सरकारमा जान उदार बन्दै रास्वपा, ‘स्पिरिट’ मिले देउवा पनि स्वीकार ! – Nepal Press

सरकारमा जान उदार बन्दै रास्वपा, ‘स्पिरिट’ मिले देउवा पनि स्वीकार !

काठमाडौं । संसदको चौंथो शक्तिका रुपमा स्थापित राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी सरकारमा सहभागी हुने विषयमा छलफलको ढोका खुला गरेको छ । केही न्यूनतम सर्तहरु अघि सार्दै रास्वपाले सरकारमा जान लचकता देखाएको हो ।

रास्वपाले प्रत्यक्षमा ७ र समानुपातिकमा १३ गरी २० सीट जितेको छ । यो भनेको निकै महत्वपूर्ण शक्ति हो । स्रोतका अनुसार पार्टीभित्र सरकारमा जाने वा नजाने विषयमा मतैक्य छैन । सभापति रवि लामिछाने सरकारमा सहभागी भएर तत्काल आफूहरुलाई परीक्षामा उतानुपर्ने पक्षमा छन् । यद्यपि केही नेताहरुले चाहिं अहिलेको लोकप्रियता खस्किन नदिन पाँच वर्ष प्रतिपक्षमै बस्नुपर्नेमा जोड दिइरहेका छन् ।

रास्वपाले औपचारिक रुपमा सरकारमा जाने/नजाने विषयमा छलफल गरेको छैन । तर, अनौपचारिक कुराकानीहरु भइरहेको रास्वपा प्रवक्ता डा. मुकुल ढकालले बताए । भावी सरकारका सन्दर्भमा अन्य पार्टीहरुसँग पनि ‘परिचयात्मक बैठक’ भएको उनले जानकारी दिए ।

‘अरू पार्टीहरुको धारणा पनि हामी बुझ्छौं । अहिले परिचयात्मक बैठकमात्रै भएको छ । अब राष्ट्रपतिकहाँ निर्वाचन आयोगले विवरण पठाएर सरकार गठनको आह्वान भएपछि औपचारिक कुराकानी होला’, उनले भने । अहिलेसम्म कुनै पनि पार्टी वा नेताले आफूहरुलाई सरकारमा आउन ठोस प्रस्ताव नगरेको उनको भनाइ छ ।

‘हामी सरकारमा जानैपर्छ वा जानै हुँदैन भन्नेमा छैनौं । हाम्रा केही आधारभूत एजेन्डाहरु छन् । यदि सरकारको नेतृत्व गर्नेले हाम्रो बाचापत्रमा रहेका न्यूनतम एजेन्डाहरुलाई पूरा गर्ने प्रत्याभूति ग¥यो भने सरकारमा सहभागी हुन सक्छौं वा बाहिरै बसेर समर्थन पनि गर्न सक्छौं’, उनले भने ।

तर, कुनै परिवर्तनको अनुभूतिविना मन्त्री बन्नमात्रै सरकारमा नजाने ढकाल बताउँछन् । रास्वपामाथि जनतालाई देखाएका सपनाहरु सरकारमा बसेर पूरा गर्नुपर्ने चुनौती छ । जनअपेक्षामा खरो उत्रिन नसकिएको खण्डमा आफूहरुको लोकप्रियता गुम्ने र अर्को चुनावमा पत्तासाफ हुन सकिने चिन्ता पनि पार्टी पंक्तिमा छ ।

यसैगरी पुरानै अनुहारलाई स्वीकारेर सरकारमा सहभागी नहुन पनि कार्यकर्ताहरुले दबाब दिइरहेका छन् ।

रास्वपा स्रोतले भने भावी प्रधानमन्त्रीको अनुहारभन्दा पनि उसको टीम र एजेन्डा हेरिने बताएको छ । त्यसको मतलब के प्रधानमन्त्रीको दौडमा सबैभन्दा नजिक देखिएका शेरबहादुर देउवाको नेतृत्व पनि रास्वपाले स्वीकार्न सक्छ त ?

स्रोतले भन्यो, ‘कुनै व्यक्ति विशेषलाई औंल्याएर त्यो हुँदै हुँदैन भन्ने पक्षमा छैनौं । हामी प्रवृत्ति हेर्नेछौं । यदि उहाँले गतिलो टीम बनाएर नयाँ स्पिरिटका साथ अगाडि आउनुहुन्छ भने नेगोसिएसन गर्न सकिन्छ । तर, हामी आफ्नो बाचापत्रका एजेन्डाहरुबाट चाहिं पछि हट्दैनौं ।’

रास्वपाले भ्रष्टाचार न्यूनीकरणलाई मुख्य एजेन्डा बनाएको छ । यसैगरी देश बाहिर रहेका युवाहरुलाई पनि मताधिकार दिनुपर्ने विषयलाई पनि उसले प्राथमिकताका साथ उठाउने गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर