कांग्रेसका प्रदेश महामन्त्री नै सांसद बन्नबाट वञ्चित, रजनी फ्याक्टरले ‘हात्ती राजु रोकिएको आरोप – Nepal Press

कांग्रेसका प्रदेश महामन्त्री नै सांसद बन्नबाट वञ्चित, रजनी फ्याक्टरले ‘हात्ती राजु रोकिएको आरोप

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवा र नेता डा. आरजु देउवाले जोडबल गर्दा पनि वागमती प्रदेशका महामन्त्री राजु श्रेष्ठलाई प्रदेशसभाको समानुपातिक सांसद बनाउन असफल भएका छन् ।

पार्टीका महामन्त्री गगन थापाका कारण आफ्नो सांसद पद गुमेको श्रेष्ठको बुझाइ छ । उनलाई कांग्रेसका देउवानिकट अन्य नेताले समेत साथ दिएपछि प्रदेश महामन्त्री श्रेष्ठ आदिवासी जनजाति क्लस्टरको एक नम्बरमा भएर पनि सांसद बन्नबाट बन्चित भएका छन् ।

कांग्रेसका एक पदाधिकारीका अनुसार समानुपातिकका सांसद छान्ने बैठकमा सभापति देउवाले, ‘ए बाबा भाइहरु ! मेरो बाध्यता बुझिदिनुस् क्या । भन्देखिनलाई राजु श्रेष्ठ एक नम्बरमा छ, प्रदेश महामन्त्री पनि हो, उसलाई बनाइदिउँ क्या’ भन्दै निकै आग्रह गरेका थिए ।

कांग्रेसका केही पदाधिकारीले  हात्ती राजुसमेत भनिने श्रेष्ठमाथि स्थानीय चुनावमा अन्तर्घात गरेको प्रमाण नै पेश गरेर अडान कसेको बताइएको छ । ती नेताका अनुसार स्थानीय तह निर्वाचनमा टोखा नगरपालिकाको मेयर उम्मेदवार रजनी थापालाई हात्ती राजुले हराएको आरोप छ ।

प्रदेश महामन्त्री श्रेष्ठले रजनीलाई टिकट नदिन प्रयास गरेका थिए । तर रजनीको पक्षमा प्रदेश सभापति इन्द्र बानियाले चट्टानी अडान लिए । बानिया त्यसबेला बालुवाटारको भित्रिया भएकाले अन्ततः बानियाकै रोजाइकी रजनीले टिकट पाएको कांग्रेस नेताहरुले बताएका छन् ।

रजनी झिनो मतान्तरले एमालेका प्रकाश अधिकारीसँग पराजित हुनुमा प्रदेश महामन्त्रीको प्रत्यक्ष संलग्नता रहेको बताएका छन् । र

जबकी टोखा नगरपालिकाको उपमेयरमा कांग्रेसका मुरारी तामाङले करिब ५ सयको मतान्तरमा जितेका छन् । रजनीको पराजयमा कांग्रेसकै नेताहरुको प्रत्यक्ष संलग्नता रहेको र उनीहरुको संरक्षण प्रदेश महामन्त्रीले गरेको आरोप छ । महामन्त्री श्रेष्ठ भने बूढानीलकण्ठ नगरपालिकाका हुन् । उनी २०७४ मा मेयरमा पराजित भएका थिए ।

यसपटक उनी समानुपातिकको १ नम्बरमा बसेर प्रदेश सांसद सुरक्षित बनाएका थिए । डा. आरजुको सम्पत्ति व्यवस्थापनको जिम्मेवारी पाएकामध्ये एक मानिने राजु सांसद बन्नेमा सबै ढुक्का थिए । तर केही नेता बिच्किएकै कारण उनी चिप्लिदा धादिङका बयोबृद्ध नेता शिव अधिकारीले प्रदेश सांसद बन्ने मौका पाएका छन् ।

कांग्रेसले वागमती प्रदेश सभामा समानुपातिकबाट १२ सीट पाएकोमा ११ जना महिला जिताउनुपर्ने अनिवार्य थियो । एकजना पुरुष पर्नेमा राजुको साटो खस आर्यका शिव अधिकराीले मौका पाएको सो बैठकमा सहभागी एक पदाधिकारीले नेपाल प्रेसलाई बताए ।

हात्ती राजुमाथि गगन थापा हराउनका लागि असफल प्रयास गरेको आरोप समेत बुढानिलकण्ठका कांग्रेस कार्यकर्ताले लगाएका छन् । उनलाई बालुवाटारले गगन हराउन प्रयोग गरेको निकट कार्यकर्ताको आरोप छ ।

हात्ती राजु तीनै व्यक्ति हुन् जसलाई माओवादी शान्ति प्रक्रियामा आए लगत्तै अर्धसैनिक जत्था वाइसिएलले काठमाडौंका गुण्डाहरुमाथि जनकारवाही गर्ने नाममा सबैलाई गोदाबरीमा लगेर शिविरभित्र राख्ने क्रममा राजुलाई पनि लगेका थिए । उनको गाडी लामो समयसम्म माओवादीले कब्जामा लिएर अध्यक्ष प्रचण्ड चढेका थिए भने पछिल्लो चरणमा देवेन्द्र पौडेलले चढेका बेला राजुले फिर्ता लगेका थिए ।

*समाचार श्रोतमा विश्वास गरेका कारण यस अघि समाचारमा असावधानिवस कांग्रेस उप सभापति पुर्णवहादुर खड्काको नाम र तस्वीर पर्न गएकोमा सञ्चाइएको छ ।

प्रधान सम्पादक

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर