लुम्बिनी : कांग्रेस संसदीय दलमा ४ नेता दाबेदार, देउवा समूहकै ३ जना – Nepal Press

लुम्बिनी : कांग्रेस संसदीय दलमा ४ नेता दाबेदार, देउवा समूहकै ३ जना

रुपन्देही । लुम्बिनी प्रदेशसभा संसदीय दलको नेतृत्वका लागि नेपाली कांग्रेसबाट चारजना आकांक्षी देखिएका छन् ।

यीमध्ये तीनजना संस्थापन र १ इतर समूहबाट छन् । संस्थापन समूहबाट तीनैजना बलियो उम्मेदार रहेकाले शीर्ष नेताहरूको रोजाइमा को पर्छन् भन्ने चासो बढेको छ । तीनै नेताहरूले आफू निकटका नेताहरूलाई फकाइरहेका छन् ।

संस्थापनबाट संघीय सरकारमा राज्यमन्त्री बनेका पार्टी केन्द्रीय सदस्य रुपन्देहीका अब्दुल रज्जाक र अहिले पार्टीको तर्फबाट प्रदेश सरकारमा नेतृत्व गरेर महासमिति सदस्य दाङका डिल्ली चौधरीको प्रतिस्पर्धा बढी देखिन्छ । प्रधानमन्त्री देउवापत्नी आरजु राणाको रोजाइमा परेका दाङका चौधरीका कारण अब्दुललाई चुनौती देखिएकव कांग्रेस नेताहरू बताउँछन् ।

तर, संसदीय दलको नेताका लागि गृहमन्त्री बालकृष्ण खाण तथा सहमहामन्त्री किशोरसिंह राठौरले गर्ने समर्थनमा निर्भर हुन्छ । रज्जाक रुपन्देहीका भएपनि निर्वाचनको समयमा गृहमन्त्री खाणले सहयोग नपाएकाले उनीनिकट नेताहरुले गुनासो गरिरहेका छन् । त्यसैले चौधरी बलियो बन्न सक्छन् ।

प्रदेश उपसभापति राजु खनाल पनि दाबेदार छन् । चौधरी र खनालको विवाद बढ्दा रज्जाककै सम्भावना बढी छ । आरजुको गैरसरकारी संस्थामा काम गरेका चौधरीले केन्द्रबाटै ‘च्यानल’ मिलाएको उनीनिकट नेताहरूको बताउँछन् ।

पार्टीको संस्थापन खेमाका नेता रञ्जाक रूपन्देही १ (२) बाट, चौधरी दाङ ३ (१) र राजु खनाल दाङ २ (१) बाट निर्वाचित भएका छन् ।

इतर समूहबाट अहिलेका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वीरबहादुर राना पनि संसदीय दलमा दाबी गरिरहेका छन् । पाल्पा २ को १ बाट निर्वाचत रानालाई शेखर कोइराला समूहले अघि सारेको छ ।

प्रदेशसभामा कांग्रेसबाट प्रत्यक्षमा १७ र समानुपातिकमा १० सांसदसहित २७ जना सांसद रहेकोमा इतर समूहबाट १० जनामात्रै रहेकाले नेतृत्व पाउने सम्भावना कम रहेको कांग्रेसका एक नेता बताउँछन् ।

प्रदेशमा कांग्रेसको नेतृत्व दाबी गरेका पार्टी प्रदेश सभापति अमरसिंह पुन तथा यसअघि संसदीय दलको नेता रहेका वीरेन्द्र कनौडिया चुनावमा पराजित भए ।

एमालेबाट भने निवर्तमान मन्त्री तथा पोलिटब्यूरो सदस्य लीला गिरी, केन्द्रीय सदस्य तथा पूर्वसंसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालले दौडधुप बढाएका छन् । गिरी रूपन्देही २ (१) र ढकाल रूपन्देही ५ (१) बाट निर्वाचित भएका हुन् । गिरीको सम्भावना बलियो रहेको सुनाउँछन् एमाले नेताहरू ।

माओवादीबाट रोल्पाका जोखबहादुर महराको एकल दाबी देखिएको छ । तर, माओवादीबाट विद्रोह गरेर फर्किएका रोल्पाका नेता सिजलले पनि दाबी गरिरहेका छन् ।

८७ सदस्यीय प्रदेशसभामा यहाँ सत्तागठबन्धन तथा एमाले गठबन्धन कसैको बहुमत पुग्दैन । सत्तागठबन्धनमा ४१ सांसद छन् भने एमाले गठबन्धनमा ३६ सांसद छन् । नागरिक उन्मुक्तिका ४, स्वतन्त्र सांसद ३ र जनमतका ३ सांसद यहाँ सत्ता समीकरणको निर्णायक शक्ति बनेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर