राष्ट्रपति भण्डारीको पहलमा जन्मगाउँमा बन्यो प्राविधिक शिक्षालय, भोलि उद्घाटन – Nepal Press

राष्ट्रपति भण्डारीको पहलमा जन्मगाउँमा बन्यो प्राविधिक शिक्षालय, भोलि उद्घाटन

भोजपुर । जन्मस्थानमा निर्माण गरिएको श्रीराम मिथिला बहुप्राविधिक शिक्षालयको उद्घाटनका लागि राष्ट्रपति विद्यादेवी भण्डारी बुधबार भोजपुर आउने भएकी छन् । दुर्गमबासीलाई प्राविधिक शिक्षाको पहुँचका लागि राष्ट्रपति भण्डारीको पहलमा रामप्रसादराई गाउँपालिकाको मानेभञ्ज्याङ आम्बोटेको ५५ रोपनी जग्गामा ११ करोड ३९ लाख ७३ हजार ८ सय रूपैयाँ लगानीमा भवन बनाइएको छ ।

प्राविधिक शिक्षालयलाई राष्ट्रपतिबाट ३७ रोपनी र काकाले १८ रोपनी जग्गा निःशुल्क उपलब्ध गराइएको छ । शिक्षालय निर्माणपछि गाउँमै प्राविधिक विषय पढाइ हुनेभएपछि स्थानीय उत्साहित छन् ।

राष्ट्रपतिको जन्मघर ।

राष्ट्रपति भण्डारीका काका सुरेन्द्र पाण्डे भन्छन्, ‘यो शिक्षालयले यस क्षेत्रको विकासमा समेत अवश्य योगदान दिनेछ । घरको खाना खाएर आफ्नै घर आँगनमा प्राविधिक शिक्षा लिन सक्ने भएका छौं । मैले पनि १८ रोपनी जग्गा दिएको छु । शिक्षालय निर्माणले हाम्रो क्षेत्रका बालबालिकाको भविष्य उज्वल हुने देखिएको छ ।’

राष्ट्रपतिको बुबा-आमाको नामबाट शिक्षालय भवन बनाइएको हो ।

के-के छन् पूर्वाधार ?

यहाँ एकाडेमिक भवन, छात्र-छात्राका लागि होस्टल, स्टाफ क्वाटर, कम्प्युटर ल्याव, प्रयोगात्मक कक्षा भवनका ब्लक निर्माण गरिएको छ । महिला छात्रबाससँगै अन्य भवन पनि निर्माण भइरहेका छन् । भवन निर्माणमा करिब १८ महिना समय लागेको प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम केन्द्रका कर्मचारी तथा आयोजनाका साइट इन्जिनियर नारायण अधिकारीले जानकारी दिए । यो शिक्षालय भवन निर्माणको ठेकेदार कम्पनी भने मार्सेली निर्माण सेवा रहेको छ ।

प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम केन्द्र (सीटीईभीटी) बाट सम्वन्धन प्राप्त यस शिक्षालयमा तत्काल बाली विज्ञानको पठनपाठन हुनेछ । पछि आवश्यकताको आधारमा अन्य विषय पनि थपिने तयारी छ । विद्यार्थी भर्नाको लागि यसअघि नै आवदेन खुलाइसकिएको छ ।

रामप्रसादराई गाउँपलिका-५ मा पर्ने यो स्थान भोजपुर सदरमुकामबाट करिब २० किलोमिटर सडकमार्गबाट पुगिन्छ । सडक कच्ची भएकाले बर्खामा यातायात सञ्चालनमा समस्या हुने स्थानीय गुनासो गर्छन् ।

देशलाई पहिलो महिला राष्ट्रपति दिएको भोजपुरले पछिल्ला केही दिनमा विकासको लय समातेको भन्दै स्थानीय जानकी पाण्डे यसलाई व्यवस्थित गर्नुपर्ने बताउँछिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *