आमालाई रङ्गशाला ल्याएर मनोबल बढाइरहेका मोरक्कोका खेलाडी – Nepal Press

आमालाई रङ्गशाला ल्याएर मनोबल बढाइरहेका मोरक्कोका खेलाडी

दोहा । कतारमा जारी विश्वकप फुटबलमा मोरक्कोले ऐतिहासिक सफलता हात पारिरहँदा उसले फरक दृश्यहरू पनि देखाइरहेको छ। मोरक्कोका खेलाडीहरू आमालाई रङ्गशालामा दर्शक बनाएर खेल खेलिरहेका छन्।

सफलतापछि उनीहरूले आमासँग खुसी साटिरहेको देखिन्छ। खेलाडीहरूले श्रीमती, गर्लफ्रेन्ड, छोराछोरी लैजाने पुरानै परम्परा भए पनि आमाहरूलाई दर्शक दीर्घामा राखेर खेल्ने गरेको चाहिँ नयाँ हो।

क्वाटर फाइनलमा मोरक्कोले पोर्चुगललाई हराएर विश्वकपमा सेमिफाइनल पुग्ने पहिलो अफ्रिकी टोलीका रूपमा कीर्तिमान बनाएपछि मिडफिल्डर सोफाइन बौफल आमालाई मैदानमै ल्याएर नाचेको देखिएको थियो।

प्रिक्वाटरफाइनलमा पूर्व विजेता स्पेनविरुद्ध भएको टाइब्रेकरमा निर्णायक पेनाल्टीमा गोल गरेपछि डिफेन्डर अस्रफ हाकिमी दर्शक दीर्घामा रहेकी आमा नजिक पुगेर खुसी साँटेका थिए।

आमासँग चुम्बन गरेको तस्बिर सामाजिक सञ्जालमा राख्दै ‘आई लभ यू मम’ लेखेका थिए। प्रशिक्षक वालिद रेग्रागुईले पनि आमालाई कतारमा ल्याएर खेल हेराइरहेका छन्। स्पेनसँगको खेलपछि उनले पनि दर्शक दीर्घामा रहेकी आमा नजिक पुगेर खुसी साँटेका थिए।

परिवारसँगै लिएर आउनु विश्वकपमा माथिल्लो स्तरमा प्रदर्शन गर्ने टोलीको रणनीतिका लागि भएको रेग्रागुईले बताएका छन्। ‘हामीले स्टाफहरूसँग कुरा गरेपछि टिम स्प्रिरिट राम्रो हुने निष्कर्ष निकालेर परिवार लिएर आएका हौँ। यसले प्रतियोगितामा अगाडि बढ्न सहयोग गर्ने हाम्रो विश्वास थियो’, रेग्रागुईले भनेका छन्।

त्यसबाहेक विश्वलाई मोरक्कोको संस्कृति देखाउन पनि त्यसो गरिएको उनको भनाई छ। भन्छन्, ‘हाम्रा खेलाडीहरू उनीहरूका परिवारसँग कति नजिक छन् भनेर देखाउने अवसर पनि हो यो। यो हाम्रो संस्कृतिको हिस्सा पनि हो जहाँबाट हामी आएका छौँ।’

मिडफिल्डर इलियास चेयरले परिवारको सहयोग आफ्ना लागि सबथोक भएको बताउँछन्।

‘मेरा अभिभावक र श्रीमती यहाँ आएका छन्। मलाई लाग्छ सबै खेलाडीका अभिभावक र पारिवारिक सदस्यहरू यहाँ आएका छन्। यसले हामीलाई ठुलो शक्ति दिएको छ’, उनी भन्छन्।

मोरक्कोले सेमिफाइनलमा बुधवार साबिक विजेता फ्रान्ससँग खेल्दै छ। मोरक्को सन् १९८६ यता पहिलो पटक नकआउट चरण पुगेर, त्यहाँबाट अगाडि बढ्दै सेमिफाइनलसम्म आइपुगेको छ।

विभिन्न देशमा जन्मिएका एक दर्जनभन्दा बढी खेलाडीलाई राष्ट्रिय टोलिमा ल्याएर मोरक्कोले अहिले विश्वकप खेलिरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *