नयाँ पुस्ता अब पर्खिन तयार छैन,कांग्रेस सुध्रिन तयार हो ? – Nepal Press

नयाँ पुस्ता अब पर्खिन तयार छैन,कांग्रेस सुध्रिन तयार हो ?

संसदीय दलको नेता भनेको विधायिका (राष्ट्रियस्तर वा प्रदेशस्तरको संसद)मा दलको नेतृत्व गर्ने व्यक्तिलाई चिनाउने शब्दावली हो । दलको नेता नै संसदीय दलको नेता हुन पनि सक्छ । यद्यपि यसका जिम्मेवारी अलग हुन्छन् । अंग्रेजीमा यसलाई ‘पार्लियामेन्टरी लिडर’ वा ‘पार्लियामेन्टरी चेयरम्यान’को नामले सम्बोधन गरिन्छ । देशभित्र र कांग्रेसभित्र परिवर्तन अनि पुस्तान्तरण र रुपान्तरणका लागि सबै दल र खेमा, गुट, उपगुट सबै एकजुट हुन आवश्यक छ ।

गगन थापा संसदमा नयाँ अनुहार होइनन् । उनले आफूले पाएको जिम्मेवारीमा अब्बल भएको उदाहरणसमेत दिएका छन् । पटक-पटक यी कुराहरूलाई सावित पनि गर्ने गरेका छन् । यस पटकको चुनावले नेपाली कांग्रेस दुई पुस्तामा विभाजन भएको देखिन्छ । एक खेमा एकै मानिसलाई प्रधानमन्त्री भएको मन पराउने र अर्का खेमा पार्टीभित्र पुस्तान्तरण खोज्न बाध्य भएका छन् । मतदाताहरूलाई युवा नेताले देशलाई कसरी अग्रपङ्क्तिमा पुर्‍याउने रहेछन् भन्ने हेर्न एक किसिमको कौतुहलता छ ।

अर्को कुरा यस पटकको चुनावको मत परिणामसँगै धेरैजसो भोट स्विङ भएको झझल्को दिइरहेको छ । यसले पनि नयाँ नेतृत्वविरुद्ध बिगुल फुकेको स्पष्ट संकेत गर्छ । कसले कति परिणाम ल्यायो र कसले कति फुइ लायो भन्ने कुरा पनि छर्लङ्ग भइसकेको अवस्थामा आफ्नो विरासत बचाउन र जनताको म्यान्डेटमा अडिग रहन पुस्तान्तरण आवश्यक भइसकेको छ । यस पटक पाँच पटक, दुई पटक, पटक-पटक जस्ता शब्दलाई मन पराउने बानीलाई बदलेर एक पटक यसै पटक सरकारमा पुस्तान्तरण भएको प्रत्यक्षदर्शी किन नबन्ने ?

कसले कति परिणाम ल्यायो र कसले कति फुइ लायो भन्ने कुरा पनि छर्लङ्ग भइसकेको अवस्थामा आफ्नो विरासत बचाउन र जनताको म्यान्डेटमा अडिग रहन पुस्तान्तरण आवश्यक भइसकेको छ ।

परिवर्तनको संवाहक बनेर देखाउन अब ‘गिभ एण्ड टेक’मा अल्झिने हैन, देशमा फेरि पनि त्यही ‘गिभ एण्ड टेक’को पुरातनवादी विचारधारा (बार्टर सिस्टम)का पछि लाग्नाले देश आफैंले आफैंसँग प्रतिस्पर्धा गर्न असमर्थ हुने अवस्थामा पुग्नेबाहेक केही पनि हुँदैन । यस पटकको चुनावको मत परिणामले धेरै नयाँ अनुहारलाई सांसदका रुपमा देख्न पाइने भएको छ । अहिलेको अवस्थामा ती निर्वाचित सांसदले के गर्न सक्छन्, कसरी काम गर्छन् भन्ने हेर्न बाँकी छ ।

तर, मत परिणामले के भनिरहेको छ भने अब त्यही पुराना पटके प्रधानमन्त्री र मन्त्री भएका नेतासँग काम गर्न असजिलो हुने र युवा नेताले नै देश हाँक्नुपर्छ भन्ने संकेत गरिरहेको छ । यसो गर्न असम्भव छैन, आफ्नो क्षेत्रबाट निर्वाचित सांसदलाई देशको प्रधानमन्त्रीको रूपमा देख्न मन कुन चाहिँ मतदातालाई नलाग्ला, लाग्नु स्वाभाविक हो र यसपालि अवसर र मौका पनि छ । अब दलगत अंक गणितमा बसिरहने र यस प्रक्रियालाई पेवा, दाइजो ठानेर ओगट्ने, हठ गर्ने, लड्ने काम बन्द गर्न जरुरी छ ।

देश कुन अवस्थामा छ, कहाँ छ, के हुँदैछ ? विश्व प्रख्यात विश्वविद्यालयमा अब्बल ठहरिएका विद्यार्थीले के चेष्टा गर्नुपरेको छ ? सबैलाई राम्रोसँग थाहा छ । देशलाई कसरी विकासोन्मुख बनाउन सकिन्छ भनेर जनताको घरदैलोमा सर्टिफिकेट प्रदर्शन गर्दै हिँड्नु परेको छ । यस अर्थमा देश नै पुस्तान्तरण हुनुपर्छ भन्ने होइन, सरकारमा पुस्तान्तरण हुन जरुरी छ । फेरि पनि सरकार गठन गर्ने नाममा राजनीति गरिनु जायज हुँदैन ।

प्रधानमन्त्री पदमा पुस्तान्तरण हुँदा के हुन्छ, नहुँदा के हुन्छ ? प्रधानमन्त्री पदमा अहिलेसम्म रही कार्यभार सम्हालेकाले उत्कृष्ट काम गरेको अवस्था हुन्थ्यो भने अहिले हामी यसको विकल्प खोज्न होइन पहिलेकैलाई रोज्न र रोजिसकेका हुन्थ्यौं । गगन थापा प्रधानमन्त्री बन्न लायक हुनुहुन्छ, योग्य हुनुहुन्छ, बन्नुपर्छ । तर, ‘तत्कालका लागि यो गठबन्धनलाई निरन्तरता दिन शेरबहादुर देउवा अझ राम्रो हुन्छ कि भन्ने कुरा हो नि त’ भनेर कसैले भन्यो भने के हो राम्रोको परिभाषा ? अब थप पाँच वर्ष यसको अर्थ खोज्न समय छैन । युवालाई अवसर दिनुपर्नेमा दुईमत छैन । गगन थापा संसदीय दलको नेता हुनुपर्नेमा सबैको सहमति छ । त्यसैले अब किन पर्खेर बस्ने ? यसपालि युवालाई विश्वास गरेर हेरौं र कार्यसम्पादन कस्तो हुन्छ पाँच वर्षपछि मूल्याङ्कन गरौं ।

सबै सांसदले यस पटक नयाँ पुस्तालाई विश्वास गर्दै पुस्तान्तरण सम्भव छ हाम्रै पालोमा भन्ने सन्देशको बिगुल फुक्नुपर्छ । अहिलेको जसरी समयको सधैं भर रहँदैन ।

पहिलेका पुस्ताले यसरी, यो यो राम्रो काम गरे भनेर सटिक उत्तर दिन सक्दैन । नयाँ पुस्ताले पनि यसरी यी यी काम गर्छ भनिहाल्न सकिने अवस्था छैन । तर, नयाँ पुस्तालाई अवसर दिँदा के हुने रहेछ भनेर हेर्न चाहिं सबैले चाहेका छन् ।

बालेन्द्र शाहको नजिर

स्थानीय तह निर्वाचनको मत परिणाम घोषणा हुँदा, कसैले कल्पना गरेको थिएन होला काठमाडौं महानगरपालिकाका मतदाता दलगत जनप्रतिनिधिलाई पराजित गरेर स्वतन्त्र उम्मेदवारलाई जनप्रतिनिधि मान्न तयार भएका छन् । स्मरण होस्, दलगत विचारप्रति आम जनताको तिक्तता स्पष्ट भएको छ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गत मंसिर ४ गतेको निर्वाचनमा भोट माग्न जाँदा काठमाडौं ४ का मतदातासमक्ष आफूलाई भावी प्रधानमन्त्रीका रूपमा चिनाएका थिए ।

अब यसलाई देशव्यापी रुपमा चिनाउन आवश्यक छ र समयको माग भइसकेको आभास जनताले गरेका छन् । सबै सांसदले यस पटक नयाँ पुस्तालाई विश्वास गर्दै पुस्तान्तरण सम्भव छ हाम्रै पालोमा भन्ने सन्देशको बिगुल फुक्नुपर्छ । अहिलेको जसरी समयको सधैं भर रहँदैन । समय हुँदै कामले सार्थकता पाउनुपर्छ, पछि बिलौना गर्नबाहेक केही हुँदैन, हामी नेपाली सुध्रिन जरुरी छ । यो जरुरी कदम पनि हो ।

प्रश्न यतिमात्र होइन, कुन देशको को कुन पदमा निर्वाचित भयो, यति सानो उमेरमा देशलाई अग्रपङ्क्तिमा रहेर काम गर्ने भयो भन्ने सुनेरमात्र रमाउने कार्यलाई त्याग्न जरुरी छ । कथाले मागेको छ र कथाले मागेअनुसार नै काम पनि हुन सक्नुपर्छ । यस पटक सबै कुरा हुँदाहुँदै, सबै कुराले साथ दिँदादिँदै फेरि ‘अर्काको भागमा दही, चिउरा र केरा, आफ्नो भागमा हेर्छु कमिलाको घेरा’ भन्ने नेपाली उक्ति जस्तो कदापि हुनुहुँदैन । जसले जेसुकै भने पनि यसपालि पेन्टियम १, पहिलो, दोस्रो, तेस्रो, चौथो र आईकोरबाट देशमा ‘जेन-जी’ नै हुनुपर्छ । तर, तर पनि, कदापि, अर्काेपालि जस्ता शब्द जोडिएर देशलाई दुर्घटनाबाट जोगाउनुपर्छ । पुस्तान्तरणसँग नडराउ सरकार !

Follow @attanupam

(भट्टराई अधिवक्ता हुन् ।)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *