साँझ ५ बजेभित्र त्रुटि सच्याउन निर्वाचन आयोगद्वारा एमालेलाई पुनः पत्राचार – Nepal Press

साँझ ५ बजेभित्र त्रुटि सच्याउन निर्वाचन आयोगद्वारा एमालेलाई पुनः पत्राचार

काठमाडौं । निर्वाचन आयोगले समानुपातिक सांसदको नाममा भएको त्रुटि सच्याउन नेकपा (एमाले)लाई पुन पत्राचार गरेको छ । पुरानै सूचीलाई कायम गर्न सोमबार एमालेले आयोगलाई जवाफ पठाएपछि समावेशी र प्राथमिकताक्रम मिचेर नाम छनोट गर्न नमिल्ने भन्दै आयोगले मंगलबार पुनः एमालेलाई साँझ ५ बजेभित्र सच्याउन पत्राचार गरेको हो ।

साँझ ५ बजेसम्म समय दिएर पत्र पठाइएको आयोगका एक उच्च अधिकारीले नेपाल प्रेसलाई जानकारी दिए । प्रदेश नम्बर एक र मधेस प्रदेशमा समावेशी र प्राथमिकता क्रम नमिलेको भन्दै आयोगले सच्याउन एमालेलाई सोमबार ४ बजेसम्मको समय दिएको थियो । तर, एमालेले पुरानै सूचीलाई कायम गर्न अयोगलाई पत्राचार गरेको थियो ।

एमालेले उम्मेदवारको नामावली नेपालको संविधान, प्रचलित कानुन तथा समानुपातिकतर्फको उम्मेदवारको बन्दसूचीको प्राथमकिता क्रम अनुसार रहेको रहेकाले उक्त पेस गरेको नामावली यथावत कायम गरिदिन आयोगलाई जवाफ पठाएको थियो ।

एमालेले प्रदेश १ मा आदिवासी जनजाति समूहतर्फको अल्पसङ्ख्यक समूहको प्राथमिकता नम्बर २ मा रहेका उम्मेदवारको नाम सिफारिस नगरी प्राथमिकता नम्बर ३ मा समावेश भएको उम्मेदवारको नाम सिफारिस गरेको थियो । प्राथमिकताक्रम बमोजिम माथिल्लो क्रमको उम्मेदवारको नाम सिफारिस गर्न आयोगले सुझाव दिएको थियो ।

यस्तै मधेस प्रदेशमा एमालेले अल्पसङ्ख्यक समूहबाट न्यूनतम दुई जनाको नाम सिफारिस हुनुपर्नेमा दलले पेस गरे बमोजिम आयोगबाट स्वीकृत भएको अन्तिम बन्दसूचीमा अल्पसङ्ख्यक समूहमा सूचीकृत एक जनाको नाम मात्र सिफारिस गरेको थियो भने अन्तिम बन्दसूचीमा अल्पसङ्ख्यक समूहमा सूचिकृत नभएको उम्मेदवारको नाम अल्पसङ्ख्यक समूहका रूपमा पेस गरेकाले अन्तिम बन्दसूचीमा अल्पसङ्ख्यक समूहको रूपमा सूचिकृत दुई जना उम्मेदवारको नाम सिफारिस गर्न एमालेलाई आयोगले सुझाव दिएको थियो ।

मधेस प्रदेशमै एमालेले मुस्लिम समूहबाट पहिलो नम्बरमा रहेका उम्मेदवारको नाम सिफारिस गर्नुपर्नेमा प्राथमिकता नम्बर २ को उम्मेदवारको नाम सिफारिस गरेको भन्दै प्राथमिकता नम्बर १ मा रहेका महिला उम्मेदवारको नाम सिफारिस गर्न आयोगले निर्देशन दिएको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर