सुनकोसी र इन्द्रावतीको पाता फर्काउन ईआईए स्वीकृत, चार जिल्लाका ४५ वटा वडा हुनेछन् प्रभावित (सूचीसहित) – Nepal Press

सुनकोसी र इन्द्रावतीको पाता फर्काउन ईआईए स्वीकृत, चार जिल्लाका ४५ वटा वडा हुनेछन् प्रभावित (सूचीसहित)

सुनकोसी- ३ आयोजना बन्ने क्षेत्रमा बस्छन् ३ हजार बढी घरका १ लाख २० हजार बासिन्दा

काठमाडौं । काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रामेछाप र सिन्धुलीलाई समेत समेट्ने उच्च महत्वाकांक्षी जलविद्युत आयोजना सुनकोसी– ३ निर्माणको बाटो खुलेको छ ।

बहुउद्देश्यीय परियोजनाका रुपमा अघि सारिएको यो जलाशययुक्त आयोजनाका लागि काभ्रेबाट निर्वाचित सांसद तथा पूर्वमन्त्री गोकुल बास्कोटाले सुनकोसी र इन्द्रावतीको पाता फर्काएर काभ्रेको विकास गर्ने भन्दै निरन्तर पहल गरिरहेका थिए ।

सुनकोसी ३ जलविद्युत आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) स्वीकृत भएको वन मन्त्रालयले जनाएको छ । यो सँगै ६८३ मेगावाटको जलविद्युत आयोजना निर्माणको बाटो खुलेको हो ।

सुनकोसी ३ आयोजनाका इन्जिनियर सुवास थपलियाले कात्तिक २८ गते वनमन्त्रीको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाको निर्णयबाट ईआईए स्वीकृत भएको जनाएका छन् । ईआईएमा उल्लेख भएअनुसार सुनकोसी ३ जलविद्युत आयोजनाको निर्माण हुँदा करिब २७ अर्ब मूल्य बराबरको निजी जमिनमा क्षति पुग्नेछ ।

यो आयोजना निर्माणका लागि ४ हजार १३ हेक्टर जमिन आवश्यक पर्ने र त्यसमा आधा जति निजी जमिन (व्यक्तिगत सम्पत्ति) पर्ने अध्ययनले देखाएको छ । यस्तै आयोजना निर्माण हुँदा ३ हजार ३१३ आवासीय घर र ७६० गोठमा क्षति हुनेछ ।

गत भदौमा नेपालको तर्फबाट विद्युत प्राधिकरण र बगंलादेशको तर्फबाट बंगलादेश पावर डेलभमेन्ट बोर्डबीच संयुक्त कम्पनी स्थापना गरेर सुनकोसी- ३ अगाडि बढाउन सहमति भएको थियो ।

२०७५ साउन २५ गते भएको संयुक्त कार्यदल र निर्देशक समितिको तेस्रो बैठकमा जलविद्युत क्षेत्रमा सहकार्य गर्न ५ वटा जलविद्युत आयोजनाको प्रस्ताव बंगलादेशसमक्ष नेपालले पेश गरेको थियो । बैठकमा पहिलो चरणमा सुनकोसी तेस्रोलाई अगाडि बढाउन आयोजनाको संयुक्त रुपमा स्थलगत भ्रमण गर्ने सहमति भएको थियो ।

यता नेपाल विद्युत प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले भने सुनकोसी ३ को विषयमा थप कार्य अघि नबढेको बताए ।

उनले नेपाल प्रेससँग भने, ‘प्राधिकरण र बंगलादेशको पावर डेभलपमेन्टले बनाउने भनिएको हो । तर, कसले कति लागत व्यहोर्ने र के गर्ने भन्ने विषयको निचोड भने निस्केको छैन । छलफलकै चरणमा छ ।’

आयोजनाको अनुमानित लागत १ अर्ब ४५ करोड ८० लाख अमेरिकी डलर रहेको छ । आयोजना निर्माणका क्रममा करिब ४ हजार जनाले रोजगारी पाउने र आयोजनाको कुल बजेटको ०.५ प्रतिशत खर्च गर्नुपर्ने भएकाले त्यहाँको विकास पनि हुने ईआईएमा उल्लेख छ ।

सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, सिन्धुली र रामेछापको भूभागमा बन्ने यो आयोजनाबाट १३ स्थानीय तहका ४५ वटा वडा प्रभावित हुनेछन् । यी वडामा १ लाख २० हजार जनसंख्या बसोबास गर्छन् ।

आयोजना क्षेत्रभित्र सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका (वडा नं १, ३, ४), बलेफी गाउँपालिका (वडा नं ५), चौतारा साँगाचोक गढी नगरपालिका (वडा नं ९, १०, ११, १२, १४), इन्द्रावती गाउँपालिका (वडा नं १०, ११, १२) र मेलम्ची नगरपालिका (१३) सुनकोसी ३ आयोजनाबाट प्रभावित हुने स्थानीय तहहरु हुन् ।

यता काभ्रेपलान्चोकअन्र्तगत मण्डन देउपुर नगरपालिका (वडा नं. ६, ७, ९, १०, १२), पाँचखाल नगरपालिका (वडा नं १३, ८), भुम्लु गाउँपालिका (वडा नं १, ६, ७, ८, ९, १०), चौरी देउराली गाउँपालिका (वडा नं ६, ७, ८) र तेमाल गाउँपालिका (वडा नं १, २, ३, ४, ६,७, ९) पनि आयोजना प्रभावित हुने स्थानीय तह हुन् ।

रामेछापका खाँडादेवी गाउँपालिका (वडा नं १ राकाथुम), सुनापाती गापा (वडा नं १, ४, ५) र सिन्धुलीको सुनकोसी गापा (वडा नं १, २, ३, ४, ५) प्रभावित स्थानीय तह हुन् ।

नेपालमा रन अफ दि रिभर (बहावमा आधारित) आयोजना धेरै छन् । वर्षायाममा बिजुली पर्याप्त भए पनि सुख्खा याममा भने कुलेखानी जलविद्युत आयोजनाको मात्र भर पर्नुपरेको छ । सुनकोसी ३ आयोजना जलाशयमा आधारित भएकाले यसको प्रमुख संरचना बाँध हो ।

जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले कोसी नदी जलस्रोत विकास अध्ययनका क्रममा सन् १९८५ मा आयोजनाको पहिचान गरेको थियो । जाइकाले गरेको अध्ययनलाई सन् २०१४ मा अद्यावधिक गरिएको थियो ।

आयोजनाको बाँधस्थल बायाँ किनारतर्फ रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिका र दायाँ किनारतर्फ काभ्रेपलान्चोक जिल्लाको तेमाल गाउँपालिकाको बीचमा पर्ने दोभानटार प्रस्ताव गरिएको छ । प्रस्तावित बाँधस्थल काठमाडौंबाट करिब ८२ किलोमिटरको दूरीमा पर्छ ।

यो बाँधस्थल बीपी राजमार्गको नेपालथोकबाट करीव एक किलोमिटर दूरीमा पर्छ । आयोजनाको जलाशय बाँधस्थलबाट करिब ४५ किमि माथिसम्म फैलिन्छ । यो भनेको दोलालघाटभन्दा माथि सिपाघाटसम्म पुग्नेछ । बाँधको उचाइ १८० मिटर अग्लो हुनेछ ।

अधिकांश क्षेत्रमा पुष्पलाल राजमार्ग र अरनिको राजमार्गको सडक खण्ड पर्दछ । आयोजनाका अन्य संरचनाहरु बाँधस्थल र विद्यतगृह आसपास रहेका छन् । धेरैजसो संरचना तथा सहायक संरचनाहरु स्थानीय सडकबाट पहिले नै जोडिएका छन् । केही भने जोडिन बाँकी छन् ।

काभ्रेबाट नवनिर्वाचित सांसद तथा पूर्वशहरी विकास तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले यो आयोजना निकै ठूलो र नेपालको गेमचेन्जर परियोजना भएकाले सबै सम्भाव्यता अध्ययनपछि थालिने बताए ।

उनले बाँधबाट जलमार्गको विकास हुने र ठूलो संख्यामा रोजगारी सिर्जना हुने बताए । आयोजनाबाट प्रभावित बासिन्दालाई स्थानान्तरण गर्न क्षतिपूर्तिसहितको मुआब्जालगायतका सबै सुविधा दिइने उनको भनाइ छ ।

उनले मुलुकको समृद्धिसँग यो आयोजना गाँसिएकाले आफूले संसदमा पनि पटकटक आवाज उठाएको बताए । यो आयोजना सुनकोसी र इन्द्रावती नदीसहितका सहायक खोलाहरु थुनेर बनाइनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *