हुँदैन । त्यहाँ समातिएको होइन । जरीवाना नतिरेपछि सँगै लिएर गएको मात्र होला । म अघि बढिहालेँ । पछिको कुरा मलाई थाहा भएन ।’

उनले ट्रि-गार्डभित्र रहेको फोहोर पसलकै भएको जिकिर गरे । त्यहाँभित्र प्यान्थरको बट्टा पनि रहेको भन्दै जुम गरेर हेर्न आग्रह गरे । ‘हामीले फोहोरको छानबिन त गरेका छैनौं । तर पसल बढारेर त्यहाँ फोहोर हालेको भनेर वरिपरिकाले बताएका छन्,’ उनले भने ।

तर, प्रत्यक्षदर्शी तथा स्थानीयले भने त्यो फोहोर औषधि पसलको नभएको बताएका थिए ।

 


प्रतिक्रिया

One thought on “महानगरको हुकुमी शासन : फोहोर फ्याँकेको निहुँमा नगरप्रहरीद्वारा अधिकारक्षेत्र नाघेर नागरिक पक्राउ (भिडिओ)

  1. अनि जथाभावि फोहोर फाल्नेलाई के डोलीमा चढाएर नगर परिक्रमा गराउनु पर्ने ? वाहियात समाचार !

Leave a Reply

Your email address will not be published. Required fields are marked *