अध्यादेशको स्वागत गर्दै विप्लवले भने- राष्ट्रपतिले स्वीकृत गर्नेमा विश्वस्त छौँ – Nepal Press

अध्यादेशको स्वागत गर्दै विप्लवले भने- राष्ट्रपतिले स्वीकृत गर्नेमा विश्वस्त छौँ

काठमाडौं । नेत्र विक्रम चन्द नेतृत्वको नेकपाले सरकारले ल्याएको अध्यादेशको स्वागत गरेको छ । अध्यादेश जारी भएपछि सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयन हुने बताएका छन् ।

नेकपा महासचिव विप्लवले मंगलबार एक विज्ञप्ति जारी गर्दै भनेका छन्, नेपाल सरकारले हाम्रो पार्टीसँग भएको तीन बुँदे सहमति अनुसार नेता तथा कार्यकर्ताहरुमाथि लागेका सम्पूर्ण मुद्दाको खारेजी तथा बन्दी नेता÷कार्यकर्ताहरूको रिहाइका लागि मंसिर २५ गतेको मन्त्रीपरिषद्को वैठकवाट अध्यादेशवारे निर्णय गरि प्रमाणीकरणका लागि सम्माननीय राष्ट्रपति समक्ष पेश गरेको छ ।

हाम्रो पाटीसँगको छलफल एवं सहमतिको मर्म अनुरुप सरकारले आफ्नो जिम्मेवारी स्वरुप अध्यादेश पेश गर्नु स्वागतयोग्य कुरा हो । जसलाई हाम्रो पार्टीले सकारात्मक रुपले लिँदै धन्यवाद दिन चाहन्छु ।

तीन बुँदे सहमतिप्रति पार्टी प्रतिबद्ध रहेको साथै सरकारले पनि समस्याहरुलाई सकारात्मक रुपले निकास दिन गरिरहेको पहललाई मनन् गर्दै संवैधानिक राष्ट्रप्रमुख सम्माननीय राष्ट्रपतिले पनि अध्यादेशलाई स्वीकृती प्रदान गर्नेमा पार्टी विश्वस्त रहेको उल्लेख गरेका छन् ।

कानुन निर्माण प्रक्रियालाई पूर्णता दिई सहमतिलाई लागू गर्ने वातावरण निर्माण गर्न सम्माननीय राष्ट्रपतिलाई आग्रह समेत गरेका छन् ।

उनले भनेका छन् ’सरकारले अध्यादेश पेश गरे पश्चात सरकारको नेतृत्व गरिरहेको पार्टी नेपाली कांग्रेसकै कतिपय नेताहरुका साथै नेकपा (एमाले) का कतिपय नेताहरुले विरोध गरिरहेको सुन्दा आश्चर्य चकित बनाएको छ । कुनै पनि जिम्मेवार नेताले देशका राजनीतिक समस्याहरुलाई यथासिघ्र समाधान गर्न अग्रगामी पहल गर्नुको सट्टा सरकारले गरेको पहलमासमेत बाधा अवरोध खडा गर्नु भनेको गम्भीर समस्याको विषय हो ।’

सहमति भएको दुई वर्ष बित्न थाल्दा पनि लागु नहुनुमा कतै यस्तै गलत सोच र बुझाईले काम गरेको त छैन भन्ने आशंका पैदा गरेको उनको भनाइ छ ।

सबै पार्टी, नेता, कानुनविद र मानवअधिकारवादीहरु लगायत सवैलाई यसतर्फ सचेत बन्न साथै सहमति कार्यान्वयनको विषयलाई गम्भीरतापूर्वक ग्रहण गरेर सहयोग पुर्याउन विशेष आग्रह गरेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर